अपराध नियन्त्रणका लागि प्रहरीले प्रदेशस्तरीय गोष्ठी सञ्चालन गर्दै
काठमाडौं । अपराध नियन्त्रणका लागि नेपाल प्रहरीले प्रदेशस्तरिय गोष्ठी सञ्चालन गरिरहेको छ । प्रविधिको विकाससँगै समाजमा फरक प्रकृतिका अपराधका घटनामा वृद्धि हुन थालेपछि नियन्त्रण तथा रोकथामका लागि नेपाल प्रहरीले आफ्नो सक्रियता बढाउन गोष्ठी सञ्चालन गरेको हो । अपराध नियन्त्रणका लागि देशभर गोष्ठि र सेमिनरहरुको आयोजना गरेर चेतनामुलुक कार्यक्रम गरेर रोकथाम र नियन्त्रणमा सक्रियता देखाएको हो ।
प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको समन्वय तथा प्रदेश प्रहरी कार्यालयको आयोजनामा प्रदेश स्तरीय अपराध अनुसन्धान गोष्ठी सञ्चालन गरिएको छ । गोष्ठीको उद्देश्य अपराध अनुसन्धानमा खटिने प्रहरी अधिकृतको क्षमता विस्तार गर्नु रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रदेश नम्बर–१ प्रहरी कार्यालयको आयोजनामा विहीबार विराटनगरमा प्रदेश स्तरीय अपराध अनुसन्धान गोष्ठी सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा सञ्चालन भएको गोष्ठीमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह , सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल लगायत उच्च प्रहरी अधिकारी तथा अनुसन्धानमा खटिने प्रहरी अधिकृतको समेत सहभागिता रहेको थियो ।
अपराध अनुसन्धान गोष्ठीमा मन्त्री कार्कीले आपराधिक प्रवृत्तिमा परिवर्तन हुँदै गइरहेकाले अनुसन्धान गर्ने प्रहरी अधिकारीको क्षमता विस्तार गर्नुपर्ने बताए । मन्त्री कार्कीले भने ‘ अपराधका घटना नियन्त्रण गर्न अनुसन्धानमा खटिने प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउनुपर्छ ।’ उनले प्रहरीको क्षमता विकास र प्रविधिमुलक अनुसन्धानकालागि आवश्यक साधन स्रोत उपलब्ध गराउन प्रदेश सरकार तयार रहेको समेत बताए ।
गोष्ठीलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रविधिको प्रयोगमार्फत हुने अपराधका घटना वृद्धि भइरहेकाले रोकथाम तथा नियन्त्रणका प्रहरी प्रहरी स्वय प्रविधि मैत्रि हुनुको विकल्प नभएको बताए ।
‘अनुसन्धान, अभियोजन र न्याय निरुपण अपराध अनुसन्धानका मुख्य खम्बा रहेकाले यी निकायबीचको समन्वय र सहकार्यबाट मात्र पिडितले न्याय र पिडकले सजाय पाउँछ’, आइजीपी सिंहले भने । महानिरीक्षक सिंहले अपराध अनुसन्धानमा खटिने प्रहरी संवेदनशील र पारदर्शी हुनुपर्नेमा समेत जोड दिए । गोष्ठीमा प्रदेश नम्बर–१ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव काली प्रसाद पराजुली, केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) निर्देशक उत्तमराज सुवेदी विराटनगर उच्च अदालनका सह– न्यायाधिवक्ता कोषहरी निरौला, प्रहरी नायवव महानिरीक्षक भिमप्रसाद ढकाल लगायतका वक्ताहरुले अपराध अनुसन्धानमा देखिएका समस्या समाधान गर्न गोष्ठी महत्वपूर्ण हुने धारणा व्यक्त गरेका थिए ।
प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको समन्वयमा हालसम्म बागमती प्रदेश बाहेक सुदुरपश्चिम, कर्णाली, लुम्बिनी गण्डकी, मधेश तथा एक नम्बर प्रदेशमा अपराध अनुसन्धान गोष्ठी सम्पन्न भएका छन् । नेपाल प्रहरीले सञ्चालन गरेको प्रदेस स्तरीय अपराध अनुसन्धान गोष्ठीमा सशस्त्र प्रहरीको समेत सहभागिता रहेको छ । विहीबार विराटनगरमा सम्पन्न अपराध अनुसन्धान गोष्ठीमा शसस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहित उच्च अपधकारी सहित सशस्त्रका अनुसन्धान अधिकारीहरुको सहभागिता रहेको थियो ।
अपराध अनुसन्धान, सिमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणगरी शान्ति सुरक्षा थप मजबुत गर्ने उद्देश्यले दुई प्रहरी सङ्गठनबीच आपसी सहकार्य भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस प्रकारको सहकार्यले आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सुरक्षित, शान्तिपूण, भयरहित रुपमा सम्पन्न गर्न अझ सहज हुने अपेक्षा गरिएको छ ।







डिसी नेपाल








Facebook Comment