चुनावको मुखमा एक अर्कालाई खुइल्याउँदै राजनीतिक दल
काठमाडौं। स्थानीय तह निर्वाचन हुन अब दुई महिना पनि बाँकी छैन। यतिबेला राजनीतिक दल निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न मतदाताको घर दैलोसम्म पुगेका छन्। जनताको घरमा पुगेका राजनीतिक दल आफ्नो चुनावी एजेण्डा पनि एकअर्कालाई आरोप प्रत्यारोप गर्नमा व्यस्त छन्।
राजनीतिक दलका शीर्ष नेता यतिबेला अन्य दलका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउने देखि मतदाता आफ्नो पक्षमा पार्ने अन्तिम कसरतमा जुटेका छन्। त्यसका लागि शीर्ष नेताहरु देश दौडाहामा छन्।
सत्ता गठबन्धन चुनावी तालमेल गरेर आगामी पाँच वर्ष सरकारको नेतृत्व गर्ने दाउमा छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमाले फेरि जनताले मुलुक संचालन गर्ने जिम्मा आफूलाई नै दिने बताउँदै आएको छ।
चुनावी अभियानमा होमिएका राजनीतिक दल आफ्नो चुनावी एजेण्डामा भन्दा बढी प्रतिश्पर्धी दललाई गाली गलौज गर्नमा समय व्यतित गर्न थालेका छन्। त्यसो त प्रमुख राजनीतिक दलले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर चुनावी घोषणा पत्रसमेत सार्वजनिक गरेका छन्।
सबै जसो राजनीतिक दलले घोषणापत्र जारी गर्ने अन्तिम तयारी गरिरहेको जनाएका छन्। सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेस ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियान लिएर जनताको घरमा पुगेको छ। यो क्रममा कांग्रेसले अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा उठेको भ्रम चिर्ने प्रयास गरेको छ।
विकास निर्माण, सामाजिक तथा आर्थिक विकासको एजेण्डाको माध्यमबाट नभई राजनीतिक दलहरूले एक–अर्काप्रतिको गालीगलौजलाई मत तान्ने अस्त्रको रूपमा प्रयोग गरिरहेका छन्।
कांग्रेसले कम्युनिष्टले जनमत दुरुपयोग गरेको प्रचार गरेपनि आफ्नो चुनावी एजेण्डा जनता समक्ष प्रस्तुत गर्न सकेको छैन। पूर्ववर्ती ओली सरकारले गरेका नराम्रा कामको भण्डाफोर गर्ने निर्णय गरेको कांग्रेसले आफूले चुनाव जितेको अवस्थामा गर्ने विकास निर्माण, आर्थिक एजेण्डालगायतका विषयमा धारणा सार्वजनिक गरेको छैन।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा आफैं चुनावी अभियानका क्रममा देश दौडाहामा छन्। उनले भाषण गर्ने क्रममा चुनावी तालमेल हुने संकेत गरेका छन् भने गठबन्धनको चित्त दुख्ने गरी अभिव्यक्ति नदिन कार्यकर्तालाई निर्देशन दिने गरेका छन्।
तर उनले कांग्रेसको नीति कार्यक्रमका विषयमा केही उल्लेख गरेका छैनन्। कांग्रेसले कम्युनिष्टले चुनाव जिते पनि जनमतको कदर गर्न नसकेको भन्दै आफूलाई चुनावमा जिताउन आग्रह गर्ने गरको छ।
विकास निर्माण, सामाजिक तथा आर्थिक विकासको एजेण्डाको माध्यमबाट नभई राजनीतिक दलहरूले एक–अर्काप्रतिको गालीगलौजलाई मत तान्ने अस्त्रको रूपमा प्रयोग गरिरहेका छन्।
विशेष गरी कम्युनिष्ट घटकहरू नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एक–अर्काप्रति अग्रपंक्तिमा देखिएका छन्। उनीहरूले एक–अर्काप्रति तल्लोस्तरको गालीगलौजमा उत्रिएका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पनि गणतन्त्र र परिवर्तनको विरुद्धमा लागेको आरोप लगाउँदै आएका छन्।
चुनावी अभियानमा देश दौडाहामा रहेका प्रचण्डले गणतन्त्र र राजनीतिक परिवर्तनको विरुद्धमा भइरहेका गतिविधि रोक्नका लागि माओवादी, कांग्रेस र अन्य वामपन्थी दलहरू एकजुट हुनुपर्नेमा जोड दिने गरेका छन्।
प्रचण्डले माओवादीले चुनाव हारे परिवर्तनले हार्ने भन्दै आफ्नो दलले चुनाव जितेमात्रै परिवर्तनका एजेण्डा संस्थागत हुने दाबी गर्दै आएका छन्।
स्थानीय तहको निर्वाचनलाई सामान्य रूपमा नलिन कार्यकर्ताहरूलाई निर्देशन दिँदै प्रचण्डले भन्ने गरेका छन्, ‘यो निर्वाचन सामान्य नठान्नुहोला। अरूको लागि सामान्य निर्वाचन हो। माओवादीको लागि त्यो होइन। हामीले हा¥यौँ भने संविधान, जनयुद्ध, परिवर्तन, शान्ति प्रक्रिया हार्ने खतरा छ। हाम्रा लागि यो लडाइँ हो। यो जित्नैपर्छ।’
उता एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो निसानामा एकीकृत समाजवादी र माओवादी केन्द्र छन्। ओलीले आफ्नो अधिकांश भाषणमा प्रचण्ड र माधव नेपालका विषयमा केही न केही टिप्पणी गर्छन्।
आफ्नो पार्टीको बहुमतको सरकार ढालेर कांग्रेस नेतृत्वमा सरकार गठन गर्न भूमिका निर्वाह गरेको भन्दै ओली प्रचण्ड र नेपालप्रति आक्रोशित छन्। उनले पाँच दलीय सत्ता गठबन्धन अदालतले बनाइदिएको हुनाले आगामी चुनावबाट जनताको आँगनमा लगेर पछार्ने चेतावनी दिँदै आएका छन्।
परमादेशी सरकार र गठबन्धनलाई आगामी चुनावमा जनताको आँगनमा पछारिदिने चेतावनी दिँदै अध्यक्ष ओलीले भन्ने गरेका छन्, ‘यो गठबन्धन त केही पनि होइन, यो जनताले बनाएको हो र? यो त अदालतले बनाइदिएको हो। यस्तालाई जनताको आँगनमा लगेर पछार्नुपर्छ। मुद्दा जितेर आएको सरकारलाई मुद्दा लड्न जा भन्दिने हो। यिनीहरू झगडिया हुन् । झगडियाको काम मुद्दा लड्ने हो।’
उता एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आगामी निर्वाचनमा एमालेलाई परास्त गर्ने एकमात्र रणनीति दिएका छन्। ओलीप्रति आक्रामक रुपमा प्रस्तुत हुने अध्यक्ष नेपालले ओलीले एमालेको दुरुपयोग गरेको आरोप लगाउने गरेका छन्। उनले आगामी निर्वाचनमा एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लगाउने दाबी गर्दै आएका छन्।
यसरी चुनावको मुखमा आफ्ना एजेण्डा लिएर जनता समक्ष जानु पर्ने राजनीतिक दल एकअर्काको आरोप प्रत्यारोपमा समय व्यतित गर्नुले दलहरुमा राजनीतिका संस्कार नदेखिएको राजनीतिक विश्लेषहरु बताउँछन्।







डिसी नेपाल








Facebook Comment