भारतको आपत्ति र श्रीलंकाको अपिलपछि चिनियाँ जहाज हम्बनटोटा पुगेन
काठमाडौं । श्रीलङ्काको बन्दरगाह प्राधिकरणले शुक्रबार चीनको उच्च प्रविधियुक्त अनुसन्धान जहाज हम्बनटोटा बन्दरगाहमा तालिकाअनुसार नपुगेको जनाएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार श्रीलंका पोर्ट्स अथोरिटी (एसएलपीए) को हार्बर मास्टरले शुक्रबार यो जानकारी दिएको हो। स्थानीय अधिकारीहरुका अनुसार हम्बनटोटाबाट ६०० नटिकल माइल पूर्वमा रहेको उक्त जहाज स्वीकृतिको पर्खाइमा छ ।
चीनको ब्यालेस्टिक मिसाइल र स्याटेलाइट ट्र्याकिङ जहाज ‘युआन वाङ ५’ पहिलो पटक देशको दक्षिणी सहर हम्बनटोटाको बन्दरगाहमा पुग्ने थियो, जहाँ जहाज १७ अगस्टसम्म रहने योजना थियो।
तर, जहाज श्रीलंका पुग्ने भएपछि भारतले आफ्नो सुरक्षा चिन्ता व्यक्त गरेको थियो । त्यसपछि अगस्ट ८ मा श्रीलंकाले चीनलाई यो जहाजको श्रीलंका आगमन स्थगित गर्न अपील गरेको थियो।
यो जहाज जुलाई १४ मा चीनबाट निस्किएको थियो र अहिलेसम्मको यात्रामा कुनै पनि बन्दरगाहमा लंगर टेकेको छैन । यसअघि जुलाई १२ मा श्रीलंकाको विदेश मन्त्रालयले यस जहाजलाई हम्बनटोटा बन्दरगाहमा रोकिन अनुमति दिएको थियो ।







डिसी नेपाल







Facebook Comment