बुटवल–गोरुसिङ्गे–चनौटा सडक स्तरोन्नति गरिने, ३२ अर्ब लागतको अनुमान

डिसी नेपाल
३१ भदौ २०७९ १२:५२

काठमाडौँ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे–चनौटा सडक चार लेनमा स्तरोन्नति हुने भएको छ। विश्व बैंक तथा नेपाल सरकारको संयुक्त लगानीमा ६९ किलोमिटर लम्बाइको सडक आगामी वर्षबाट निर्माण अघि बढाइने सडक विभागले जनाएको छ।

यो सडकको लागत रु ३२ अर्ब हुने अनुमान गरिएको छ। सडक एक सय किमी प्रतिघण्टाको गति सवारी साधन गुड्ने हुने र सडक सुरक्षा तथा वातावरणीय संरक्षणमा विशेष जोड दिइने विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले बताए।

सात पुल निर्माण गरिने र त्यसमध्ये केही पुल आधुनिक प्रविधि र आकर्षक हुने उनले बताए। उनले भने, “बुटवलमा तिनाउ नदीमा सिग्नेचर पुल निर्माण हुनेछ।” सडक निर्माणका लागि थप जग्गा अधिग्रहण गर्न नपर्ने भए पनि केही पसल र घरका भाग हटाउनुपर्ने हुनसक्ने महानिर्देशक थापाले बताए।

सडक स्तरोन्नतिका लागि हाल विश्वबैंक र सरकारबीच आर्थिक सम्झौता हुने चरणमा रहेको छ। सो सडक सन् २०२३ नोभेम्वरमा सुरु भएर सन् २०२६ को नोभेम्वरमा सम्पन्न हुने अनुमान गरिएको छ।

कूल ३०५ मिलियन ( रु ३८ अर्ब) रकम रहेको ‘अक्सेलरेटिङ ट्रान्सपोर्ट एण्ड ट्रेड कनेक्टिभिटी इन साउथ एशिया–नेपाल फेज १’ अन्तर्गत अघि बढाउन लागिएको हो। यसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वन तथा भूसंरक्षण विभाग आबद्ध रहनेछन्। विश्वबैंकले विभिन्न राजमार्गको स्तरोन्नतिका लागि सरकारलाई ऋण सहयोग उपलब्ध गराउँदै आएको छ।

सरकारले पूर्व–पश्चिम राजमार्गलाई एशियाली राजमार्गको स्तरोन्नति गरिरहेको छ। चार लेन सडक विस्तार गरी आधुनिक पुलसँगै ‘अण्डर पास’, ‘ओभर पास’ लगायतको निर्माण अघि बढाइएको छ। वन क्षेत्र हुँदै सडकपर्ने स्थानमा वन्यजन्तुमैत्री सडक निर्माण भइरहेको छ। विभिन्न खण्डमध्ये कतै सडक निर्माणाधीन र कतै निर्माणमा जाने चरणमा रहेका छन्। – रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *