विपदमा सबै सरकारी निकायबीच समन्वय गरौँः गृहमन्त्री खाण

डिसी नेपाल
२८ जेठ २०७९ २२:५४
12
Shares

चितवन । गृहमन्त्री बालकृष्ण खाणले नारायणगढ–मुग्लिन–काठमाडौँ सडकखण्ड अवरोध हुन नदिन सबै सरकारी निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन्। चितवनको कुरिनटारस्थित आज सशस्त्र प्रहरी बल विपत व्यवस्थापन तालिम शिक्षालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले काठमाडौँ जोड्ने लाइफलाइनको रुपमा रहेको सडकखण्ड लामो समय अवरोध नहुने वातावरण सिर्जना गर्न निर्देशन दिएका हुन् ।

उनले पोखरादेखि मुग्लिन र नारायणगढदेखि मुग्लिन हुँदै काठमाडौँ जाने सडकको सहज व्यवस्थापनका लागि सबै जिल्लाका सिडियोहरूले समन्वय गरेर काम गर्नुपर्ने बताए । “यो सडकखण्डमा वर्षेनी पहिरो जाने र नागरिकको जीउधनको क्षति हुने गरेको छ । यसले सडक सञ्जालमा गम्भीर अवरोध पु¥याउने गरेको छ”, उनले भने’ “तपाईँहरू जिल्ला प्रमुख, सुरक्षा निकाय र सडक विभाग मिलेर व्यवस्थापनको काम गर्नुहोस् ।’’ उनले आवश्यक उपकरण, जनशक्ति र बजेको व्यवस्था गर्न जिल्ला प्रमुखलाई निर्देशन दिए ।

मन्त्री खाणले सडक निर्माण गर्दै दीर्घकालीन रुपमा सोचेर काम नगर्दा समस्या आउने गरेको बताए । “मुग्लिन–नारायणगढ सडकखण्डमा नदीको दुवैतर्फ सडक निर्माण गर्नुपर्छ । जसले गर्दा पहाड कम कटान हुने र क्षति पनि कम हुन्छ । थोरै पहाड काटेर पनि सडक निर्माण गर्न सकिने उपाय हुँदाहुँदै अस्तव्यस्त तरिकाले काम गर्न हुँदैन”, उनले भने ।

हरेक आयोजनालाई अगाडि बढाउँदा त्यसले प्राकृतिक विपत्तिलाई कतिको सामना गर्न सक्छ भन्ने कुरामा ध्यान दिनुपर्ने बताए । सामूहिक प्रयत्नबाट मात्र नागरिकको जीउधनको सुरक्षा हुने भन्दै उनले नियमित जिम्मेवारी पूरा गर्दै विपतको समयमा थप भूमिका निर्वाह गर्न सुरक्षा संयन्त्रलाई आग्रह गरे । “गतवर्ष भन्दा ठूलो वर्षा हुन्छ भन्ने आकलन छ । त्यसैले जनताको जनजीवनलाई कसरी सुरक्षित गराउन सकिन्छ भन्नेतर्फ सबैले ध्यान दिन जरुरी छ”, उनले भने ।

नेपालको भू–बनोट र ठूला नदीका कारण पनि वर्षेनी बाढीपहिराको समस्या हुने गरेको मन्त्री खाणले बताए । सरकारले नागरिकको जीउधनको रक्षा पहिलो प्राथमिकतामा राखेको भन्दै उहाँले शान्ती सुरक्षा,अपराधिक घटना नियन्त्रण र सीमा सुरक्षाका काममा कुनै सम्झौता नहुने उल्लेख गरे ।

नेपालमा सनाठूला झण्डै छ हजार नदीनाला रहकाले यिनले पुर्‍याउन सक्ने क्षतिका विषयमा पनि सचेत बन्नुपर्ने मन्त्री खाणले बताए। उनले विपत व्यवस्थापन तालिम शिक्षालय कुरिनटारले उद्धारका काममा महत्वपूर्ण काम गरेको भन्दै प्रशंसा व्यक्त गरे ।

“घटना दुर्घटना भएपछि मानिसको जीवितै उद्धार र मृत्युपश्चात शव भेटाएर परिवारको जिम्मा लगाउनु हाम्रो कर्तव्य हो । त्यसमा सशस्त्र प्रहरीले उल्लेखनीय काम गरेको छ”, उनले भने । उनले नदीमा बेपत्ताको खोजीका लागि बङ्गलादेशबाट गोताखोर ल्याउनुपर्ने बाध्यता अन्त्य भएको भन्दै थप जनशक्ति र स्रोतसाधनको व्यवस्था गर्दै लैजाने बताए ।

मन्त्री खाणले संविधान र कानुनको जिम्मेवारी निर्वाह गर्दै जाँदा कहिलेकाही व्यावहारिक पक्षलाई पनि ध्यान दिन सुरक्षा निकायलाई दिर्नेशन दिए । विपतसम्बन्धी सबै नागरिकलाई सचेतना फैलाउन जरुरी रहेको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.