पूर्वसांसद भद्रबहादुर थापाको निधन

डिसी नेपाल
२८ जेठ २०७९ २३:०७
104
Shares

पाल्पा । पूर्वसांसद भद्रबहादुर थापाको आज निधन भएको छ । रामपुर नगरपालिका–१० बर्दले बस्ने थापाको ७३ वर्षको उमेरमा आज निधन भएको हो ।

पूर्वसांसद थापा करिब दश वर्षअघिदेखि मुटुरोगको बिरामी थिए । स्व थापाको कालीगण्डकी नदीको बर्दलेघाटमा वैदिक परम्पराअनुसार दाहसंस्कार गरिएको छ ।

उनी विसं २०४९ मा तत्कालीन गेझा गाविसको पहिलो अध्यक्षका रूपमा निर्वाचित भएका थिए । नेकपा (एमाले)बाट निर्वाचित भई विसं २०४९ देखि २०५४ सम्म गेझा गाविसको अध्यक्षका रूपमा सेवा गरेका थापा २०५४ मा जिल्ला विकास समिति पाल्पाको उपसभापति, २०५६ मा पाल्पा क्षेत्र नं १ को प्रतिनिधिसभा सांसदमा निर्वाचित भएका थिए । स्व थापाका श्रीमती, एक छोरा र एक छोरी छन् ।

विसं २००६ मा रामपुर–१० को गेझामा स्व बुबा कुवेरसिं थापा र आमा मनीमाया थापाका जेठो सन्तानका रूपमा जन्मेका उनले विसं २०३६ देखि १४ वर्षसम्म भानुभक्त मावि गेझामा अङ्ग्रेजी विषय अध्यापन गराएका थिए।

आफ्ना बुवाको किरिया गरेर पिण्ड दिँदै गर्दा किरियाकर्म सम्पन्न नहुँदै उनको बिहान ९ बजेतिर निधन भएको हो । बुवा ६२ वर्ष अगाडिदेखि बेपत्ता भएकामा अब जीवितै नरहेको निष्कर्षका साथ उनले १२ दिन अगाडिदेखि बुबाको किरियाकर्म गरिरहनुभएको स्थानीय दामोदर तिमिल्सिनाले जानकारी दिए।

पाल्पाका नेकपा (एमाले) र नेपाली कांग्रेसका नेता, जनप्रतिनिधि, कार्यकर्ता, समाजसेवी, बुद्धिजीवीलगायत कालीगण्डकी नदीमा पुगेर थापाको पार्थिक शरीरमा श्रद्धाञ्जलि अर्पण गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.