विपद्का घटनाबाट साढे दुई महिनामा १०१ जनाको मृत्यु
काठमाडौं। विपद्का घटनामा परी पछिल्लो साढे दुई महिनाको अवधिमा नेपालमा १०१ जनाले ज्यान गुमाएका छन्। २०७९ वैशाख १ गतेदेखि असार १८ गतेसम्मको अवधिमा विपद्का घटनामा परी उनीहरुको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार सो अवधिमा पहिरो, बाढी, भारी वर्षा, चट्याङ, सर्पदंश, आगलागी, जंगल आगलागी, हवाहुरी र जनावरको आक्रमणका घटनामा परी उनीहरुको मृत्यु भएको हो।
२०७९ साल सुरु भएपछि सबैभन्दा बढीको मृत्यु चट्याङ लागेर भएको छ। चट्याङ लागेर पछिल्लो साढे दुई महिनाको अवधिमा ३९ जनाको मृत्यु भइसकेको छ।
उक्त अवधिमा पहिरोमा परी ११, बाढीमा परी ३, भारी वर्षाका कारण ३, सर्पको टोकाइबाट ५, आगलागीमा परी २०, हावाहुरीका कारण ८ र जनावरको आक्रमणमा परी १२ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।
बितेको साढे दुई महिनाको अवधिमा विपद्का घटनामा परी ३ जना वेपत्ता भएका छन्। प्राधिकरणका अनुसार यस वर्ष विपद्का घटनाका कारण राज्यले ६५ करोड २१ लाख २३ हजार ५६० रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोरीसकेको छ।
सबैभन्दा ठूलो आर्थिक क्षति आगलागीका घटनाले ५४ करोड ९६ लाख ३४ हजार ४६० रुपैयाँ बराबरको गरेको छ। पहिरोका घटनाले हालसम्म ४ करोड ४७ लाख ७५ हजार रुपैयाँ र हावाहुरीले २ करोड ५४ लाख ११ हजार ८०० सय रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणले जनाएको छ।







डिसी नेपाल








Facebook Comment