पर्यटकीयस्थल लभ्लीहिलमा पूर्वाधार निर्माण हुँदै

डिसी नेपाल
२८ असार २०७९ १४:०३
176
Shares

गलेश्वर। म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको खबरा स्थित पर्यटकीयस्थल लभ्लीहिलमा पर्यटक लक्षित भौतिक पूर्वाधार धमाधम निर्माण भइरहेका छन्। जिल्लाको सदरमुकाम बेनीबजारदेखि आधा घण्टाको दुरीमा रहेको प्रसिद्ध पर्यटकीयस्थलमा वन डिभिजन कार्यालय म्याग्दीद्वारा चालु आवमा पदमार्ग र चौपारी निर्माण गरिएको छ। यसअघि बेनीदेखि लभ्लीहिल पुग्ने पदमार्ग र उद्यान बनाइएको थियो।

गण्डकी प्रदेश सरकारको कार्यक्रम सामुदायिक वनमा पर्र्यटन कार्यक्रममार्फत प्राप्त भएको रु तीन लाख ३६ हजार बजेटबाट ४५ मिटर पदमार्ग र चौपारी निर्माण गरिएको वन डिभिजन कार्यालयका प्रमुख मनोज रानाभाटले बताए। गत वर्ष पनि वन डिभिजन कार्यालयले लभ्लीहिलमा पार्क निर्माण गरेको थियो। सोही स्थलमा ‘हरियाली–पार्क’ को निर्माण पनि भएको छ। गण्डकी प्रदेश सरकारले अघि सारेको सहरी वन प्रवद्र्धन तथा उद्यान पार्क निर्माण कार्यक्रमबाट लभ्लीहिलमा हरियाली पार्क बनाइएको हो। लभ्लीहिलमा प्रदेश सरकारको आर्थिक सहयोगमा डिभिजन वन कार्यालय म्याग्दीमार्फत हरियाली पार्क निर्माणको काम सञ्चालन गरिएको थियो।

पिपलडाँडा सामुदायिक वन उपभोक्ता समिति खबरालाई छनोट गरी सो समूहमार्फत हरियालीपार्क निर्माण गरिएको डिभिजन वन कार्यालयले जनाएको छ। लभ्लीहिल क्षेत्रको कुल ३० मिटर लम्बाइ र १५ मिटर चौडाइको जमिनमा बनाइएको पार्कभित्र धुपी, मसालासहित सुगन्धयुक्त फलफूलका बिरुवा रोपिएको पिपलडाँडा सामुदायिक वन उपभोक्ता समितिका पूर्वअध्यक्ष चन्द्रबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार पार्कका लागि आवश्यक जग्गालाई घेराबार गरी त्यसैभित्र बिरुवा रोपिएको छ भने लभ्लीहिल क्षेत्रमा पनि विभिन्न किसिमका बोटबिरुवा लगाइएको छ।

हिमाली जिल्ला म्याग्दीमा हरियाली पार्क निर्माणका लागि गत वर्ष दुई वटा सामुदायिक वन उपभोक्ता समूहलाई छनोट गरी कार्यक्रम अगाडि बढाइएको थियो। सहरी वन प्रवद्र्धन तथा उद्यान पार्क निर्माणका लागि गण्डकी प्रदेश सरकारले गएको वर्षमा रु ३० लाख बजेट उपलब्ध गराएको थियो।

कार्यक्रमबाट ज्यामरुककोटको पिपलडाँडा सामुदायिक वन समूह र पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–२, बाबियाचौरको केसरी सम्मेनी सामुदायिक वनमा पार्क निर्माण गरिएको छ। मङ्गलाको केसरी सम्मेनी सामुदायिक वन उपभोक्ता समूहलाई कार्यक्रममार्फत १८ लाख र पिपलडाँडा सामुदायिक वन उपभोक्ता समूहलाई रु १२ लाख बजेट विनियोजन गरिएको डिभिजन वन कार्यालयको भनाइ छ। लभ्लीहिलमा अहिले दिनहुँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.