बल्ल उठ्यो भक्तपुरको बिस्का जात्राको ल्योसिंद्यो

डिसी नेपाल
१ वैशाख २०७९ १७:२८

 

भक्तपुर । भक्तपुरको बिस्का जात्राको ल्योसिंद्य बल्ल उठेको छ । बुधबार राति नै उठाइसक्नु पर्ने ल्योसिंद्य बिहीबार दिउँसो साढे तीन बजे मात्रै उठाउन सफल भएको हो ।

बुधबार साँझदेखि रातभर प्रयास गर्दा पनि ल्योसिंद्य उभ्याउने प्रयास विफल भएको थियो । भक्तपुर नगरपालिका वडा नम्बर ५ ल्योसिंखेलमा ५५ हात लामो ल्योसिंद्य साँझदेखि रातभर प्रयास हुँदा पनि उभ्याउने प्रयास सफल नभएको हो ।

५५ हात लामो र ठूलो भएका कारण कुनै वर्ष यसरी निर्धारित दिनमा उठाउन नसकेको इतिहास छ । तर, ल्योसिंद्य उठाउने नसकेको इतिहास नै भने छैन । निर्धारित दिनमा उठाउन नसकेको ल्योसिंद्यलाई वैशाख १ गते जसरी पनि उठाइन्छ ।

यसलाई उठाउन बिहीबार पनि बिहानैदेखि प्रयास भएको थियो । त्यो प्रयास साढे तीन बजे मात्रै सफल हुन सकेको थियो । आठ वटा डोरीको सहायताले तानेर उठाउने प्रयास हुन्छ । ल्योसिंद्यो उठाउने क्रममा पटक(पटक डोरी चुँडेको थियो ।

उठाइएको ल्योसिंद्योलाई परम्परा अनुसार आजै साँझ ढालिन्छ । आठ रात नौ दिन लामो विस्का जात्राको यो सबैभन्दा बढी मुख्य आकर्षणको जात्रा यही नै हो । जात्रा हेर्न भक्तपुरसहित काठमाडौं, ललितपुर अनि काठमाडौं उपत्यका आसपासबाट हजारौं जात्राप्रेमी यो जात्रा हेर्न आउने गर्दछन् ।

यसअघि नयाँवर्ष चार दिन अगाडि प्रसिद्ध पाँचतल्ले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरवनाथको रथ मंगलबार दिउँसो तान्ने क्रमको सुरुवातसँगै जात्रा सुरु भएको थियो । प्रत्येक वर्ष नयाँ वर्ष आगमनको चार दिन अगाडिदेखि सोही स्थानमा प्यागोडा शैलीमा बनाइएको तीनतल्ले भैरवनाथको रथ तान्ने क्रमसँगै जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ ।

इतिहास एवं संस्कृतिविद् डा। पुरुषोतमलोचन श्रेष्ठका अनुसार भक्तपुरको बिस्केट जात्रा पूर्वमध्यकालतिर तीन सय वर्षभन्दा बढ्ता समयसम्म राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो । तत्कालीन भक्तपुर राज्य समग्र नेपालको राजधानीनगरको रूपमा रहेको बेलामा यो राष्ट्रिय पर्वकै रूपमा मनाइने उनले बताए । तर, उपत्यकाको राजनैतिक विखण्डनलगायत वि।सं। १८२६ मा मल्लकालीन भक्तपुर राज्यको पतनपछि भक्तपुरले आफ्नो केन्द्रीय राजनैतिक–प्रशासनिक महत्त्व गुमाउँदै गएपछि भने यो एक जिल्लाको स्थानीय जात्राको रूपमा मात्र सीमित रहन पुग्यो । तर अहिले फेरि यो जात्रा हेर्नका लागि भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायतबाट सयौं मानिस आउने गर्दछन् ।

किम्बदन्ती अनुसार परापूर्वकालमा भक्तपुरमा बस्ने एक प्रतापी राजाको अत्यन्तै अद्भुत सुन्दरी राजकुमारी थिइन् । राजाले ती राजकुमारीसँग बिहे गर्नेलाई आफूले राजगद्धि नै सुम्पने बताएपछि राजगद्दी पाउने राजकुमारीसँग बिहे गर्न धेरै कुमारहरू आए । तर, जसले राजकुमारीसँग बिहे गर्थे उ पहिलो रातमै त्यही ओछ्यानमा मर्दथ्यो ।

एकदिन एक बलवान राजकुमारले राजकुमारीसँग बिहे गरे । राति राजकुमारी निदाएपछि उनको नाकको प्वालबाट दुई वटा नागनागिनी निस्केर अजिङ्गरको रुपधारण गरी राजकुमारलाई डस्न लाग्दा राजकुमारले आफ्नो खड्गले काटेर दुई टुक्रा पारिदिए । ती नागनागिनीले प्राण त्याग गर्ने बेलामा अब हामी दुवै एकै ठाउँमा मर्न लाग्यौँ, हामी प्राण त्याग गरेर गएपछि हाम्रो पुरुषार्थ देखाउन सबैले देख्ने गरी जात्रा चलाइदिनू भनी प्राण त्याग गरे ।

भोलिपल्ट सधैँझैँ गुठियार राजकुमारको लास लिन जाँदा राजकुमार जीवित नै र दुई वटा नाग–नागिनी मरेको देखेर सबै खुसी भएर राजाले पनि छोरीलाई अथाह धनसम्पत्ति दाइजो दिएर राजकुमारलाई राजतिलक गरिदिए । अजिङ्गरको स्वरूप हुने नागनागिनी मारिएको खुशीयालीका साथ यो जात्रा मनाउन थालिएको हो र नागनागिनीको अन्तिम इच्छाअनुसार ५५ हात लामो सोझो सल्लाको रूखको गोलो परेको लिङ्गो ल्योसिंखेलमा अहिले पनि ठड्याउने गरिन्छ । यसबाहेक पनि जात्रा सम्बन्धी अनेक किंवदन्ती छन् ।

भैरवनाथको रथ तानेर सुरु हुने जात्रा प्रत्येक वर्ष वैशाख ५ गते पाँचतल्ले मन्दिर अगाडि नै रहेको यही भैरवनाथको रथलाई तानेर सम्पन्न हुने गर्दछ । यो बेला पनि रथलाई दुवै साइटमा डोरी राखेर तानिन्छ । यस दिनलाई स्थानीय नेपाल भाषामा द्यो थाहा विज्याइगू अर्थात् देवता ९रथ० माथि सवारी हुने भनिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *