लेटाङ घटनाबारे बुझ्न मोरङका सिडिओ घटनास्थलमा

डिसी नेपाल
७ चैत २०७८ १५:०४
80
Shares

मोरङ। लेटाङ घटनाबारे बुझ्न मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) घटनास्थल पुगेका छन्। प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल सुरक्षा निकायका प्रमुखसहित घटनास्थलमा पुगेका हुन्। लेटाङ नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष भुमसूर्य मगरले अहिले उक्त क्षेत्रको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी घटनास्थलमा आएको बताए।

सिडिओ दाहालले त्यहाँका स्थानीय जनप्रतिनिधि तथा स्थानीयसँग घटनामा संलग्नलाई कारबाही गर्न सहजीकरण गर्न अनुरोध गरे। ‘जे नहुनु थियो त्यही भयो । यसमा दोषीमाथि कानुनअनुसार कारबाही हुन्छ । त्यसका लागि तपाईहरूले सहजीकरण गरिदिनुपर्‍यो भन्नु भएको छ,’ वडाध्यक्ष मगरले भने

लेटाङमा साेमबार बिहानदेखि लगाइएको कर्फ्यू हटाउने विषयमा पनि सिडिओ दाहालले जनप्रतिनिधिसँग छलफल गरेका छन्। ‘कर्फ्यूलाई कसरी हटाउन सकिन्छ ? त्यसका लागि कसले के गर्नुपर्छ, आफ्नो भूमिका अनुसार प्रस्तुत हुनुपर्यो भन्नुभयो,’ वडाअध्यक्ष मगरले भने।

कर्फ्यू लागेपछि अहिले उक्त क्षेत्र सुनसान बनेको छ । स्थानीय निकै त्रसिद बनेका छन् । प्रहरीले अहिलेसम्म पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूसँग सोधपुछ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

लेटाङको शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेललाई कारबाहीको माग गर्दै स्थानीयले विरोध प्रदर्शन गरेका थिए। कक्षा ७ मा अध्ययनरत १४ वर्षीया छात्रालाई शुक्रबार होली पर्वको दिन रङ लगाउने क्रममा यौन दुर्व्यवहार गरेको भन्दै स्थानीयले आइतबार विद्यालय घेराऊ गर्दै विरोध प्रदर्शन गरेका थिए।

शिक्षक पौडेललाई पक्राउ गरेर प्रहरीले लैजाने क्रममा स्थानीयल अवरोध गरेका थिए । सोही क्रममा प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.