चुरे पहाडको संरक्षण हुनुपर्छः पूर्वराष्ट्रपति यादव

डिसी नेपाल
२८ जेठ २०७९ १९:३३
40
Shares

विराटनगर । पूर्वराष्ट्रपति डा रामवरण यादवले तराईको हुलाकीमार्ग समयमै निर्माण नभएकाले चुरे पहाडको दोहन भइरहेको बताएका छन् ।

पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद् विराटनगरद्वारा आयोजित सम्मान समर्पण समारोहमा सम्मान ग्रहण गर्दै उनले अन्नको भण्डार मानिएको नेपालको तराई चुरे दोहनले समस्यामा परेको स्पष्ट पारे । उनले चुरेको संरक्षणले महाभारत र तराई पनि संरक्षित हुने कुरामा जोड दिँदै पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद्बाट सम्मानित हुन पाएकामा गर्व महशुस भएको बताए।

पूर्वराष्ट्रपति डा. यादवले पिताजी कृष्णप्रसाद कोइराला समाजका परिवर्तक भएकाले उनको योगदानलाई नयाँ पिँढीले अध्ययन गर्नु आवश्यक रहेको चर्चा गर्दै देशको एकता र अखण्डतालाई कायम राख्न लोकतन्त्रको धरै ठूलो भूमिका रहेको बताए ।

लोकतान्त्रिक पद्धतिबाट नै समाजलाई परिवर्तन गर्न सकिने विचार बोकेका पिताजी कृष्णप्रसाद कोइराला त्यागी, समाजसेवी, शिक्षाप्रेमी र परिवर्तनका अग्रणी रहेको चर्चा गर्दै पूर्वराष्ट्रपति डा यादवले आफू अहिले स्वतन्त्र रहे पनि विद्यार्थी जीवनदेखि लागेको पार्टीबाट नेपालको प्रथम राष्ट्रपति बनेकामा गर्व लागेको धारणा राखे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पूर्वराष्ट्रपति डा यादवलाई सम्मानपत्र हस्तान्तरण गर्दै क्षणिक लाभका लागि राजनीतिक गर्ने मानिसबाट समाजले लाभ लिन नसकिने बताए । उनले पिताजी कृष्णप्रसाद कोइरालाको पदमार्गमा हिँड्न सके समाज अझ बलियो र विकसित हुने धारणा राख्दै चुरे पर्वत दोहनको विषयमा सरकार बेखवर रहेको बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले स्व पिताजी कृष्णप्रसाद कोइरालाले नै विराटनगर सहर बसाएको प्रसङ्ग उल्लेख गर्दै समाजलाई परिवर्तन गर्न, विकास गर्न र मुलुकमा प्रजातन्त्र ल्याउन पिताजी कोइरालाको योगदानको अपूरणीय रहेको स्मरण गरे।

कार्यक्रममा परिषद्का अध्यक्ष कविराज न्यौपाने, प्रा डा घनश्यामलाल दास, परिषद् सदस्य विश्वनाथ रिजाल, प्रा. डा. कुलप्रसाद कोइरालाले पनि बोलेका थिए । यसअघि विराटनगरको बगरगाछी चोकमा स्थापित पिताजी कृष्णप्रसाद कोइरालाको प्रतिमा पूर्वराष्ट्रपतिले अनावरण गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.