गठबन्धन गर्ने निर्णयप्रति कांग्रेसमा तीब्र असन्तुष्टि, इतरपक्षका नेता भन्छन् ‘पहिले आधार पुष्टि गर्नुपर्छ’

सम्भव सिंह ठकुरी
२० चैत २०७८ १४:१९

काठमाडौं। चैत १५ गते बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय तहको निर्वाचनमा आवश्यकताको आधारमा गठबन्धन गर्ने निर्णय गरेको छ ।कांग्रेस केन्द्रीय समितिले नेकपा (माओवादी केन्द्र),नेकपा (एकीकृत समाजवादी) पार्टी, जनता समाजवादी पार्टी नेपाल (जसपा) र जनमोर्चासँग चुनावी गठबन्धन गर्ने निर्णय गरेपनि कांग्रेस भित्र असन्तुष्टि भने कायमै छ।

कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका प्रत्यासी डा.शेखर कोइरालासहित उनी निकटका नेताहरु गठबन्धन गर्ने निर्णयप्रति असन्तुष्ट देखिएका छन् । तर, सभापति शेरबहादुर देउवा लगायत नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला चुनावी गठबन्धन गर्ने विषयमा पहिलेदेखि सकारात्मक छन्।
कोइराला भने यो निर्णय हुनुपूर्वदेखि नै गठबन्धन गर्न नहुने मत राख्दै आएका थिए। उनको यो अडान अहिले पनि कायमै रहेको छ। निर्वाचनको मिति नजिकिँदै जाँदा गठबन्धनका विषयमा कांग्रेसभित्र अन्तरद्वन्द्व झन् बढेर जाने देखिएको छ।

कोइरालाले शनिबार पोखरामा भएको एक कार्यक्रमलाई सम्वोधन गर्दै सरकार गठबन्धन र चुनावी गठबन्धन फरक कुरा भएकाले यो चुनावी गठबन्धनको विषय निकै पेचिलो बनेको तर्क गरेका छन्। उनले विचार नै नमिल्ने पार्टीसँग चुनाबमा तालमेल गरेर जानु अत्यन्त गाह्रो   हुने बताएका छन्।स्थानीय तहको वडासम्म गठबन्धन गर्ने निर्णय गरेपनि कसरी गर्ने भन्ने विषय अहिलेसम्म थाहा नभएको उनले उल्लेख गरेका छन्।

कोइरालाले भनेका छन् ‘अहिले ३६ लाख नयाँ मतदाता थपिएका छन्। उनीहरुलाई अहिले हसियाँ हथौडामा भोट हाल्न लगायौँ भने आगामी निर्वाचनमा रुखमा भोट हाल्नुस् भनेर कसरी भन्ने ? यो अत्यन्तै जटिल प्रश्न बनेको छ।त्यो कुरालाई राम्रोसँग व्यवस्थापन गर्नुपर्छ। हामीले तालमेल गर्ने निर्णय त गरेका छौँ तर यसलाई पुष्टि गर्न जरुरी छ।’ ‘अहिले घर–घर जाउँ कांग्रेस जिताउँ अभियानमा हामी होमिएका छौँ। अब कुनै वडामा हामीले माओवादीलाई दियौँ भने त्यहाँ घर–घर जाउँ कांग्रेस जिताउँ भन्नु हुन्छ कि माओवादी जिताउँ भन्नु हुन्छ ?’कोइरालाले भनेका छन् ‘त्यसकारण हामी कठिन र बिचित्रको अवस्थामा रहेका छौँ।’

उनी निकट एक नेताका अनुसार पनि यो चुनावी गठबन्धन भन्दा पनि आवश्यकताको आधारमा गरिने चुनावी समीकरण मात्र हो।‘केन्द्रीय समितिको बैठकले आवश्यकताको आधारमा चुनावी गठबन्धन गर्ने निर्णय गरेको छ। तर आवश्यकता पुष्टि गर्ने आधार के हो त ?’ उनले प्रश्न गरे । उनले भने ‘चुनावी गठबन्धन भनेका छौँ। तर आधार पुष्टि गरेका छैनौँ।

त्यसकारण आधार पुष्टि गरेर प्राकृतिक रुपमा गठबन्धन हुन्छ भने ठीकै छ। तर प्रचण्डजीले हाम्रो सभापतिजीलाई जहाँ जसले जितेको त्यहाँ उही दललाई समर्थन गर्ने भन्ने प्रस्ताव राख्नुभएछ। त्यसकारण चुनावी समीकरण गर्ने नै भए आधार पुष्टि जाउँ भन्ने हो।’ केही नेताहरुको स्वार्थबमोजिम नेतृत्वले पार्टीको अहित हुने गरी र कार्यकर्ताको भावनाविपरीत निर्णय लिनुहुन्न भन्ने आफ्नो धारणा भएको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *