बारपाक सुलिकोटको भवनमा पाँच करोड लगानी ‘बालुवामा पानी’, नसर्दै भत्किन सुरु

डिसी नेपाल
१३ साउन २०७९ ९:३९
748
Shares

गोरखा। गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएर नसर्दै भत्किन थालेको छ। निर्माण सम्पन्न भएको भन्दै पालिकाले लाखौँ रुपैयाँ खर्च गरेर तामझामका साथ उद्घाटन गरे पनि नसर्दै भवन भत्किन थालेको हो।

गत १२ चैतमा निर्माण सम्पन्न भएको भन्दै गाउँपालिकाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख अतिथिको रूपमा बोलाएर तामझामका साथ भवन उद्घाटन गरेको थियो। गण्डकी प्रदेश सरकार, जिल्ला समन्वय समिति र बारपाक सुलिकोट गाउँपालिकाको साझेदारीमा पाँच करोड १० लाख रुपैयाँको लागतमा भवन निर्माण भएको हो। पालिकाले करोडौं रुपैँया लागतमा निर्माण गरेको भवनमा सरेर कार्य सम्पादन सुरु गरिसकेको छैन्।

तर, पालिकाको भवनको दोस्रो तल्लामा चर्किएर पानी छिर्न थालेको छ। छिरेको पानीले भवनभित्रको कोठा तालिएको छ। चर्किएको ठाउँबाट अत्याधिक पानी छिर्न थालेपछि गाउँपालिकाले भित्रबाट पलाष्टिक र बाहिरबाट हरियो कपडाले ओत दिएको छ। यस्तै पिल्लर र ढलान पनि चर्किन थालेको छ। भुइँ तला दबिन थालेको छ।

‘टाढाबाट हेर्दा मात्रै चिटिक्क हो। भित्र पानी बसेर कोठाभित्रै ताल छ। भुइँ तला पनि केही इन्च दबिएको छ। पिल्लर र भित्ताहरु पनि चर्किन सुरु भइसक्यो। कमिसन नखाई, भ्रष्टाचार नगरी, गुणस्तरीय काम गरेको भए बनिसकेको केही महिना नपुग्दै यस्तो हुन्थ्यो र ?’, नाम नबताउने सर्तमा पालिकाका एक प्रतिनिधिले भने।

प्रशासकीय भवनका लागि करोडौं रुपैयाँ खर्च गरे पनि हालसम्म गाउँपालिकाले भाडाको घरबाट सेवा दिइरहेको छ। करोडौंको लागतमा भवन निर्माण गरे पनि प्रयोग गर्न नपाएपछि गाउँपालिकाको लगानी ‘बालुवामा पानी’ जस्तै भएको छ।

कर्मचारीहरु ज्यान जोखिममा राखेर जीर्ण भवनमा सरेर सेवा दिन नसकिने बताउँछन्। भवन निर्माणका लागि नवकान्तिपुर कन्स्ट्रक्सन कम्पनी प्रालिले जिम्मा लिएको थियो। प्रचण्ड भवन उद्घाटन गर्न माउन्टेन एयरको हेलिकप्टरबाट गोरखा आएका थिए। प्रचण्ड सँगसँगै माओवादीका नेता नारायणकाजी श्रेष्ठ, सांसद हरिराज अधिकारी, लगायत जिल्लास्तरीय नेताहरु उपस्थित थिए। पालिकाको भवन उद्घाटनमा आए पनि प्रचण्डले स्थानीय निर्वाचन केन्द्रित हुन भन्दै मन्चबाटै कार्यकर्तालाई निर्देशन दिएका थिए। भवन उद्घाटन गर्ने वाहानामा पार्टीका नेताहरुलाई ल्याएर चुनाव लक्षित कार्यक्रम गरेको भन्दै चर्को आलोचना पनि भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.