प्रचण्डद्वारा सैनिक जहाजको दुरुपयोग, अर्थमन्त्रालयले चार्टर गरिदियो सेनाको हेलिकोप्टर

डिसी नेपाल
५ असोज २०७९ ६:३३

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका लागि अर्थ मन्त्रालयले नेपाली सेनाको हेलिकप्टर चर्टर गरिदिएको पाइएको छ। सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाको लागि उडान भर्न प्रचण्डका लागि अर्थमन्त्रालयले हेलिकप्टरको व्यबस्था गरिदिएको हो।

उनी वाहालवाला प्रधानमन्त्री होइनन् र उनी कहिल्यै नेपालको रक्षामन्त्री पनि भएका छैनन्। उनी सत्तारुढ दलहरुमध्ये एउटा दलका अध्यक्ष हुन् र उनीजस्ता ५ वटा दल वर्तमान सत्ता गठबन्धनमा छन्। तर, असोज ३ गते काठमाडौंको त्रिभुवन विमानास्थलबाट सैनिक जहाज चढेर उनी सोलुखुम्बु पुगेका थिए।

थुलुङ दूधकोशी गाउपालिकाको निमन्त्रणामा भवनहरु उद्घाटन गर्ने कार्यक्रम लिएर उनी त्यहाँ पुगेका थिए र नेपाली सेनाको हेलिकोप्टरले उनलाई सेवा दिएको थियो। (हेर्नुहोस् फोटो)।

अर्थ मन्त्रालयसँग सम्बन्धित कुनै पनि कार्यक्रम नभए पनि प्रचण्डका लागि सैनिक जहाज नै चार्टर गर्नुपरेका कारण अर्थमन्त्री जनार्दन शर्मा पनि प्रचण्डका साथमा सोलु उडेका थिए। सत्ताधारीहरुबाट मुलुकको साधन स्रोत अपचलनको यो एउटा पछिल्लो उदाहरण हो।

अर्थ मन्त्रालय स्रोतका अनुसार, प्रचण्डलाई सोलुखुम्बु जानै पर्ने भएपछि अन्य निजी कम्पनीलाई भाडा तिर्नुभन्दा मन्त्रालयले सरकारी खर्चमा व्यबस्था गरिदिए राम्रो हुने भन्ने दवाव आएपछि नेपाली सेनासंग हेलिकप्टर माग गरिएको हो।

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले नेपाली सेनाले अर्थ मन्त्रालयको अनुरोधमा चार्टर उडान गरिएको प्रतिक्रिया दिए। डिसी नेपालसँग कुरा गर्दै उनले भने, ‘सेनाको हेलिकोप्टरको सो उडान अर्थ मन्त्रालयले चार्टर गरेकाे र साे हेलिकाेप्टरमा अर्थमन्त्रीज्यू र अर्थका पदाधिकारी जानु भएकाे सूचना छ।’

सैनिक विमान सशुल्क उडान कार्यविधि २०७७ ले अतिविशिष्ट र विशिष्ट व्यक्तिहरुको सरकारी कामका लागि नेपाली सेनाको जहाज प्रयोग गर्न सकिने उल्लेख गरेको छ। जसअनुसार, नेपाल सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले सरकारी कामका लागि सैनिक जहाजको प्रयोग त्यो पनि भाडा तिरेर उडान गर्न पाउँछन्। यस्तो उडानका लागि प्रधान सेनापतिको कर्यालयले नै स्वीकृति दिनुपर्ने नियम पनि सेनाले बनाएको छ। (हेर्नुहोस् नियमकको फोटो)

माओवादी अध्यक्ष दाहालले पूर्वप्रधानमन्त्रीको हैसियतमा नेपाली सेनाको हेलिकोप्टर माग गरेको पनि पाइएको छैन। अर्थमन्त्री जनार्दन शर्माका लागि भनेर अर्थमन्त्रालयले पनि हेलिकोप्टर सेनासँग मागिएको छ। र, मन्त्रालयसंग असम्बन्धित काममा अर्थमन्त्री शर्मा पार्टीका अध्यक्ष प्रचण्डसँग सोलुखुम्बु उड्नु परेको देखिन्छ।

प्रचण्डको आधिकारिक फेसबुक पेजका अनुसार पनि त्यो दिन सोलुखुम्बुको थुलुङ्ग दुधकोशी गाउंपालिकामा जम्माजम्मी ३ वटा उद्घाटन कार्यक्रम थिए। जसमा दुधकोशी सामुदायिक अस्पताल, गाउंपालिका प्रशासनिक भवन र थुलुङ्ग दुधकोशी वहुप्राविधिक शिक्षालय भवन समुद्घाटन थिए।(हेर्नुहोस् प्रचण्डको फेसबुक पेजको फोटो)

अव प्रश्न उठ्छ, प्रचण्डलाई सैनिक जहाज अर्थ मन्त्रालयले किन उपलब्ध गरायो? अन्य व्यापारिक उडान गर्ने निजी कम्पनीका हेलिकोप्टर आफ्नै पार्टीको खर्चमा चढ्न छाडेर प्रचण्डले सेनाकै हेलिकोप्टर किन रोजे? के सेनाले प्रचण्डका लागि अर्थ मन्त्रालयको आग्रहमा निशुल्क उडान गरिदिएको थियो?

जब कि सेनाले यस्तो उडानका लागि प्रतिघण्टा ७ लाख ४४ हजार २ सय ७९ रुपैंयाको दरले भाडा लिने नियम बनाएको छ।

भाडा लिएकै भए पनि कार्यालय भवनहरु उद्घाटन गर्न र आमसभा गर्न माओवादी अध्यक्षका लागि नेपाली सेनाको जहाज सहजरुपमा उपलब्ध हुदा अन्य दलका अध्यक्षहरुले यसै गरी माग गरे सेनाले उनीहरुका लागि पनि सैनिक जहाज उपलब्ध गराउन सक्ला?

राज्यका अन्य निकायका साधन स्रोतहरुमा राजनीतिक नेताहरुको दाईं अत्याधिक भए पनि नेपाली सेनाका साधन स्रोतहरुमा भने सेनाले नियन्त्रण गर्दै आएको थियो तर प्रचण्डको यो उडानले अव सत्ताधारी दलका नेताहरु सैनिक साधन स्रोतको अपचलनतिर पनि आंखा लगाउन थालेको देखाएको छ।

साम्य देखिएका थिए जनार्दन

काठमाडौं र पश्चिमका केही कार्यक्रमहरुमा प्रचण्डको चर्को आलोचकका रुपमा सार्वजानिकरुपमै देखिएका अर्थमन्त्री जनार्दन शर्मा सोलुखुम्बुको यात्रामा भने निकै साम्य देखिएका थिए। उनले भाषणका क्रममा मन्चबाट प्रचण्डको आलोचना गरेनन् बरु प्रसंसाको पुलिन्दा नै लगाइदिए।

उनले शान्ति प्रक्रियाको हिरोका रुपमा मात्र होइन, नेपालको विकास निर्माण अभियानको माष्टरमाइन्ड तथा उज्यालो नेपालका प्रणेताका रुपमा प्रचण्डको व्याख्या गरेर सबैलाई सुनाएका थिए।

प्रचण्डकै उज्यालो नेपालको परिकल्पनालाई आफूले उर्जामन्त्री हुँदा कार्यान्वयन गरेको पनि उनले बताएका थिए । त्यसपछिको बोल्ने पालोमा प्रचण्डले जनार्दन शर्माका सबै प्रसंसाहरु स्वीकार गर्दै सुसाशनको अभिायनमा लागिरहने बताएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *