एकता केन्द्रबाट सँगै, माओवादीबाट अलग, फेरि समाजवादी केन्द्रबाट एक हुँदै

शरद रिजाल
७ साउन २०७९ ८:५०

काठमाडौं। विगत सात वर्षदेखि अलग रहेका पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई राजनीतिक पुनर्मिनलको सन्निकट पुगेका छन्। संबिधान निर्माणसँगै अलग भएका उनीहरु पछिल्लो समय समाजवादी केन्द्र गठनको तयारीसँगै नजिकिएका हुन्।

स्रोतले दिएको जानकारी अनुसार समाजवादी केन्द्र गठनको तयारी तीब्र पारिएको छ। बाबुराम माओवादीमा नफर्कने पूर्ववत् अडानमा यथावत रहेकाले पार्टीको नाम परिवर्तन गरि एकता गर्ने तयारी गरिएको हो। पार्टीको नामसमाजवादी केन्द्र राख्ने गरि तयारी भइरहेको छ। समाजवादी केन्द्र गठनको तयारीसँगै लामो समय सहयात्रा गरेर अलग भएका यी दुबैको पुनर्मिलनको संभावना बढेर गएको हो।

जनयुद्धकालका सहकर्मी समेत रहेका यी दुबैको सम्बन्ध विगतदेखि नै कहिले सुमधुर त कहिले कटुतापूर्ण हुँदै आएको देखिन्छ। २०४८ सालमा एकता केन्द्र बाट सहयात्रा सुरु गरेका उनीहरु २०७२ को संबिधान जारी भएको करिब एक साता बित्न नपाउँदै माओवादीका उपाध्यक्षसमेत रहेका भट्टराईले  सो पार्टी परित्याग गरेका थिए।

लामो समयदेखि आन्तरिक छलफलमा रहेका पूर्वसहकर्मी भट्टराई र प्रचण्ड अन्तत समाजवादी केन्द्र गठन गर्ने सहमतिमा पुगेको बताइएको छ। माओवादी केन्द्रका एक नेताका अनुसार सहमति नजिक पुगिसकेको र केही दिनभित्र संयोजन समिति गठन गरि एकताको प्रक्रियालाई निरन्तरता दिने तयारीमा छन्।

लामो समयको सहकार्य गरेका माओवादी जनयुद्धका मुल पात्रहरु अलग भएको सात वर्षपछि एक हुने तयारीमा लागेका छन्। २०७२ असोज १० गते संबिधान बनेको एक सातापछि पत्रकार सम्मेलन गरि माओवादी परित्याग गरेका भट्टराईले पार्टी मात्रै परित्याग गरेनन्,  कम्युनिष्ट सिद्धान्त नै असान्दर्भिक भएको भन्दै कम्युनिष्ट आन्दोलनबाटै अलग भएका थिए।

उनले कमयुनिष्ट सिद्धान्त वर्तमान समयमा असान्दर्भिक भएको भन्दै वाम लोकतान्त्रिक चरित्रको नयाँ शक्ति नामक पार्टी २०७३ जेठ ३० गते गठन गरेका थिए। बाबुरामको उक्त निर्णयसँगै २५ वर्षे लामो प्रचण्ड बाबुरामको सहकार्यमा पूर्णविराम लागेको हो।

यस्तो छ सहयात्रा

२०४८ सालमा प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा (मशाल), रुपलाल बिश्वकर्माको सर्वहारावादी श्रमिक संगठन, निर्मल लामाको नेकपा (चौम) बीच पार्टी एकता गरि नेकपा (एकताकेन्द्र) गठन गरियो। यसैमा मोहन बिक्रम सिंहको मसालबाट बिद्रोह गरि हरिवोल गजुरेलको नेतृत्वमा बाबुराम भट्टराईसहित नेकपा (एकता केन्द्र) मा समाहित भएका थिए।

२०५१ सालमा जनयुद्धको विषयलाई लिएर पार्टी भित्र आन्तरिक बिबाद बढ्दै जाँदा निर्मल लामा समूह अलग भयो र प्रचण्ड बाबुराम, मोहन बैद्यलगायतको नेतृत्वमा नेकपा (माओवादी) गठन गरि जनयुद्धमा जाने निर्णय भयो। जनयुद्ध सुरु भएसँगै पार्टीमा बाबुराम शिर्षतहकै नेतृत्वमा रहेका थिए। त्यस बखत प्रचण्ड भन्दा बाबुरामको चर्चा सर्बत्र हुन्थ्यो। प्रचण्ड भन्दा बाबुराम राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित थिए ।

जनयुद्धको क्रममा समेत बाबुराम प्रचण्डको सम्बन्ध कहिले सुमधुर त कहिले तिक्ततापूर्ण रहँदै आएको थियो। बाबुरामकै लाइन अनुरुप चुनवाङ हुँदै माओवादी शान्तीप्रक्रियामा आएको हो।

२०४८ सालमा एकता केन्द्र गठन भएसँगै २५ वर्ष सहयात्रा गरेका उनीहरु जनयुद्धको धेरै दिनहरुमा सँगसँगै थिए। जनयुद्धको तयारी देखि त्यसको उत्कर्समासँगै रहेका उनीहरु शान्तीप्रक्रिया सुरु भएर संविधान निर्माण भएपछि अलग भएका हुन्।

उतार चढावपूर्ण सम्बन्ध

जनयुद्ध सुरुहुनु पूर्व बाबुराम पार्टीको बैधानिक मोर्चाको रुपमा रहेको संयुक्त जनमोर्चाको अध्यक्ष रहेका थिए। उक्त मोर्चाको नेतृत्व गरेका भट्टराईले नै २०५२ सालमा तत्कालीन प्रधानमन्त्री रहेका हालका प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदे माग पेश गरेका हुन्। एकता केन्द्रका महासचिव रहेका प्रचण्डले जनमोर्चाको नेतृत्वमा रहेका भट्टराईलाई हटाइ पम्फा भुसाल (हालकी उर्जा मन्त्री)लाई केही समय अध्यक्ष बनाएका थिए।

बाबुरामको बढ्दो लाकप्रियता र चर्चाकै कारणले त्यतिबेला उनलाई हटाएर पम्फलाई अध्यक्ष बनाइएको आज पनि माओवादीमा चर्चा हुने गर्दछ । त्यहीबाट उनीहरुको सम्बन्धमा उतार चढावपूर्ण आयाम सुरु भएको बताइन्छ। देउवालाई ४० बुँदे ज्ञापन पत्र बुझाएको एक महिना नपुग्दै माओवादीले सशस्त्र युद्ध सुरु गरेको थियो।

जनयुद्ध सुरु गरिसकेपश्चचात पनि बाबुरामलाई शहरिया बौद्धिक वर्गकोरुपमा चित्रित गर्दै उनलाई लामो समय आन्दोलनमा नटिक्ने भन्दै अपमानजनक ब्यबहार गर्ने गरिन्थ्यो।

जनयुद्धको उत्कर्सको चरणमा समेत उनको अध्यक्ष प्रचण्डसँग अन्तरविरोध बढ्दै गयो र उनलाई कारबाही समेत भयो। जनयुद्धकालमा भट्टराई माओवादीले सञ्चालन गरेको समानान्तर सरकार संयुक्त क्रान्तिकारी जनपरिषद नेपालको प्रमुखको भुमिकामा थिए। २०५५ मा भएको पार्टीको दाश्रो राष्ट्रिय सम्मेलनदेखि नै उनको प्रचण्डसँग गम्भीर अन्तरबिरोध सुरु भएको हो।

त्यसपछि २०६१ मा पार्टी भित्रको तीब्र अन्तरसंघर्षमा लोकतान्त्रिक गणतन्त्रको पक्षमा उनले आफ्नो अडान कायम राखे भने प्रचण्डले राजासँग मिलेर तत्कालीन दलबिरुद्ध लाग्ने प्रचण्डको योजना थियो यसको विपरीत उनी लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिए र सात दलसँग मिलेर राजाको बिरुद्धमा लाग्नुपर्ने बताउँदा कारबाहीको भागीदार समेत बन्नुपर्‍याे।

अन्ततः२०६२ मा बाबुरामको एजेण्डा अनुरुप प्रचण्ड चुनवाङ बैठकमार्फत लोकतान्त्रिक गणतन्त्रमा आउन पुगेका थिए। यसरी पार्टीमा उनको र प्रचण्डको सम्बन्ध प्रायजसो उतार चढावपूर्ण रह्यो।

चुनवाङ बैठकमा मोहन बैद्य सहभागी थिएनन्। उनी त्यो समयमा भारतमा गिरफ्तार परेका थिए। रिहा भएलगत्तै उनले चुनवाङको बिषयमा असहमति जारी गरे र पार्टीमा अन्तरसंघर्स सुरु भयो।

