चाडपर्वले आपसी स्नेहलाई प्रगाढ बनाउन मद्दत पुर्‍याउँछः प्रधानमन्त्री देउवा

डिसी नेपाल
७ कार्तिक २०७९ २२:५१

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दीयौँ पहिलेदेखि चल्दै आएको तिहार हाम्रो विशिष्ट मौलिक पर्व भएको उल्लेख गरेका छन् । उनले यो मौलिक सांस्कृतिक पर्वले प्रकृति, मानव, जीवन र प्राणी जगतबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई समेत प्रगाढ बनाउन मद्दत पुर्‍याउँदै आएको बताएका छन् ।

प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत नेपालीहरूको महान् चाड तिहार–२०७९, नेपाल संवत् ११४३ को आरम्भ, म्हपूजा तथा किजा पूजाको पुनीत अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन् ।

तिहारको अवसरमा खेलिने देउसी भैलोलगायतका सांस्कृतिक नाचगानले हाम्रो समाजमा शान्ति, सद्भाव, एकता र भाइचाराको भाव अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएका छन् । औँसीको रातमा झिलिमिली बत्ती बाल्दै घर आँगन उज्यालो तुल्याउने कार्यले हामी सबैलाई अन्धकारबाट उज्यालोतर्फ अघि बढ्न प्रेरणा प्रदान गर्ने उनले बताएका छन् । यस अवसरमा प्रधानमन्त्री देउवाले दीपावलीको उज्यालो प्रकाशले सबैलाई सत्य, धर्म, न्याय र सदाचारको मार्गमा अग्रसर रहन प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन् ।

कार्तिक कृष्णपक्ष त्रयोदशीका दिनदेखि कार्तिक शुक्लपक्षको द्वितीया तिथिसम्म पाँच दिनसम्म अत्यन्त हर्ष र उल्लासका साथ मनाइने यमपञ्चकको रूपमा समेत चिनिने यस पर्वका अवसरमा मानव समाजका लागि उपयोगी काग, कुकुर, गाई, गोरुलगायत पशुपन्छीका साथै कार्तिक कृष्ण अमावास्याका दिन धन र ऐश्वर्यकी देवी लक्ष्मीको विधि विधानपूर्वक पूजा अर्चना गरी साँझमा घर–आगनमा दीपावली गरी देउसी भैलो खेल्दै नाँचगान र मनोरञ्जन गर्ने परम्परा रहेको छ ।

कार्तिक शुक्ल द्वितीयका दिन दिदीबहिनीद्वारा दाजुभाइको पूजा गरिनुका साथै एक आपसमा फलफूल, मिठाइ, मरमसलालगायत कोसेली र दक्षिणासमेत प्रदान गरी शुभकामना आदान–प्रदान गरिन्छ । यसैगरी नेवार समुदायमा यसै अवसरमा साँझमा म्हः पूजा गर्ने परम्परा छ । प्रधानमन्त्री देउवाले कोभिड–१९ को सङ्क्रमण कायमै रहेको र डेङ्गी रोगको प्रकोपको जोखिम अझै रहिरहेको वर्तमान सन्दर्भमा स्वास्थ्य सुरक्षाका आधारभूत मापदण्डहरूलाई समेत पालना गर्दै आवश्यक सजगता र सतर्कतासहित दीपावली पर्व मनाउन सबैलाई अनुरोध गरेका छन् ।

उनले तिहार पर्वले सम्पूर्ण नेपालीहरूबीच एक आपसमा प्रेम, सांस्कृतिक सद्भाव र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन प्रेरणा प्रदान गरोस् भन्दै तिहार पर्व २०७९ को पुनीत अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *