दोर्दी खोलाको २७ मेगावाट विद्युत् राष्ट्रिय लाइनमा थपियो

डिसी नेपाल
१५ भदौ २०७९ १२:२२

लमजुङ। लमजुङको दोर्दी खोलाको २७ मेगावाटको बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको छ। हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा दोर्दी गाउँपालिकामा निर्माण गरेको दोर्दी जलविद्युत् आयोजना सम्पन्न भएसँगै मंगलबारदेखि बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो।

आयोजनाले २०७२ फागुनदेखि निर्माण थालनी गरेर २०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो। भारतको नाकाबन्दी, अघिल्लो बर्खामा पावरहाउसमा मस्र्याङ्दी नदीको पानी छिरेर मेसिनरी सामग्रीमा पुर्‍याएको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले निर्माणमा ढिलाइ भएको आयोजना प्रमुख मुन्न शाक्यले बताए।

आयोजनाको बाँधस्थल दुई सय १२ मिटरको रहेको छ। बेँसीसहर नगरपालिका–११ रामचोकबेँसीमा विद्युतगृह छ। नेपाल विद्युत् प्राधिकरण र उक्त कम्पनीका बीचमा पीपीए सम्झौता २०६९ असार १ गते भएको थियो।

बाँधस्थल र विद्युतगृहको काम रसुवा कन्स्ट्रक्सन कम्पनी, पाइप लाइनको माछापुच्छ्रे मेटल एण्ड मेसेरेनरी कम्पनी र सुरुङ निर्माणको काम मल्टिइन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीको रहेको थियो।

आयोजनामा गैरआवासीय नेपाली संघको ३५ दशमलव सात प्रतिशत, आइएमई ग्रुपको ३४ दशमलव तीन प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ । तीन अर्ब ८६ करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढे पनि निर्माण सम्पन्न हुँदा करिब रु पाँच अर्बभन्दा बढी खर्च भएको आयोजनाले जनाएको छ।

सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र बर्खायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने सम्झौता (पीपीए) भएको आयोजनाले जनाएको छ । यसअघि जिल्लामा ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्र, ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ लगायत ६ आयोजनाबाट राष्ट्रिय प्रसारण लाइनमा बिजुली जोडिएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएन)का पूर्वअध्यक्ष एवं प्रवर्द्धक हिमालय पावर पार्टनर लिमिटेडका अध्यक्ष जिवा लामिछाने र लगानीकर्ता आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको उपस्थितिमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान भएको घोषणा गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *