सेनाको भगौडा सिपाहीको नेतृत्वमा काठमाडौंमा डकैती, तीन जना पक्राउ
काठमाडौं । नेपाली सेनाको भगौडा सूचीका एक सिपाहीको नेतृत्वमा काठमाडौंभित्र डकैती हुने गरेको खुलेको छ । सिन्धुपाल्चोकका रामसिंह तामाङको समूहले काठमाडौं उपत्याकाभित्र डकैती गरेको खुलेको हो । तामाङ नेपाली सेनाका भगौडा हुन । उनी यसअघि पनि चोरी डकैती मुद्धामा पक्राउ परी जेल भुक्तान गरेर बाहिर आएपछि पुरानै धन्दामा लागेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले तामाङ समूहका तीन जनालाई पक्राउ गरेको छ ।
कार्यालय प्रवक्ता एसपी कृष्ण कोइरालाका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ७ का ३८ वर्षीय तामाङ, मकवानपुरको बागमती गाउँपालिका ८ फापरबारीका ३८ वर्षीय दिलबहादुर सिङतान र मकवानपुरकै बकैया ५ घर घई हाल काठमाडौंको जोरपाटी बस्ने ३५ वर्षीय सुशिल भन्ने बाबलाल थिङ रहेका छन् । मकवानपुरका सिङतान भने पूर्व लडाकु हुन् । उनीहरुले काठमाडौं उपत्याकाभित्र चोरी डकैती गर्ने गरेको प्रहरीले जनाएको छ ।
एसपी कोइरालाका अनुसार साउन २४ गते राति साढे १२ बजेतिर कीर्तिपुरका नारायण बस्नेतको घरमा पनि उनीहरुले डकैती गरेका थिए । उनीहरुले धारिलो हतियार देखाई सुन तथा हिराका गरगहना समेत डकैती गरेका थिए । प्रहरीले उनीहरुको साथबाट एक लाख ४२ हजार १०५ रुपैयाँ र डकैतीमा प्रयोग गरेको खुकुरी दुई थान, फलामको रड र मोटरसाइकल पनि बरामद गरेको छ । ‘डकैती गर्दा परिवारका सदस्यको हात बाँध्ने, मुखमा टेप लगाइदिने, शुरुमा आफूलाई प्रहरी भएको खानतलासी गर्न खोज्ने त्यसपछि परिवारनै नियन्त्रणमा लिएर डकैती गर्ने गरेको पाइयो’, एसपी कोइरालाले भने ।
एसपी कोइरालाका अनुसार उनीहरुको समूहले गत असार ६ गते राति १ बजे शंखरापुर नगरपालिका ९ खुलालटारमा लालबहादुर थापाको घरमा पनि उनीहरुले नै चोरी गरेको थियो । हातहतियार देखाएर नगद तथा सुनचाँदीका गरगहना गरी २ लाख ४१ हजार रुपैयाँ बराबरको चोरी गरेका थिए । असार ३२ गते शंखरापुर ९ कै सुशीला थापाको घरमा पनि चोरी भएको थियो । त्यहाँबाट पनि उनीहरुले नगद तथा सुनचाँदीका गरगहना गरी ६ लाख ५ हजार ७५० रुपैयाँ बराबरको धनमाल डकैती गरेका थिए ।
असार २० गते राति १ बजेतिर काभ्रेपलान्चोकको बनेपा नगरपालिका ११ स्थित सलामसिंह लामाको घरमा पनि उनीहरुले लुटपाट गरेका थिए । त्यहाँ हतियारसहित पुगेका उनीहरुले नगद तथा गरगहना गरी १२ लाख ४९ हजार बराबरको धनमाल डकैती गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका भगौडा सिपाही समेत रहेका तामाङ २०६८ सालमा ललितपुरमा खुनडाँकाको मुद्दामा पक्राउ परेका थिए । उनी गत पुसमा कैदमुक्त भएका थिए ।
त्यस्तै रामसिंह तामाङ पनि यसअघि पक्राउ परेर कैद भुक्तान पनि छुटेका हुन् । उनीविरुद्ध २०६३ सालमा भक्तपुरबाट मानवबेचविखनको मुद्दामा मुद्दा दायर भएको थियो ।







डिसी नेपाल








Facebook Comment