समाचार साभार गर्दा क्रेडिट नदिए कारवाहीः काउन्सिल अध्यक्ष बस्नेत

डिसी नेपाल
२९ असार २०७९ २२:१४
12
Shares

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राससको समाचार साभार गरेर रासस उल्लेख नगर्ने पत्रपत्रिका कारवाहीमा पर्ने बताएका छन् ।

अध्यक्ष बस्नेतको नेतृत्वमा गोपाल बुढाथोकी, ठाकुरप्रसाद बेल्वासे, कार्यालयका मुख्य अधिकृत झवीन्द्र भुसाललगायतको टोलीले भक्तपुरबाट प्रकाशित हुने पत्रपत्रिकाको अनुगमन गर्दै प्रकाशक तथा सम्पादकसँगको अन्तक्र्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा सम्पादकले आफ्ना पत्रिका हुबहु परेकाबारेमा राखेको जिज्ञासालाई मेट्दै उनले कुनै पनि समाचार कपी पेष्ट गर्ने परम्परा अहिले बढेकाले त्यसलाई रोक्न आग्रह गरे ।

अध्यक्ष बस्नेतले भने, “राससको समाचार धेरैले कपी गर्ने गरेका छन्, राससका ग्राहक बनेका पत्रिकाले पनि राससको समाचार लिँदा क्रेडिट नदिई समाचार राख्ने गरेको पाइएको छ, यो गलत हो, राससका ग्राहक नभएकाले पनि कपी पेष्ट गर्ने गरेको पाइएको छ, त्यस्तो समाचार हुबहुमा पर्छ, त्यसैले राससको ग्राहक बनेर समाचार दिँदा राससलाई क्रेडिट दिनुस्, हुबहुमा पर्दैन ।”

रासस र अन्य समाचार एजेन्सीको समाचार लिँदा क्रेडिट नदिई प्रकाशित गर्दा र अन्य सञ्चारमाध्यमका समाचारलाई कपी पेष्ट गर्दा हुबहुमा पर्ने गरेको पाइएको भन्दै उनले क्रेडिट नदिने र कपी पेष्ट भएका समाचार छापिँदा कारवाहीस्वरुप हुबहुमा परेको उनको भनाइ थियो ।

अध्यक्ष बस्नेतले स्थानीयस्तरमा प्रकाशित पत्रिकाले खोजी समाचार, आफ्नै मौलिक समाचार प्रकाशित गर्नु आजको आवश्यकता रहेको औँल्याउँदै पत्रिका वर्गीकरणमा विवरण भर्दा हामी आफैँले आफैँलाई ढाँट्ने गरेको बताए ।

अहिलेको समयमा छापा सञ्चारमाध्यम जोगाउन मुश्किल परेको भन्दै उनले अनलाइनमा हिजो आएका समाचारलाई आज पत्रिकामा छाप्नुभन्दा नयाँ खोजी गर्नुपर्ने, पत्रकारिताको धार परिवर्तन गर्नुपर्ने, परिवर्तन र समृद्धिका विषय समाचारमा समेट्दै जानुपर्ने बताए ।

नयाँपुस्तालाई पत्रकारितामा ल्याउन नसक्नु, अध्ययन, तालिम कम हुनु, पत्रकारिताको मर्यादा र आचारसंहितालाई ख्याल नगर्नु समस्या रहेको भन्दै उनले स्थानीय विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई नै दिनुपर्ने गरी नेपाल पत्रकार महासङ्घले आवाज उठाउनुपर्नेमा जोड दिए ।

खरिद ऐनमा स्थानीय विज्ञापनपछि राष्ट्रिय दैनिक पत्रिकामा दिनुपर्ने ऐनले स्थानीय पत्रपत्रिका मारमा परेको भन्दै अध्यक्ष बस्नेतले ऐन संशोधनका लागि काउन्सिलले पनि आवाज उठाउने बताए ।

कार्यक्रममा काउन्सिलका बोर्ड सदस्य गोपाल बुढाथोकीले पत्रपत्रिकाले समाचारभन्दा धेरै विज्ञापन छाप्दा वर्गीकरणमा नम्बर घट्ने गरेको भन्दै वर्गीकरणका नियम पालना गरे समस्या नआउने बताए ।

उनले लोक कल्याणकारी विज्ञापनको भुक्तानीमा १० प्रतिशत कर काट्नु गलत भएको बताउँदै यसलाई सच्याउन पत्रकार महासङ्घले आवाज उठाउनुपर्नेमा जोड दिए । अहिले कागजको मूल्य अत्यधिक बढेको र पत्रपत्रिका बचाउनै गाह्रो भएको अवस्थामा सरकारले १० प्रतिशत काट्ने काम बन्द गर्नुपर्ने आँैल्याए ।

काउन्सिलका अर्का बोर्ड सदस्य ठाकुरप्रसाद बेल्वासेले लोककल्याणकारी विज्ञापनका रूपमा दिँदै आएको अनुदानलाई रोकेर कागज खरिदमा अनुदान दिनसके पत्रिका प्रकाशनमा राहत मिल्ने बताए । यसका लागि सबैले आवाज उठाउनुपर्नेमा जोड दिँदै उनले स्थानीय विज्ञापन स्थानीय पत्रिकामै रोकिनु पर्नेगरी ऐन संशोधन गर्नसके पत्रपत्रिका बाँच्नसक्ने उनले बताए। यसका लागि पत्रकार महासङ्घ स्थानीय सरकारसँग पनि लड्नुपर्नेमा उनले जोड दिए ।

त्यस अवसरमा काउन्सिलका अधिकृत झवीन्द्र भुसालले पत्रपत्रिका वर्गीकरणका आधारबारे प्रकाशक तथा सम्पादकलाई जानकारी गराएका थिए । भक्तपुर जिल्लाबाट प्रकाशित हुने दैनिक, साप्ताहिक र मासिक पत्रिकाका प्रकाशक तथा सम्पादकले पत्रपत्रिका वर्गीकरणमा भएको विभेदको अन्त्य हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा काउन्सिलका अध्यक्ष बस्नेतले नेपाल पत्रकार महासङ्घ भक्तपुरका कार्यवाहक अध्यक्ष सुन्दर शिल्पकारलाई प्रेस काउन्सिलको आचारसंहिता एवं पत्रकार र सञ्चारमाध्यमले के के गर्नु हुँदैन भन्नेबारेमा उल्लेख गरिएको बोर्ड हस्तान्तरण गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.