धार्मिक तथा पर्यटकिय स्थल मनकामना मन्दिर {फोटो फिचर}

डिसी नेपाल
२ साउन २०७९ १५:००

काठमाडौं । गोरखा जिल्लामा अवस्थित मनकामना मन्दिर नेपालको एक महत्वपुर्ण धार्मिक तथा पर्यटकिय स्थल हो । आफ्नो मनले चिताएको मनोकामना अर्थात मनको ईच्छा पूरा गर्ने भगवती देवी भएकोले यो मन्दिरको नाम मनकामना रहन गएको हो भन्ने जनविश्वास रहिआएको छ ।

मनकामना मन्दिर, गोरखा जिल्लाको सदरमुकामबाट दक्षिणपुर्वी भागमा अवस्थीत छ । यो मन्दिर गोर्खाको सदरमुकामको पोखरीथोक बजारबाट १२ किलोमिटर दक्षिण, तनहुँको आबुखैरेनी देखि ५ किलोमिटर पूर्व र चितवनको मुग्लिनबाट २६ किलोमिटर उत्तरमा अवस्थित छ ।

समुद्री सतहदेखि १३०३ मिटरको उचाईमा अवस्थित यो मन्दिरको परिसरबाट दक्षिणतीर महाभारत लेक र छिम्केश्वरी डाँडाका साथै उत्तरी भागमा अन्नपुर्ण हिमाल र मनास्लु हिमालका चुचुराहरु देख्न सकिन्छ । मन्दिर प्रांगणबाट बिहान बेलुकी दुवै समयमा सुर्यादय सुर्यास्तको मनमोहक दृष्य पनि यहाँबाट देख्न सकिन्छ ।

किंवदन्तीअनुसार मनकामना मन्दिर १७ औं शताब्दीमा राजा राम शाहकी रानी लिलावती अवतारी थिईन भन्ने कथन छ । लखन थापा रानी लिलावतीका अति नजिकका भक्त थिए । एकपल्ट राजा रामशाहले गोरखाको उपल्लो कोट दरवारमा आफ्नी रानी र लखन थापालाई आफ्नो सिंहासनमा एकैसाथ देखेछन् ।

त्यसपछि राजा अचानक बिरामी भई उनको मृत्यु भयो । उनको अन्त्येष्टि मस्र्याङदी नदीको–दरौदी दोभान राम शाह घाटमा गरियो । त्यसवेलाको चलन अनुसार रानी लिलावती पनि राजा रामशाहसँगै सती गएकी थिइन् ।

यता, भक्त लखन थापा भने रानीको शोकमा शोकाकुल भई विलाप गर्दा रुन कराउन थाले । एक दिन उसको सपनामा आई रानीले, “तिम्रो ईच्छा पूरा गर्न तिम्रै गाउँको एकछेउमा फेरी प्रकट हुनेछु,” भनेर भनिन् रे । त्यसको सात महिनापछि हाल मनकामना रहेको ठाउँमा त्यहाँका एक व्यक्तिले गोरु जोत्दा हलो अडकी त्यसबाट दुध र रगत बग्न थालेछ । दृव्यदृष्टि भएका लखन थापाले तान्त्रिक विधिद्धारा पूजा गरेपछि रगत बग्न रोकिएको र सोही थलोमा देवीको मन्दिर स्थापना गरियो ।

सो घटनापछि गोरखाका राजाले मनकामना माईको सेवा गर्न लखन थापा र उनका दरसन्तानलाई पुजारी नियुक्ति गरि नित्य पूजा चलाउन जग्गा गुठी र विर्ता लालमोहर लगाई दिएका थिए । मनकामना माईको हालको पुजारी लखन थापाको सत्रौ पुस्ताका सन्तान हुन् ।

यो मन्दिर परिसरमा १५ भन्दा बढी देवी देउताहरुको मन्दिरहरु रहेका छन् । ती मध्येको एउटा हो, वंकेश्वरी मन्दिर । यो मन्दिर मनकामना मन्दिरको पुर्वपट्टी अवस्थित छ जहाँ वाक्य फुट्न नसकेका वा लुला लङगडा बालबालिकालाई दर्शन गराएमा वालवालिकाको बोली फुट्ने र हातखुट्टा चल्ने जनविश्वास रहि आएको छ ।

मनकामनाको दर्शनले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास भएकाले यहाँ दर्शन गर्ने भक्तजनको वर्ष भरि नै भिड लाग्ने गर्दछ । विषेश गरेर दशैंमा पूजा गर्न आउनेहरूको यहाँ ठूलो भीड लाग्छ। यहाँ प्रत्येक अष्टमीका दिन बलि चढाइन्छ।

पृथ्वीनारायण शाहको खस र मगर सेनाहरूले लिम्बुवानी सेनालाई हराएपछि यहिं आएर लखन थापा मगरले देविलाई बलि भेट गरेको भन्ने कथन छ । मानिसहरु यो भगवती मन्दिरलाई सम्झी आफुले चिताएको काम पूरा होस् भनि भाकल गर्दछन् । आफ्नो भाकल चढाउन मन्दिरमा हजारौं भक्तजनहरु पूजा गर्न, बली चढाउन, परेवा उडाउन वर्षेनी यहाँ पुग्ने गर्दछन् ।

केबुलकारबाट ११ मिनेटमै मनकामना पुग्न सकिन्छ। पैदल यात्रा गर्न रुचाउनेहरू आबुखैरेनीबाट ४ घन्टाको उकालो हिँडेर मनकामना पुग्छन्। मन्दिरमा नित्य पूजा विहान ७ वजेदेखि साँझ ६ बजेसम्म गरिन्छ । साँझको आरती पनि निकै मनमोहक हुने गर्दछ। भित्री पूजा सकेर पुजारीले मन्दिर परिक्रमा गरिसकेपछि मात्र सर्वसाधरणहरुको लागि वलि र पूजा शुरु हुन्छ ।

मन्दिर परिसरमा रहेको यो भिमकाय चाँपको रुखबारे कसैले पनि हेक्का राख्दैनन् र सोध्दैनन् पनि । तर मनकामना मन्दिर अगाडी रहेको यो चाँपको रुख करिव ४०० वर्ष भएको स्थानियबासीहरु बताउँछन् । पहेलो फुल फुल्ने यो चाँपको रुख उमेरका कारण बोक्राहरु चाउरिदै गए जस्तो देखिन्छ ।

स्थानियबासीहरुका अनुसार चाँपको यस रुखबाट कडा वासना आउँछ । जुन वासना लम्जुङसम्म पुग्छ भनिन्छ । उनीहरुका अनुसार हुरी बतास अउँदा धेरैपटक रुखका हाँगाहरु भाँच्चिए तर अहिलेसम्म मानविय तथा भौतिक नोक्सानी भएको छैन । त्यसैले यो रुखमा पनि भगवती देवीको वास भएको मानिन्छ ।

हेर्नुहोस् भिडियो: 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *