बर्दियामा पाटेबाघको आक्रमणः दुईजना घाइते, एकको अवस्था गम्भीर

डिसी नेपाल
४ कार्तिक २०७९ २१:३९

बर्दिया । बर्दियामा पाटेबाघको आक्रमणबाट दुईजना घाइते भएका छन् । भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षको जङ्गलमा च्याउ खोज्न गएका बेला बर्दिया जिल्ला गुलरिया नगरपालिका–१ खैरापुर बस्ने ३२ वर्षीय राकेश लोध र सोही जिल्ला मधुवन नगरपालिका–७ बस्ने ४१ वर्षीय सोम श्रेष्ठ बाघको आक्रमणमा परी घाइते भएको इलाका प्रहरी कार्यालय ढोढरी बर्दियाका प्रहरी निरीक्षक महेन्द्रजङ्ग बुढथापाले जानकारी दिए ।

साँझ ५ः३० बजे च्याउ खोज्ने क्रममा पाटेबाघले आक्रमण गरेको थियो । घाइतेमध्ये सोम श्रेष्ठ गम्भीर छन् । उनको दाहिने खुट्टा क्षतविक्षत छ भने शरीरका विभिन्न भागमा बाघको नङ्ग्राले चिथोरेको छ । उनका साथमा गएका राकेश लोध भने सामान्य घाइते रहेको मधुवन–७ का वडाध्यक्ष राजेन्द्र हमालले जानकारी दिनुभयो । घाइतेको उपचारका लागि भेरी अञ्चल अस्पताल नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *