विभिन्न स्थानबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ

डिसी नेपाल
२२ असार २०७९ १३:००
44
Shares

काठमाडौं। कैलाली, झापा र पर्साबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–९ गौरिकटानबाट १ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २३ वर्षीय प्रेम ताम्राकार छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्रेमलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

यसैगरी कैलालीकै धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेल नजिकबाट ८ ग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। गोदावरी नगरपालिका–१२ बस्ने २९ वर्षीय धर्म बडौलालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

से.७ प ६२३७ नम्बरको स्कुटरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार बडौलालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

झापाको मेचीनगर नगरपालिका–६ मेचीपुलबाट करिब ९ ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका बस्ने २२ वर्षीय मिलन दर्जी छन् । उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेका दर्जीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

पर्साको वीरगन्ज महानगरपालिका–२८ बगहीबाट करिब ९० किलोग्राम अवैध लागूऔषध गाँजा सहित दुई जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारत घर भएका ३० वर्षीय रबिकान्त भारती र २८ वर्षीय सुनिल भारती रहेका छन्।

यूपी ७० बीके ९९५५ नम्बरको कारलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा कारको डिकीमा लुकाई ल्याएको उक्त गाँजा सहित उनीहरूलाई पक्राउ गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.