पूर्वमन्त्री बाँस्कोटाको आत्मकथा ‘निष्ठाको यात्रा’ सार्वजनिक
काठमाडौं । पूर्वगृहराज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपकप्रकाश बाँस्कोटाको आत्मकथा ‘निष्ठाको यात्रा’ सार्वजनिक भएको छ ।बाँस्कोटाको जीवनका विभिन्न पाटा समेटिएको पुस्तक आज कांग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङ, कांग्रेस केन्द्रीय सदस्य डा शेखर कोइराला, नेता अर्जुननरसिंह केसीलगायतले सार्वजनिक गरेका हुन् । ।
बुक्स राइटिङ नेपालले प्रकाशन गरेको सो पुस्तक २१२ पृष्ठको छ । पुस्तकमा बाँस्कोटाको राजनीतिक, सहकारी, अग्र्यानिक कृषि र वैदिक नेपाल निर्माणका लागि उहाँले गर्नुभएका कामको चर्चा गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले बाँस्कोटा राजनीतिमा नैतिकता हुने सीमित व्यक्तिमध्येमा पर्ने बताए। नेपाल श्रीलङ्काको अवस्थामा नपुग्ने उल्लेख गर्दै उनले समृद्ध नेपाल निर्माणका लागि दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मुल र सुशासन स्थापना गर्नुपर्नेमा जोड दिए। राजनीति गर्नेले देशलाई पहिलो प्राथमिकतामा राखेर सोच्नुपर्ने उनको भनाइ थियो ।
पूर्वमहामन्त्री गुरुङले कालिम्पोङ घुमेर बाँस्कोटाले सहकारीका माध्यमबाट अग्र्यानिक चिया उद्योग स्थापना गर्नुभएको सुनाए । कांग्रेस नेता केसीले बाँस्कोटाले सहकारी क्षेत्रमा गर्नुभएको योगदानको चर्चा गरे । वैदिक संस्कारलाई व्यवहारमा उतार्न हुने गरेका कमीकमजोरी खोजेर त्यसको अन्त्य गरिनुपर्ने उनको भनाइ थियो ।
राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले विसं २०४८ मा सहकारी ऐन ल्याउन बाँस्कोटाको ठूलो भूमिका रहेको बताए । विसं २०७२ को संविधानमा तीन खम्बे अर्थनीतिमा सहकारीसमेत जोडिने गरी अभियान चलाउन पनि बाँस्कोटाले योगदान गरेको उनको भनाइ थियो । पुस्तकका बारेमा समीक्षा गर्दै प्रा डा कुमार कोइरालाले बास्कोटाको पुस्तक अध्ययनबाट अध्यात्म र भौतिकता दुवैको समन्वयात्मक अभ्यास गरेर जीवन सार्थक बनाउन सकेको बताए । विसं २०५६ मा चुनाव लड्दिन भनी गिरिजाप्रसाद कोइरालासँग स्पष्ट कुरा राख्नुले उनको निष्ठा प्रष्ट हुने कोइरालाको भनाइ थियो ।
कार्यक्रममा लेखक बास्कोटाले निष्ठाको यात्रा अझै नसकिएको उल्लेख गर्दै वैदिक नेपाल निर्माण अभियानमा आफू लागेको बताए । पश्चिमी जगत्समेत वैदिक दर्शनमा आकर्षित भएको देखेर नेपाललाई वैदिक देशका रुपमा पुनस्र्थापित गर्न आफू लागेको उनको भनाइ थियो । कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा डा कुलप्रसाद कोइराला, विश्व शान्ति राष्टम्का अन्तर्राष्ट्रिय निर्देशक किङ्स्ले ब्रुक्स, ध्यान शिक्षक भरतराज पौडेललगायतले नेपाललाई वैदिक देश बनाउन सबैको सहयोग आवश्यक रहेकामा जोड दिएका थिए ।







डिसी नेपाल








Facebook Comment