आयोत्जिनापा प्रकरण: प्रमाण नष्ट गरेको आरोपमा मेक्सिकोका पूर्वगभर्नर अगुइरे पक्राउ
मेक्सिको सिटी। सन् २०१४ मा ४३ जना विद्यार्थी बेपत्ता भएको बहुचर्चित आयोत्जिनापा प्रकरणमा प्रमाण लुकाएको र अनुसन्धान प्रभावित पारेको आरोपमा मेक्सिकोका पूर्वगभर्नर एन्जेल अगुइरे पक्राउ परेका छन्।
तत्कालीन ग्युरेरो राज्यका गभर्नर रहेका अगुइरेको गिरफ्तारीलाई मेक्सिकोमा व्याप्त भ्रष्टाचार, दण्डहीनता र जबर्जस्ती बेपत्ता पार्ने प्रवृत्तिविरुद्धको ठूलो कदमका रूपमा हेरिएको छ।
मेक्सिकोकी महान्यायाधिवक्ता अर्नेस्टिना गोडोयका अनुसार पूर्वगभर्नर अगुइरेले सरकारी कर्मचारी तथा उच्चपदस्थ अधिकारीहरूसँग मिलेर घटनासँग सम्बन्धित सिसिटिभी फुटेज र अन्य प्रमाण नष्ट गर्न प्रत्यक्ष निर्देशन दिएका थिए।
यो कार्य कुनै व्यक्तिगत निर्णय वा गल्ती नभई राज्यको कार्यकारी तहबाटै योजनाबद्ध रूपमा सञ्चालन गरिएको ढाकछोप अभियानको हिस्सा रहेको उनले बताइन्।
सन् २०१४ सेप्टेम्बर २६ मा आयोत्जिनापा ग्रामीण शिक्षक कलेजका ४३ जना विद्यार्थी मेक्सिको सिटीमा हुने विरोध प्रदर्शनमा सहभागी हुन ग्युरेरो राज्यबाट बस चढेर जाँदै थिए।
त्यसक्रममा इगुआला सहरमा स्थानीय प्रहरी र आपराधिक समूहले उनीहरूमाथि आक्रमण गरेका थिए। घन्टौँसम्म चलेको हिंसात्मक झडपमा ६ जनाको मृत्यु भएको थियो भने ४३ जना विद्यार्थी बेपत्ता पारिएका थिए।
घटनापछि पूर्वराष्ट्रपति एनरिक पेना निएटो नेतृत्वको सरकारले सुरुमा स्थानीय अधिकारी र लागुऔषध तस्करहरूले विद्यार्थीको हत्या गरी शव जलाएको दाबी गरेको थियो।
तर त्यसपछिको सरकारले पुनः अनुसन्धान गर्दै यसलाई ‘राज्य अपराध’ को संज्ञा दियो। हालसम्म दर्जनौँ व्यक्ति पक्राउ परे पनि तीन जना विद्यार्थीको मात्रै शारीरिक अवशेष फेला परेको छ भने बाँकी ४० जनाको अवस्था अझै अज्ञात छ।
पीडित परिवारले भने मेक्सिकोको सेनासमेत यस अपराधमा संलग्न रहेको आरोप लगाउँदै आएका छन्। सोही क्रममा सन् २०२२ मा एक जना जनरलसहित तीन सैनिक पक्राउ परेका थिए भने सन् २०२३ मा स्वतन्त्र अनुसन्धान आयोगले सेनाले महत्त्वपूर्ण प्रमाण लुकाएको पुष्टि गरेको थियो।
सत्तरोत्तर उमेरका अगुइरेले घटना लगत्तै सन् २०१४ अक्टोबरमै गभर्नर पदबाट राजीनामा दिएका थिए। हाल राष्ट्रपति क्लाउडिया सेनबाम नेतृत्वको सरकारले यस मुद्दालाई प्राथमिकतामा राखेर अनुसन्धान पुनः अगाडि बढाएको छ।
सेनबामले घटनाको सत्यतथ्य बाहिर ल्याउने, पीडितलाई न्याय सुनिश्चित गर्ने र बेपत्ता विद्यार्थीहरूको वास्तविक अवस्था सार्वजनिक गर्ने प्रतिबद्धता दोहोर्याएकी छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment