मधेश प्रदेशका १०५ पालिकामा वृक्षरोपण: वनमन्त्री यादव

डिसी नेपाल
२० असार २०७९ १९:३४
28
Shares

काठमाडौं । नवनियुक्त वन तथा वातावरणमन्त्री प्रदीप यादवले ‘जनताको रहर हरित सहर’ कार्यक्रमअन्तर्गत तराई–मधेसका १०५ पालिकामा वृक्षरोपण गरिने बताएका छन् ।

मन्त्री यादवले आज सिंहदरबारमा पदबहाली पछि पहिलो निर्णय गर्दै मधेस प्रदेशका १०५ पालिकाहरूमा वृक्षरोपण गरी वनसँग जोड्ने बताएका छन् । ती पालिकामा अहिले वन (रुख विरुवा) नरहेको भन्दै मन्त्री यादवले राजमार्गको वरिपरी र नहरको वरिपरी नदी नियन्त्रणमा उपयोग हुनेगरी रुख विरुवा रोप्ने अभियानको थालनी गरिने बताएको मन्त्री यादवको सचिवालयले जनाएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ शपथ लिएलगत्तै मन्त्री यादवले मन्त्रालय पुगेर पदबहाली गरेका छन् । सो अवसरमा मन्त्रालय मातहत विभाग र महाशाखा प्रमुखहरूले मन्त्रालयको गतिविधिबारे मन्त्री यादवसमक्ष ब्रिफिङ गरेका थिए ।

मन्त्री यादवको राजनीतिक यात्रा

मधेस आन्दोलनबाट राजनीतिमा उदाउनुभएका युवा नेता यादव तत्कालीन मधेसी जनअधिकार फोरम पर्साको अध्यक्ष बनेका थिए । पर्सा वीरगञ्ज महानगरपालिका–२२ मनिहारी स्थायी घर भएका मन्त्री यादव बाल्यकालदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका थिए । उनी विसं २०७० को संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नं २ बाट उम्मेदवार बनेका थिए । पछिल्लो विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पर्सा क्षेत्र नं १ बाट उनी निर्वाचित भएका थिए । मन्त्री यादव हाल जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री पदमा सिफारिस भएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.