टेलिभिजनमा देखिने पहिलो महिला अरबी पत्रकार कसरी मारिइन् ?

डिसी नेपाल
२९ वैशाख २०७९ १५:५५

काठमाडौं । इजरायल नियन्त्रित क्षेत्रमा सेनाले गरेको आक्रमणबारे समाचार सङ्कलन गर्ने क्रममा अल जजीराकी वरिष्ठ प्यालेस्टाइनी-अमेरिकी संवाददाता शिरीन अबु अक्ला मारिइन्।

कतारमा रहेको अल जजीराले अक्लालाई इजरेली सेनाले जेनिनमा “जानाजानी” गोली प्रहार गरेको बताएको छ। आक्रमणमा परी उनका निर्माता पनि घाइते भएका छन्।

इजरायलका प्रधानमन्त्रीले गोलाबारीको क्रममा उनीहरूलाई प्यालेस्टाइनी बन्दुकधारीहरूले प्रहार गरेको “सम्भावना”बारे बोलेका छन्।

तर उनका सैन्य प्रमुखले भने हालसम्म घटनाको कारणबारे यकिन गर्न नसकेको जानकारी दिए।

प्यालेस्टाइनी राष्ट्रपतिले भने घटनालाई “मृत्युदण्ड सरहको अपराध”को संज्ञा दिँदै इजरायल सरकारलाई पूर्ण रूपमा जिम्मेवार ठहराए।

५१ वर्षीय अक्ला दर्शक र सहकर्मीहरूले धेरे रुचाउने पत्रकार थिइन्।

टेलिभिजनमा देखिने पहिलो अरबी महिला पत्रकार
अक्लाबारे बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिस डाउसेट लेख्छन्:

“वास्तवमा शिरीन अबु अक्लाको नाम अरबी दुनियाँको लागि घरकै व्यक्तिको सरह थियो।”

“जब दर्शकहरू २४ घण्टा अरबी भाषामा प्रसारण हुने अल जजीरा सञ्जालप्रति चासो देखाउँथे तब यस क्षेत्रभर र यहाँभन्दा परका बैठक कोठा, आँगन र शिविरहरूमा शिरीनको शान्त र शानदार उपस्थिति हुने गर्थ्यो।”

“सञ्जाल स्थापनाको एक वर्षपश्चात् सन् १९९७ मा उनी आफैले आफ्नो इतिहास लेखिन्। उनी टेलिभिजनको पर्दामा देखिने पहिलो अरबी महिला पत्रकार बनिन्।”

“मैले उनको मृत्युको खबर सहकर्मी शाइमा खलिलको ट्विटमार्फत् थाहा पाएँ।”

“ओहो कति पीडादायी खबर! म र लाखौँले शिरीनको समाचार सामग्री हेर्दै आएका छौँ।”

“धेरै महिलाहरू हातमा काइँयो लिएर ऐना अगाडि उभिएका छन् र शिरीन हुनुको अभिनय गरेका छन्,” उनकी सहकर्मी एवं साथी डालिया हतिकले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेकी छन्।

अक्लाले इजरेलीहरूमा पनि छाप छोडेकी छन्।

“इजरेली सेनाहरू आवाज ठूलो बनाउने उपकरणमार्फत कराउँथे र उनले समाचार सामग्रीको अन्त्यमा बोल्ने वाक्यांशको नक्कल गर्थे,” उनकी अल जजीराकी अर्की सहकर्मी लिनाह अल सफिनले सामाजिक सञ्जालमा लेखेकी छन्।

अरबी जगत्मा सन् १९९३ को ओस्लो सम्झौताको सेरोफेरोमा हुने युद्ध र शान्तिसम्बन्धी समाचारको उनी अनुहार र आवाजको पर्याय थिइन्।

“जेरुसलेमबाट म उनलाई द्वन्द्वको बारेमा लेख्ने ती पत्रकारहरूको समूहमा सम्झन्छु जसले सञ्चारमाध्यममा बिरलै छाएका विषयवस्तुलाई महत्त्व दिन्थिन्।”

“उनी हाम्रो जातीय समुदायकै एक अंश थिइन्। तर अधिकार र आत्मविश्वासले उनलाई फरक बनायो। उनको मुस्कान र हाँसोले धेरैलाई उनीप्रति आकर्षित बनाउँथ्यो।”

उनी २० वर्षअघि नै चर्चित भएकी थिइन् जब उनले जेनिनस्थित शरणार्थी शिविरमा इजरायलले गरेको अतिक्रमणबारे समाचारहरू तयार पारेकी थिइन्।

पछिल्लो समय उनी इजरायलद्वारा नियन्त्रित उत्तरी सहरमा रहँदा स्वयं ठूलो समाचार बनिन्।

एक तस्बिरमा देखिए अनुसार अस्पतालको स्ट्रेचर वरपर उनका सहकर्मीहरू दुःखी र हताश देखिन्थे। विश्वभर आश्चर्य र दुःखको लहर छाएको थियो।

उनको कफिनमाथि नीलो रङको पृष्ठभूमिमा सेतो रङले “प्रेस” लेखेको कात्रो ओढाइएको थियो। त्यसले इजरायल-प्यालेस्टाइन युद्धलगायत अन्य युद्धको समाचार सम्प्रेषण गर्ने पत्रकारहरूले निकै ठूलो मूल्य चुकाएको पीडादायी अवस्था सङ्केत गरेको थियो।

“जस्तोसुकै भयानक परिस्थिति र रक्तपातपूर्ण घटनाको सामना गर्नु पर्दा समेत उनी सधैँ शान्त, अविचलित र संयमित हुन्थिन्,” प्रसिद्ध अरबी पत्रकार तथा लेखक मार्वान विशाराले भने।

उनी “शिरीन जीवित नभएको स्वीकार्न आफू तयार नभएको” बताउँछन्।

जब कुनै विषयबारे लेखिनु महत्त्वपूर्ण थियो तब उनी त्यहाँ थिइन्। अब उनी छैनन्।

धेरैलाई उनले इमानदारीपूर्वक लेख्ने गरेका कथाहरूको याद आउने छ।

नियन्त्रित क्षेत्रको रमल्लाहमा विज्ञापन बोर्डमा उनको ठूलो तस्बिर राखिएको छ।

तर उनले जीवनभर कमाएको एक मात्र उपाधि हो: पत्रकार।

अल जजीराले जारी गरेको विज्ञप्तिमा भनिएको छ: “प्यालेस्टाइन कब्जा गरेर बसेका इजरेली सेनाले अन्तर्राष्ट्रिय कानुन र मान्यताहरू उल्लङ्घन गर्दै त्यहाँस्थित अल जजिराकी संवाददाता शिरीन अबु अक्लालाई आज बिहानै उनको पत्रकारितासम्बन्धी कर्तव्य निर्वाह गर्ने क्रममा प्रत्यक्ष आगो लगाएर निर्मम हत्या गर्योा।”

उक्त सञ्चार संस्थाले अन्तर्राष्ट्रिय समुदायसमक्ष इजरेली सरकार र सेनालाई एक पत्रकारलाई “जानेरै निशाना बनाई हत्या” गरेको घटनाप्रति जबाफदेही बनाउन आह्वान गरेको छ।

अल जजीरालाई आर्थिक रूपमा सहयोग गर्ने कतारले यस हत्यालाई “जघन्य अपराध र अन्तर्राष्ट्रिय मानवीय कानुन र सञ्चार तथा अभिव्यक्ति स्वतन्त्रताको स्पष्ट उल्लङ्घन” भएको बताएको छ।

इजरेली प्रधानमन्त्री नफ्ताली बेनेटले भने “आधारहीन आरोपहरू” लगाइएको दाबी गरे।

“हामीले सङ्कलन गरेको जानकारी अनुसार पत्रकारको दुर्भाग्यपूर्ण मृत्युको लागि त्यति बेला अन्धाधुन्ध गोली चलाउँदै गरेका सशस्त्र प्यालेस्टिनीहरू जिम्मेवार छन्,” उनले एक विज्ञप्तिमार्फत भनेका छन्।

“कैद भएको एक दृश्यमा जेनिनस्थित प्यालेस्टाइनीहरूले गर्वका साथ ‘हामीले एक सिपाहीमाथि प्रहार गर्यौँल; ऊ भुईँमा लडिरहेको छ’ भनिरहेका थिए। यद्यपि कुनै पनि इजरेली सेना घाइते भएका छैनन्। यसले पत्रकारलाई गोली हान्नेहरू प्यालेस्टिनी आतङ्ककारीहरू भएको सम्भावना बढाउँछ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *