वैधानिक पूर्णता र १२ औं महाधिवेशनको सुनिश्चितताका लागि नेविसंघको खबरदारी भेला
काठमाडौं । नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरूले पार्टी कार्यालयमा खबरदारी भेला आयोजना गरि नेपाली काँग्रेस पार्टी केन्द्रीय समितिलाई खुलापत्र लेखेका छन्।
विगत लामो समय देखि नेपाल विद्यार्थी संघको महाधिवेशनको अनिश्चितता र कार्यसमिति गठन नगरेको भन्दै विद्यार्थी नेताहरुले नेविसंघको वैधानिक पूर्णता र १२ औं महाधिवेशनको सुनिश्चितताका लागि कलम विद्रोह भन्दै खबरदारी भेला गरेका थिए।

११ औं महाधिवेशन बाट संघको निर्वाचित अध्यक्ष नैनसिंह महरको कार्यसमिति विगठन भएपश्चात अध्यक्षमा राजीव ढुंगाना चयन गरि केही पदाधिकारीमा सीमित राखी महाधिवेशन केन्द्रीत कुनै गतिविधि नगरी पुन विघटन भएको थियो।
हाल नेपाल विद्यार्थी संघ केन्द्रीय समितिमा अध्यक्ष दुजाङ शेर्पा मात्र रहेको र अन्य पदाधिकारी सदस्यहरु मनोनयनमा नेपाली कांग्रेस केन्द्रीय समिति र पदाधिकारीहरुले बेवास्ता गरेको प्रति पूर्व केन्द्रीय सदस्य पुजन गन्धर्वले आक्रोस व्यक्त गरे।
अर्की पूर्व केन्द्रीय सदस्य एलिजा ढकालले अहिले नेपाल विद्यार्थी संघको वैधानिक पूर्णताको निमित्त सामाजिक सञ्जाल‘जग जोगाऔं पार्टी बचाऔं’अभियान सञ्चालन पनि गरिएको बताउँछिन्।
विधिसम्वत अधिवेशन र कार्यसमितिको पूर्णतामा मूल पार्टीले गरेको ढिलासुस्तीले विगत लामो समय देखि रिक्त रहेका क्याम्पस, विश्वविद्यालय र जिल्ला समिति पनि सक्रिय रहन नसकेको र समग्र विद्यार्थी आन्दोलन नै कमजोर भएको बारे पूर्व केन्द्रीय सदस्य गन्धर्वले चिन्ता व्यक्त गरेका छन्।
आम विद्यार्थीहरूको चेतनाको प्रतीक स्वरूप पार्टी नेतृत्वलाई कलम मार्फत खबरदारी गरिएको र भावी दिनहरूमा सशक्त ढंगले थप कार्यक्रमहरु सञ्चालन गरिने बताउँछन्।
कार्यक्रममा जनप्रशासन क्याम्पसका स्ववियू सभापति पंकज सुवेदी, आर आर क्याम्पसमा अध्यक्ष संजीव ढकाल, विद्यार्थी नेता भुवन भट्ट, तारा बहादुर थापा, कृष्ण सुवेदी, प्रवीण जंग कार्की, दिनेश शाही, प्रवीण घिमिरे सानोठिमी क्याम्पस की स्ववियू सदस्य पूजा फुयाल लगायतको उपस्थिति रहेको थियो।
सम्पूर्ण उपस्थित विद्यार्थीहरुले लेखेको खुलापत्र पार्टी उपसभापति धनराज गुरुङ र कलम सहमहामन्त्री महालक्ष्मी उपाध्यय (डिना)लाई हस्तान्तरण गरिएको थियो।








डिसी नेपाल








Facebook Comment