खाद्यान्न आपूर्तिमा बुद्ध एयरको ठूलो लगानी, किसानलाई बिचौलियाबाट मुक्ति {भिडियोसहित}

डिसी नेपाल
१५ चैत २०७८ १४:५८

काठमाडौँ। ‘डाँगीहाटमा बुद्ध एयरको फर्म छ रे’ यो मलाई कसैले सुनाए। मलाई पनि जिज्ञासा लाग्यो। के फर्म, कस्तो र्फम होला ? फर्ममा के होला । मनमा यी यस्तै जिज्ञासाका साथ म पनि लागेँ त्यसै तर्फ । मेरो लेखनले पाएको शिर्षकको विषयबस्तुको खोजीमा।

पूर्व पश्चिम राजमार्गसँगै जोडिएको छ मोरङको लक्ष्मीमार्ग चोक। त्यहाँबाट लगभग ६ कि. मिटरको दूरीमा डाँगीहाट चोक आउँछ। भर्खरै बजारीकरण हुँदै गरेको बस्ती डाँगीहाट। यहाँसम्म पुग्न मैले २- ४ जनालाई सोध्नु पर्यो। उक्त फर्मलाई सबैले बुद्ध एयरको फर्म नै भन्दा रहेछन्। मलाई विश्वास भयो म मेरो विषयबस्तुको नजिक छु। डाँगीहाट पुगेपछि चोकमा एक जना दाइले बताइ दिए त्यहाँसम्म पुग्ने बाटो। लागेँ म त्यसै तर्फ ।

चोकबाट लगभग १ किलो मिटरको दूरीमा बन्दै गरेको घर र भवनकाे संरचना परैबाट देख्न सकिन्थ्याे। वरपर खेतबारी, साना साना घरहरु अनि फलफूलको बगैंचा र वरपर कम्पाउन गरिएको ठाउँमा एउटा विशाल फ्याक्ट्री जस्तै संरचना बन्दै गरेको देखेँ।

म त्यहाँ पुग्दा लगभग घडीमा ३ बजेकाे थियाे। गेटमा सुरक्षा गार्ड दाइलाई सोधेँ, ‘दाइ बुद्ध एयरको फर्म यही हो ?’ उनले हो भने। मैले भित्र पस्नका लागि अनुमति मागेँ। उनले केही जाँच-बुझपछि मलाई भित्र छिर्ने अनुमति दिए।

त्यहाँ मेरो भेट बिबेकानन्द झासँग भयो। अनि उनले त्यस फर्मको बारेमा विस्तृत रुपमा सुनाए। त्यो फ्याक्ट्री जस्तो संरचना चामल बनाउने प्रक्रियाको उपकरण रहेछ जसको नाम आर्जु राइस मिल रहेछ।

बिबेकानन्द झा उक्त राइस मिलका जनरल म्यानेजर। नेपाल कृषि कम्पनी मार्फत आर्जु मिल संचालनमा आएको रहेछ। संभवत यहाँको र बुद्ध एयरका लगानीकर्ताहरु एक भएको ले होला यहाँका स्थानीयहरु यसलाई बुद्ध एयरको फर्म भन्छन्।

डाँगीहाटमा कृषकहरुलाई यान्त्रिककरण गरि धानको उत्पादनमा वृद्धि गर्ने उद्देश्यले आर्जु राइस मिल संचालनमा आउने तयारीमा रहेछ। मिलले किसानलाई धान उत्पादनमा प्रोत्साहन गर्नुका साथै बिचौलियाहरुमार्फत हुने किनबेचबाट पनि  बचाउनका लागि मिल बन्दै रहेछ।

धान उत्पादन वृद्धि होस् र किसानले धेरै लाभ पाओस् भनेर बिगत ८-१० वर्षदेखि लागी परेको जनरल म्यानेजर बिबेकानन्द झाले बताए। आर्जु राइस मिलले किसानबाट सिधै धान किन्ने र चामल बनाएर बेच्ने गरेको छ। मिलले बीचमा रहने बिचौलियाहरुमार्फत किनबेच हुँदा किसान मारमा पर्ने भएको हुनाले सिधै किसानबाट किन्ने र सिधै ग्राहकलाई बच्ने गरेको उनले बताए।

जनरल म्यानेजर झाले भने, ‘नेपालका राइस मिलहरुमा खास गरेर जिरामसिनोको चामल र लङ ग्रेन चामलको लागि बाहिर भारतबाट धान ल्याउने गर्दछन्। अनि त्यसलाई ट्रेडिङ गरेर बजारमा बिक्री वितरण गर्ने गरेको छ। तर हामीले सिधै धान किसानबाट खरिद गर्ने गरेका छौँ।’

यो मिल वरपरका करिब ४ हजार बिघा क्षेत्रफल जमिनका किसानहरुलाई महंगा जातका धानहरुको उत्पादनमा प्रोत्साहन गर्नुका साथै उनीहरुले उत्पादन गर्ने धानको उचित मूल्यमा खरिद गर्ने जनरल म्यानेजर झाले बताए।

हाम्रो देश नेपाल कृषि प्रधान देश भए पनि अहिले नेपालमा ५० अर्ब रुपैयाँ भन्दाबढी चामल बाहिर देशबाट आयात हुने गरेको छ। आर्जु मिलले यही मागलाई कम गर्न र नेपाललाई पुग्ने चामल यही उत्पादन गर्ने लक्ष्य पनि लिएको छ।

मिलले धानसँग मकै, कोदो, गहु लगायतका बालीहरुको क्षेत्रमा पनि काम गर्ने जनाएको छ। यसका लागि उनीहरुले भण्डारणको पनि तयार गर्दैछन्। मिलले वर्षमा दुई पटक किसानको धान किन्ने गर्दछ। चैते धान र हिउँदे धान। मिलले चैत धान १५ सय बिगा बराबरको धान खदिर गर्दछ भने हिउँदमा २५ सयदेखि ३ हजार बिघाको धान किन्ने गर्दछ।

साथै मिलले किसानलाई यान्त्रिककरणमा जोड दिनका लागि साथै किसानको समयको बचतका लागि विभिन्न प्रविधिको धान मकै रोप्ने टिप्ने मेसिन पनि ल्याएका छन्। यो बन्दै गरेको विशाल मिल करिब ४५ करोडको लागतमा निर्माण हुने झाले बताए।

मिलले किसानको धान खरिद गर्ने मात्र होइन उनीहरुलाई धानको बिउ दिने, किसानलाई मेघा बैंकको सहकार्यमा सस्तो व्याजमा खेती गर्नका लागि ऋण उपलब्ध गराउने, प्रविधिक सल्लाह दिने, खेती गर्ने नयाँ तवर- तरिकाहरुको प्रशिक्षण गर्ने र धान रोप्ने, काट्ने मेसिनहरु पनि उपलब्ध गराउँदछ।

बारीबाट सिधै किसानको धान मिलसम्म ल्याइने छ। व्यापारीले किसानलाई बोरामा भारेर ल्याउनु पर्ने प्रक्रिया बन्द हुने भएको छ। धान काट्ने मेसिनले नै धानलाई सिधै मिलसम्म ल्याइपुर्याउने छ। व्यापारीहरुले किसानलाई बोरो वापत एक किलो धान लिने सिस्टमको अन्त्य गर्ने पनि म्यानेजर झाले बताए ।

किसानबाट ल्याइनेको धानलाई विभिन्न प्रविधिले सुकाउने केलाउने गर्दछ भने मिलमा ७ हजार टन क्षमताको धान भण्डारसमेत रहेको छ। नेपालमा थुपै राइस मिलहरु भए पनि यसरी प्रविधियुक्त बुलर प्लान्ट तवरले निर्माण भएको मिल भने आर्जु मिल नै पहिलो रहेको जनरल म्यानेजर झाले बताए।

यतिखेर यहाँ थुपै मजदुरहरुले रोजगारी पनि पाएका छन् । यी यस्तै जानकारीपछि मेरो लेखाई र जिज्ञाषाको बुद्ध एयरको फर्मको अवलोकनपछि त्यहाँबाट निस्किए।

भिडियोमा हेर्नुहोस्:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *