छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

डिसी नेपाल
२८ वैशाख २०७९ १२:४७
56
Shares

काठमाडौं। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ छोटेपामा ग.२ ख ६५८ नम्बरको ट्रक मंगलबार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा ट्रकमा सवार मकवानपुर गोकर्ण बस्ने ३४ वर्षीय सन्त बहादुर तितुङ र म्याग्दी अन्नपूर्ण गाउँपालिका–१ दोवा बस्ने ४३ वर्षीय खुम बहादुर रामजाली रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

काठमाडौंको काठमाडौं महानगरपालिका–१४ कलंकी चोकमा बा.५ ख ७३४५ नम्बरको टिपरले बा.८० प ६३७३ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङ धुनिबेशी नगरपालिका–२ घर भएका ४५ वर्षीय दिवाकर अधिकारी रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नवलपरासी(पूर्व)को गैंडाकोट नगरपालिका–२ भृकुटी चोकमा ना.३ ख १८९ नम्बरको ट्रकले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल पहिचान नखुलेका ४५ वर्षीय पुरुष रहेका छन्। उनको मंगलबार दिउँसो मृत्यु भएको हो।

सुतीरहेको अवस्थामा ट्रकले किचेर गम्भीर घाइते भएका उनको जिल्ला सरकारी अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चितवनको भरतपुर महानगरपालिका–२५ अमृत चोकमा ना.५ त ५७३१ नम्बरको ट्रयाक्टरले ना.५१ प ८२३४ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही महानगरपालिका–२२ बस्ने २९ वर्षीय बिनय बोटे रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने ५२ वर्षीय बाबुराम चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ। हाल फरार ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.