श्रीलङ्कामा दङ्गा अझै रोकिएन, अहिलेसम्म आठ जनाको मृत्यु

डिसी नेपाल
२८ वैशाख २०७९ १७:०८

कोलम्बो (बीबीसी) । श्रीलङ्कामा दोस्रो रात पनि सत्तापक्षीय नेताहरूको सम्पत्तिमा आगजनी र आक्रमण भएको छ। मङ्गलवार राजधानी कोलम्बोनजिकै रहेको नेगोम्बो सहरमा आगजनी भयो।

भिडले निवर्तमान प्रधानमन्त्री महिन्द राजपक्षका छोराको स्वामित्व भएको एउटा लक्जरी रिसोर्टमा आक्रमण गरेका छन्।

सोमवार राष्ट्रपति गोटाबय राजपक्ष पदबाट हट्नुपर्ने माग गर्दै प्रदर्शन गरिरहेका मानिसहरूमाथि सरकारका समर्थकहरूले आक्रमण गरेका थिए। घटनापछि देशको आर्थिक सङ्कटबाट निराश बनेका प्रदर्शनकारीहरू थप क्रुद्ध बनेका थिए।

श्रीलङ्कामा विरोधप्रदर्शन र झडपहरूमा आठ जनाको मृत्यु भइसकेको छ भने २०० भन्दा बढी घाइते भएका छन्।

आर्थिक सङ्कट गहिरिँदै गएपछि श्रीलङ्कामा हप्तौँदेखि विरोधप्रदर्शन भइरहेको छ। सङ्कटका कारण श्रीलङ्काको रुपैयाँमा ह्रास आएको छ भने खानेकुरा र इन्धनको अभाव भएको छ।

सोमवार राति भिडले राजनीतिक नेताका ५० वटाभन्दा बढी घरमा आगजनी गरेको विवरण आएका छन्। राजपक्ष परिवारले विवादास्पद सङ्ग्रहालय बनाएको दक्षिण श्रीलङ्कास्थित उनीहरूको पुर्ख्यौली घर आगजनीपछि भत्किएको छ।

बुधवार लगातार तेस्रो दिन पनि व्यापार व्यवसाय र कार्यालयहरू बन्द रहेका छन् भने देशव्यापी कर्फ्यू आदेश बिहीवार बिहानसम्मका लागि थप गरिएको छ।

सुरक्षाका कारण श्रीलङ्काका नेताहरूले अनलाइन माध्यमबाटै बैठक गरेका छन्।

कोलम्बोका सडकहरूमा यो साताको दङ्गा फैलिएको सङ्केत जताततै देख्न सकिन्छ। सडकमा प्रहरीको बाक्लो उपस्थिति छ भने जलाइएका र पल्टाइएका बसहरू यत्रतत्र छन्।

सुरक्षाकर्मीहरूलाई कानुनको उल्लङ्घन गर्ने मानिस देखिए तत्काल गोली हान्ने आदेश दिइएको छ। सडकमा गस्तीका लागि हजारौँ सुरक्षाकर्मीहरू परिचालित छन्।

तथापि श्रीलङ्काको मुख्य प्रदर्शनस्थल गल फेश ग्रीनमा प्रदर्शनकारीहरू भेला हुने क्रम मङ्गलवार साँझ पनि जारी रह्यो।

उनीहरूले राष्ट्रपति राजपक्ष अर्थतन्त्रको व्यवस्थापनमा असफल भएको भन्दै पदबाट बाहिरिन दबाव दिएका छन्।

राष्ट्रपतिका दाजु महिन्द राजपक्षले प्रदर्शन मत्थर पार्ने प्रयासस्वरूप सोमवार प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। तर उनको कदमले पनि प्रदर्शन कम भएन।

राष्ट्रपति राजपक्षले नयाँ अन्तरिम सरकार गठनका लागि अन्य राजनीतिक दलहरूसँग छलफल गरिरहेका छन्। तर त्यहाँको प्रमुख प्रतिपक्ष दलले राष्ट्रपतिले पदबाट नहटेसम्म अन्तरिम सरकारमा सहभागी नहुने अडान लिएको छ।

हालसम्म सरकार गठनका लागि कुनकुन दलहरू एक ठाउँमा आउँछन् भन्ने स्पष्ट भइसकेको छैन।

अर्थतन्त्र टाट पल्टिन लागेपछि श्रीलङ्काले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग ८१ अर्ब डलरको आर्थिक उद्धार प्याकेज लिने प्रयत्न गरेको थियो। त्यसपछि श्रीलङ्कामा राजनीतिक गतिरोध देखा परेको हो।

चीनसँग ऋण लिएर व्यापक पूर्वाधार परियोजनाहरूमा लगानी गरेको श्रीलङ्काले विदेशी ऋणको किस्ता तिर्न बन्द गरिसकेको छ।

कोरोनाभाइरस महामारीपछि श्रीलङ्काको आम्दानी घटेको थियो भने राष्ट्रिय ढुकुटीबाट विदेशी मुद्रा रित्तिना थालेको थियो।

विज्ञहरूले सन् २०१९मा लोकप्रियताका लागि गरिएको कर कटौती र सन् २०२१ मा रासायनिक मलमा लगाइएको प्रतिबन्धले बालीको उत्पादकत्व घट्नुलाई आर्थिक सङ्कट निम्त्याउने कारक भएको बताएका छन्।

कोलम्बोस्थित निवास छाडेर महिन्द राजपक्ष त्रिङ्कोमली पुगेको अपुष्ट खबरपछि प्रदर्शनकारीहरू मङ्गलवार त्रिङ्कोमलीस्थित जलसेनाको शिविरअगाडि भेला भएका थिए।

महिन्द राजपक्ष परिवारका अन्य सदस्यसहित भागेर भारत पुगेको हल्ला पनि चलेको छ।

तर श्रीलङ्कास्थित भारतीय उच्चायुक्तको कार्यालयले त्यस कुरा सत्य नभएको जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *