संसदको आयू लम्ब्याउन खोजेपछि राजेन्द्र लिङ्देनले सांसदबाट घोषणा गरे राजीनामा

डिसी नेपाल
१९ भदौ २०७९ १५:३५
52
Shares

काठमाडौं। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा घोषणा गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन्।

सत्तारुढ दलका नेताहरुले संसदको आयू लम्ब्याउने गरी अभिव्यक्ति दिन थालेको र सोहीअनुसार बहस भइरहेका बेला लिङ्देनले सांसद पदबाट राजीनामा दिएका हुन्।

४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तोकिएका बेला मौजुदा प्रतिनिधिसभाको आयू जबरजस्ती लम्ब्याउन खोजिएपछि उनले सांसद पदबाट राजीनामा दिएको उनले बताए ।

उनले अब आफू सांसदको हैसियतमा उपस्थित नहुने र सांसदको हैसियत प्राप्त गर्ने सेवासुविधा सबै रोक्का गरिदिन सभामुख अग्निप्रसाद सापकोटा र संसद सचिवालयलाई आग्रह गरे ।

‘अध्यक्ष हुनुको नाताले आउने चुनावमा संसदमा प्रभावकारी आफ्नो उपस्थिति बनाउनका लागि जनताकै बीचमा समय खर्चिनुपर्छ । अब भत्ता पकाउनमात्रै संसद आइँदैन भनेर आउन छोडेको थिएँ,’ बैठकमा उनले भने, ‘तर, पछिल्लो दिनमा संसदको आयू मंसिर ४ पछि पनि कायम राख्ने भन्ने ढंगको निर्णय गर्ने प्रक्रिया प्रारम्भ भएका छन् । त्यसलाई मलाई असाध्यै लज्जित र दुःखी तुल्याएको छ । यहीँबाट घोषणा गर्न चाहन्छु, आजबाट सांसदको रुपमा यहाँ उपस्थित हुने छैन मात्र होइन मेरो नाममा पठाइने तलबभत्ता सुविधासमेत रोक्का गरियोस्, कहीँ लेखेर दिनुपर्छ भने निमानुसार लेखेर पनि दिन्छु ।’

मंसिर ४ पछि पनि संसदको आयू कायम राख्ने अनैतिक काममा सहभागी हुन आफ्नो आत्माले नमानेको उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.