एमाले-राप्रपा तालमेल नजिक
काठमाडौं। सत्ता गठबन्धनले गठन गरेको कार्यदलाई सिट बाँडफाँट गर्न सकस परिरहेको बेला प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच चुनावी तालमेल हुने निश्चित भएको छ।
यी दुई दलबीच चुनावी तालमेल गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनबीच भेटवार्ता भइसकेको छ। अहिले यी दुई पार्टीबीच अनौपचारिक रुपमा संवाद र छलफल जारी छ।
एमाले र राप्रपाबीच चुनावी तालमेलको विभिन्न मोडालिटीमा छलफल भइरहेको छ। यी दुई दलबीच मुलुकभर तालमेल नभइ निश्चित ठाउँमा मात्रै तालमेल गरेर जाने सहमति भएको छ।
झापा, मोरङ, चितवन, धादिङ बाँके, नवरपसारी पश्चिमलगायतका जिल्लामा चुनावी तालमेल गर्ने विषयमा सकरात्मक छलफल भएको राप्रपा स्राेतले जनाएकाे छ।
‘चुनावी तालमेलको निर्णय गर्ने अधिकार केन्द्रीय कार्यसम्पादन समितिले अध्यक्ष राजेन्द्र लिङदेनलाई दिएको छ,’ राप्रपा प्रवक्ता माेहन श्रेष्ठले डिसी नेपालसँग भने, ‘उहाँले एमालेसँग तालमेल गर्ने विषयमा छलफल गरिरहनु भएको छ।’
एमाले पनि राप्रपासँग चुनावी तालमेल गर्न सकारात्मक देखिएको छ। सत्ता गठबन्धनले एमाले विरुद्ध महागठबन्धन गरेपछि दबावमा परेरेको एमालेले सत्ता गठबन्धनमा आवद्ध नभएका साना राजनीतिक दलसँग तालमेल गर्ने रणनीति लिएको छ। एमालेले चुनावी गठबन्धन नगर्ने तर स्थानीय आवश्यकताका आधारमा तालमेल गर्न सकिने नीति अख्तियार गरेको छ।
एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजाल पार्टीको तल्लो तहबाट उम्मेदवार सिफारिस भएपछि त्यसको विश्लेषणको आधारमा स्थानीयस्तरमा तालमेल गर्ने नगर्ने टुंगो लाग्ने बताउँछन्।
उनले राप्रपासँग स्थान विशेषमा चुनावी तालमेल गर्ने विषयमा छलफल भए पनि पार्टीको क्षेत्रीय र जिल्लाबाट उम्मदेवार सिफारिस भएपछि त्यसको विश्लेषणको आधारमा चुनावी तालमेल गर्ने नगर्ने विषयमा टुंगोमा पुगिने उनले बताए।
एमालेले स्थानीय तह निर्वाचनमा राप्रपा नेपाल र परिवार दलसँग केही स्थानमा चुनावी तालमेल गरेको थियो। राप्रपा नेपाल र परिवार दलका उम्मेदवार एमालेकै चुनाव चिन्हबाट चुनाव लडेका थिए। तर अहिले एमालेले जनाधार नभएका राजनीतिक दलसँग चुनावी तालमेल नगर्ने नीति लिएको छ।
चुनावी तालमेललाई लिएर एमाले अध्यक्ष केपी ओली निवासमा दलका नेताहरु भेटवार्ताका लागि गइरहन्छन्। तर अहिलेसम्म कुनै पनि दलसँग चुनावी तालमेल गर्ने निर्णय भइसहेको एमालेले जनाएको छ। तर राप्रपासँग भने सकारात्मक छलफल भइरहरहेको नेतहरुले बताएका छन्।
केही दिन अगाडि मात्रै विवकेशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले अध्यक्ष ओलीसँग लामो छलफल गरेका थिए। त्यहाँ राजसंस्थाको आवश्यकताका विषयमा पनि छलफल भएको थियो। सो भेटमा चुनावी तालमेलका विषयमा सामान्य छलफल भएको थियो।
मिश्रले यसअघि प्रतिश्पर्धा गरेको काठमाडौं–१ बाट चुनाव लड्ने संभावना छ र आफूलाई एमालेले सहयोग गरोस भन्ने चाहना मिश्रले ओली समक्ष राखेको एक नेताले बताए। तर ओलीले स्पष्ट जवाफ दिएका छैनन्।
यसअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र एमालेबीच दुई नम्बर प्रदेशमा तालमेल गरेर जाने विषयमा केही चरण छलफल पनि भएका थिए। तर नागरिकता विधेयकमा एमालेले लिएको अडानबाट लोसपा एमालेसँग तालमेल नगर्ने पक्षमा पुगेको लोसपाका एक नेताले बताए।
लोसपा सत्ता गठबन्धनमा सहभागी हुन चाहन्छ। तर अहिलेसम्म उसलाई गठबन्धनमा सभावेश गरिएको छैन। सत्ता गठबन्धनमा आफूलाई सहभागी नगराए एमालेसँगै चुनावी तालमेल गर्नुपर्ने आवाज लोसपाभित्र उठ्न थालेको छ।







डिसी नेपाल








Facebook Comment