२०६३ मंसिर ५ गते बिस्तृृत शान्ति सम्झौतामा सरकार र बिद्रोही माओवादीले हस्ताक्षर गरुञ्जेलसम्म सुमधुर सम्बन्ध रहेका उनीहरुको पार्टीमा अर्का नेता मोहन बैद्य पक्षसँग चरम बिबाद हुँदासम्म सँगै थिए।

पार्टीमा मोहन बैद्यसँग चरम अन्तरविरोधको समयमा सँगै रहेका उनीहरु बैद्यले २०६९ सालमा पार्टी बिभाजन गरेर प्रचण्डसँग बाहिरिए त्यसको ४ वर्षपछि २०७२ असोज १०गते बाबुरामले पनि प्रचण्डको साथ छोडेका थिए।

कम्युनिष्ट सिद्धान्त त्यागेसँगै राजनीतिक संकटमा

माओवादीमा बौद्धिक र दूरदर्शी नेता भनेर चिनिएका भट्टराई कम्युनिष्ट पार्टी परित्याग गरेर नयाँ दृष्टिकोणसहितको समुन्नत समाजवादको लक्ष्य अनुरुपको अवधारणासहित वाम लोकतान्त्रिक पार्टी नयाँ शक्ति गठन गरेदेखिनै उनको बिश्वसनियता क्रमश हराउँदै गएको थियाे।

लामो समयदेखि कम्युनिष्ट आनदोलनमा लागेका भट्टराई जीवनको उत्तराद्र्धमा कम्युनिष्ट बिचारधारा नै परित्याग गर्दा उनीमाथि राजनैतिक बिश्वसनीयताको संकट पैदा भएको उनी निकट रहेर माओवादीमा काम गरेका नेताहरु बताउँछन्।

समाजवाद हुँदै साम्यवादको आश्वासनमा लाखौं युवाहरुलाई प्रशिक्षित गरेर जनयुद्ध मार्फत जनवादी क्रान्ति सम्पन्न गर्ने सपना बाँडेका भट्टराई अन्तिममा आफैं कम्युनिष्ट पार्टी परित्याग गर्दै कम्युनिष्ट बिचारधारा र सिद्धान्तलाई असान्दर्भिक भन्नु उनको बिगतमा आफूले गरेको योगदानको आफैले अवमुल्ययन गरेको माओवादीमा उनी निकट रहेर काम गरेका एक नेताले बताए। उनले कम्युनिष्ट पार्टी परितयाग गर्नु नै उनको अस्थिरताको मुलकारण भएको ती नेताको बुझाइ छ।

एकता केन्द्रले जुटायो , माओवादीले छुटायो, अब समाजवादी केन्द्रले जोड्दै

लामो समय सँगै भएका प्रचण्ड बाबुराम २०७२को संबिधान जारी भएसँगै अलग भएका हुन्। बाबुरामले नयाँशक्तिदेखि जसपा हुँदै यहासम्म आउदा उनको पार्टीले उल्लेख्य प्रगति गर्न सकेन। जसपाका अध्यक्ष उपेन्द्र यादवले बाबुरामसहित ९ जना केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई कारबाही गरेसँगै पार्टीविहीन भएका भट्टराईलाई उनका पुराना सहकर्मी प्रचण्डसँगै पार्टी एकताको तयारीमा लागेका हुन्।

बाबुरामले प्रचण्डलाई कम्युनिष्ट पार्टी हटाउन आग्रह गरेता पनि बहुसंख्यक नेता कार्यकर्ताले बिरोध गर्ने हुँदा प्रचण्ड तयार भएका छैनन्। उनी माओवादी केन्द्रको सट्टामा समाजवादी केन्द्र राख्न भने सहमत भएको स्रोतले जनाएको छ।

माओवादी केन्द्रका एक नेताका अनुसार बाबुराम कम्युनिष्ट पार्टीमा फर्कने मनस्थितिमा नरहेको हुँदा समाजवादी केन्द्र बनाएर एकता गर्नलागिएको हो। कम्युनिष्ट पार्टीको राज्य नियन्त्रित समाजवाद असफल भएको बताउँदै कम्युनिष्ट पार्टी नै त्यागेका भट्टराईलाई कम्युनिष्ट पार्टीमै फर्कन असहज भएको हुँदा समाजवादी केन्द्र गठन गरि सहजता प्रदान गरिएको माओवादी स्रोतको दाबी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *