प्रचण्ड बाहिरिएपछि गठबन्धन बैठक स्थगित, साँझ फेरि बस्ने

डिसी नेपाल
५ वैशाख २०७९ १३:२८

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्तारुढ गठबन्धनको बैठकबाट बाहिरिएका छन्। सोमबार बिहानदेखि बसेको गठबन्धन बैठकबाट प्रचण्ड बाहिरिएका हुन्।

पूर्वनिर्धारित पत्रकार सम्मेलनमा सहभागी हुन प्रचण्ड गठबन्धन बैठकबाट बाहिरिएका उनका स्वकीय सचिव रमेश मल्लले न्युज कारखानालाई जानकारी दिए । उनका अनुसार पत्रकार सम्मेलन सकेर बालुवाटारमा जारी गठबन्धनको बैठक फेरि प्रचण्ड सहभागी हुने छन्।

‘अहिले गठबन्धनको बैठकबाट अध्यक्षज्यू बाहिरिनुभएको छ। उहाँ पार्टी कार्यालयमा हुने पत्रकार सम्मेलनमा सहभागी हुन गठबन्धन बैठकबाट बाहिरिनुभएको हो,’ मल्लले भने, ‘पत्रकार सम्मेलन सकिएपछि पुनः अध्यक्षज्यू गठबन्धन बैठकमा जानु हुन्छ।’

गठबन्धन बैठकमा स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा भागबन्डा गरेर उम्मेदवार तय गर्ने विषयमा कुराकानी भइरहेको मल्लले जानकारी दिए। प्रचण्ड बाहिरिएपछि अहिलेका लागि बैठक स्थगित गरिएको छ। प्रचण्डको पत्रकार सम्मेलन सकिएपछि फेरि गठबन्धन बैठक बस्ने उनकाे भनाइ छ।

बालुवाटारमा बसेको गठबन्धन बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र कार्यदलका अध्यक्ष रामचन्द्र पौडेलसहितका शीर्ष नेताहरू सहभागी थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *