राष्ट्रियसभाको बैठकमा कुन–कुन विधेयकमा भयो छलफल ?

डिसी नेपाल
२९ भदौ २०७९ १२:२७
28
Shares

काठमाडौं । राष्ट्रियसभाको बैठकले ‘बीमा विधेयक, २०७५’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । बुधबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले उक्त विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

ती विधेयकलाई विधायन समितिमा पठाउनेसम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको थियो । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति डा बेदुराम भुसालले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस गरेका थिए । सो विधेयक प्रतिनिधिसभामा उत्पत्ति भई उक्त सभाबाट पारित भएर सन्देशसहित राष्ट्रियसभामा आएको थियो ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाएका थिए । त्यस्तै बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई सभासमक्ष टेबुल गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक बिहीबार तीन बजे बोलाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.