साउन मसान्तभित्रै कांग्रेसका भ्रातृ संस्थाले पूर्णता पाउनेमा संशय

सम्भव सिंह ठकुरी
२७ साउन २०७९ १२:२०

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको भातृसंस्थाहरुले साउन मसान्तभित्रै पूर्णता पाउनेमा संशय उत्पन्न भएको छ। समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाको केन्द्रीय समिति भंग गरेर गत फागुन मसान्तभित्रै तदर्थ समिति बनाउने निर्णय कार्यान्वयन नभएपछि कांग्रेसको गत असारमा बसेको केन्द्रीय समिति बैठकले साउन मसान्तसम्म ल्याउने भाखा तोकेको थियो।

तर साउन सकिन अब तीन दिन बाँकी रहँदासम्म पनि प्रयाप्त तयारी नहुँदा यही महिनाभित्रै पूर्णता पाउनेमा संशय उत्पन्न भएको हो। लामो समयसम्म महाधिवेशन गर्न नसकेका कांग्रेसको १० भ्रातृ संस्थाको केन्द्रीय कार्यसमितिलाई गत फागुनको पहिलो साता बसेको कांग्रेस केन्द्रीय समितिले भंग गरेको थियो। त्यतिबेला पार्टीभित्र छलफल गरेर फागुन मसान्तभित्र ती भ्रातृसंस्थाको कार्यसमितिलाई पूर्णता दिने अधिकार सभापति शेरबहादुर देउवालाई दिइएको थियो।

त्यसपछि सभापति देउवाले चैत ९ मा नेपाल विद्यार्थी संघ( नेविसंघ) को अध्यक्षमा दुजाङ शेर्पा र नेपाल तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई मनोनित गरेका थिए।
त्यसपछि असार १० मा नेपाल किसान संघमा गणेश तिमिल्सिना,नेपाल आदिवासी जनजाति संघमा ओमबहादुर घर्तीमगर र हिजोमात्र (बिहीवार साँझ) नेपाल महिला संघको अध्यक्षमा उषा राउत मिश्रलाई मनोनित गरेका थिए।

नेपाल प्रजातन्त्र सेनानी संघ, लोकतान्त्रिक अपांग संघ, तामाङ संघ, ठाकुर समाज र भूतपूर्व सैनिक संघको त तदर्थ समिति पनि बन्न सकेको छैन। नेपाल दलित संघले पनि आवधिक अधिवेशन गर्न सकेको छैन तर कार्यसमिति भने भंग गरिएको छैन। २०७२ सालमै दलित संघमा मीन विश्वकर्माको कार्यकाल सकिएको थियो। तर उनले महाधिवेशन गराउन सकेका छैनन्।

यसरी अस्तव्यस्त रुपमा चलेको भ्रातृसंस्था र अपूर्ण नेतृत्वको जिम्मेवारी दिएर नेतृत्वले गल्ती गरेको भन्दै केही विद्यार्थीहरु त प्रदर्शन पनि गर्दै आएका छन्।
कांग्रेसको नर्सरीको रुपमा मानिएको र प्रमुख भातृसंस्था नेविसंघ र तरुण दलले पूर्णता नपाउँदा यतीबेला पार्टी नेतृत्वलाई दवाब दिनका लागि विद्यार्थीहरुले छुट्टै भेला र प्रदर्शन पनि गर्दै आएका छन्।

यही साउन २३ गते डा.शेखर कोइराला पक्षका विद्यार्थीहरुले पार्टीको मुख्यालयमा धर्ना दिएका थिए। भ्रातृसंस्थाको विस्तारलाई पूर्णता दिनुपर्ने मागसहित नेता कोइराला पक्षका विद्यार्थीहरुले धर्ना,प्रदर्शन र भेला राख्दै आएका छन्।

त्यस्तै नेविसंघ कार्यसमितिको पूर्णताको माग राख्दै नेविसंघका पूर्वकेन्द्रीय सदस्यहरुले बिहीवार काठमाडौंको बाल्मीकी क्याम्पसमा सामूहिक छलफलको कार्यक्रम पनि राखेको थियो। सो कार्यक्रममा धारणा राख्ने सबै विद्यार्थी नेताहरुले नेविसंघ र अन्य भातृसंस्थाको पूर्णताको विषयमा नेतृत्व गम्भिर हुनुपर्ने भनाइ राखेका थिए।

असारमा बसेको केन्द्रीय समितिको निर्णय के थियो ?

सभापति देउवाले निर्धारित समयमा भ्रातृ संस्थालाई पूर्णता दिन नसकेपछि केन्द्रीय समितिले कार्यभार लिएको थियो। कांग्रेसको निर्णयमा भनिएको छ, ‘अवधि समाप्त भएर गठन हुन बाँकी रहेका र पूर्णता प्राप्त नगरेका पार्टी आवद्ध भ्रातृ संस्थालाई यही २०७९ श्रावण मसान्तभित्र गठन र पूर्णता प्रदान गर्ने।’

तर केन्द्रीय समितिको यो निर्णय कार्यान्वयन नहुनेमा पार्टीका पदाधिकारी नै ढुक्क छैनन्। एक पदाधिकारीका अनुसार भातृसंस्थाले पूर्णता दिने विषयमा पदाधिकारी तहमा प्रयाप्त छलफल नै भएको छैन।

‘सरकारले निर्वाचनको मिति घोषणा गरेपछि अहिले हाम्रो सभापति तथा प्रधानमन्त्रीज्यू अधिकांक्ष समय सरकारको चुनावी विषयमा व्यस्त हुनुहुन्छ। हामीले प्रयाप्त छलफल गर्न पाएका छैनौँ।तर हामी साउन मसान्तसम्म पूर्णता दिन नसकेपनि भदौ पहिलो या दोस्रो सातासम्म ल्याउने तयारी गछौँ,’ ती पदाधिकारीले भने।

कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महत पनि पार्टीले यो विषयमा गम्भिर भएर तयारी गरिरहेको बताउँछन्। महतका अनुसार यो विषयमा विभिन्न जिल्लाको रिर्पोट र पार्टीमा छलफल भइरहेको बताउँछन्।

तर समय कुन समय ठ्याक्कै आउने ठोकुवा भने गर्न नसक्ने बताउँछन्। महत भन्छन् ‘हामीले भरसक यही महिनाभित्रै पूर्णता दिने गरि तयारी गरेको हो। अब तयारी पुग्यो भने यही महिना पूर्णता दिन्छौँ। पुगेन भने केही समय तलमाथि हुनु स्वभाविक हो।’

२०७५ सालदेखि तदर्थको भरमा नेविसंघ

कांग्रेसको नर्सरी मानिएको नेविसंघ विगत ४ वर्ष देखि तदर्थ समितको भरमा चलेको अपूर्ण तदर्थ समिति र नेताको गुटगत स्वार्थका कारण नेविसंघ चलायमान हुन नसकेको भनेर अहिले पार्टी नेतृत्वको आलोचना हुन थालेको छ।

२०७३ सालमा नेविसंघको ११ औँ महाधिवेशन भएयता संगठन तदर्थ समितिको भरमा चलेको छ। ११ औं महाधिवेशनबाट नैनसिंह महर अध्यक्ष र्भपनि उनको दुई वर्षे कार्यकाल थप छ महिना संगठनको नेतृत्व गरे पनि महाधिवेशन गराउन नसकेपछि २०७५ माघमा राजीनामा दिएका थिए।

उनको राजिनमा स्वीकृत भएपछि २०७६ माघ १६ मा सभापति देउवाले राजीव ढुंगानाको नेतृत्वमा तदर्थ समिति गठन गरे । ६ महिनाभित्र निर्वाचन गराउने जिम्मेवारी पाएका उनले २०७८ को फागुनसम्म महाधिवेशन गराउन सकेनन्।

उनको कार्यकाला पनि नेविसंघ अपूर्ण समिति थियो। हाल ढुंगाना पार्टीको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। स्मरण रहोस् पार्टी सभापति तथा प्रधानमन्त्री देउवा,उससभापति धनराज गुरुङ,महामन्त्री विश्वप्रकाश शर्मा,सहमहामन्त्री किशोर सिंह राठोर नेविसंघका पूर्वअध्यक्ष हुन्।

त्यस्तै महामन्त्री गगन थापा,सहमहामन्त्री बद्रि पाण्डे नेविसंघका पूर्वमहामन्त्री हुन्। यसरी पार्टीको सिंगो नेतृत्व नेविसंघको पृष्ठभूमिबाट आएपनि अहिले त्यही नेतृत्वले नेविसंघलाई चलायमान बनाउन नसकेको आरोप छ।

नेविसंघ आर.आर क्याम्पसका अध्यक्ष पुष्कर बास्तोला त सभापति देउवाले राजनीतिक अपराध गरेको बताउँछन्। उनी भन्छन् ‘भ्रातृसंस्था जस्तो प्रत्येक २÷२ वर्षमा अध्यावधिक हुनुपर्ने राजनितिक नर्सरीलाई निकम्मा र अनिर्णय उम्मुख गराउने सभापति शेरबहादुर देउवा राजनितिक अपराधी हुन्।’

तरुण दलको अवस्था पनि उस्तै दयनीय

नेविसंघ पछाडीको कांग्रेसको दोस्रो नर्सरी तरुण दललाई मानिन्छ। तर तरुण दल पनि उस्तै दयनीय अवस्थाबाट गुज्रेको छ। २०७३ सालको पोखरा महाधिवेशनबाट अध्यक्षमा जीतजंग बस्नेत, उपाध्यक्षमा उत्तम चापागाईं, महासचिवमा भूपेन्द्रजंग शाही र कोषाध्यक्ष विद्वान् गुरुङमात्र चयन भएका थिए। तर यो समितिले पनि पूर्णता नपाई भंग हुन पुग्यो।

तरुण दलको विधान अनुसार कार्यसमिति ९५ सदस्यीय हुने भने पनि केही पदाधिकारीको भरमा बस्नेतको नेतृत्व भंग भएको थियो। आवधिक रुपमा २०७५ सालमा महाधिवेशन हुनुपर्नेमा अहिलेसम्म महाधिवेशन गर्न सकेको छैन। हाल तरुण दल एक्लो विद्वान गुरुङको नेतृत्वमा चलेको छ। पूर्वअध्यक्ष बस्नेत भने कांग्रेसको १४ औँ महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *