रघुगङ्गामा टेलिकमको सेवा विस्तार

डिसी नेपाल
२० जेठ २०७९ १०:३६
52
Shares

बेनी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोला र ८ कुइनेमङ्गलेका दुर्गम बस्तीमा नेपाल टेलिकमको सेवा विस्तार गरिएको छ। सेवा विस्तारपछि मोबाइल फोनका लागि अग्ला डाँडा र रुखमा चढ्नुपर्ने बाध्यता हटेको छ।

रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको पुस्तिबाङ डाँडामा अस्थायीरूपमा विद्युत्को पोलमा बिटियस जडान गरेर सेवा सञ्चालन गरिएको नेपाल टेलिकम म्याग्दीका प्रमुख दामोदर सिम्खडाले जानकारी दिए। “तत्कालका लागि बिजुलीको पोलमा उपकरण जडान गरेका छौँ, टावर निर्माणका लागि ठेक्का लगाइसकिएको छ, फाउण्डेशनको काम पनि सकिएको छ, छिट्टै स्थायी संरचनाबाटै सेवा सुचारु हुन्छ”, उनले भने।

समुन्द्री सतहदेखि २ हजार ६ सय मिटर उचाइमा रहेको पुस्तिबाङ डाँडामा टेलिकमको २५ मिटर अग्लो टावर निर्माण गर्ने योजना छ। तत्कालका लागि टुजी र थ्रिजीमार्फत भ्वाइस र डाटा एकसाथ सञ्चालनमा आएको र पक्की टावर निर्माण भएपछि अत्याधुनिक प्रविधिको चौथो पुस्ताको फोरजी मोबाइल सेवा सञ्चालनमा आउने रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकबहादुर पाइजाले जानकारी दिए। उपकरण राख्न गाउँपालिकामार्फत टावर परिसरमा भवन निर्माण भइसकेको छ।

टावर बनेपछि चिमखोलाको जस्लाबाङ, पात्लेखेत, गौडामुनी, नगलडाँडा, कुइनेमङ्गलेको मङ्गलेखानी, घ्यासीखर्क, दुवाडी, ढाँड, पात्लेखर्क, चौरखानीलगायतका दुर्गम बस्तीमा मोबाइल फोनको सहज पहुँच पुगेको छ। दुर्गम बस्तीमा मोवाइलका लागि नेटवर्क खोज्दै अग्डा डाँडा र रुखमा चढ्नुपर्ने बाध्यता अब हटेको रितुङ मावि कुइनेमङ्गलेका शिक्षक याम घर्तीले बताए। “सञ्चार सेवा नहुँदा निकै कठिनाइ झेल्दै आउनुपरेको थियो, अब अधिकांश बस्तीमा घरमै मोबाइल फोन प्रयोग गर्न पाइएको छ”, उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.