लोप भयो मखमली फूल

डिसी नेपाल
१० कार्तिक २०७९ २१:०३

रामपुर । ‘मखमली फूल्दा मार्सीधान झुल्दा बहिनी आउनेछिन्, दैलाको तस्वीर छातीमा टाँसी आँशु बगाउनेछिन्’ प्रसिद्ध गायक नारायण रायमाझीले गाएको यो गीत सुन्दा अहिले पनि समय सान्र्दभिक छ ।

पुराना पुस्ताले अहिले पनि भाइटीकामा मखमली फूल नै खोज्ने गर्दछन् । ‘दाई मेरो कहाँ गयो मखमली फूल ओइलायो’ गायक रायमाझीकै गीतका यी शब्द सुन्दा परदेशमा रहेका दाजुलाई सम्झेर बहिनीले मखमली फूल ओइलायो तर दाजु भाइटीकामा नआएको पीडा झस्काइदिएको छ ।

“दाजुभाइ र दिदिबहिनीबीचको सम्बन्ध प्रगाढ बनाउने भाइटीकामा दाजुभाइका लागि दिदीबहिनीले दिर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिने चलन रहे पनि फूलको अभाव हुँदा सयपत्री र बजारका कृत्रिम माला प्रचलनमा आएको छ ।

स्थानीय पार्वती न्यौपाने भन्नुहुन्छ, “कहिल्यै नओइलिने मखमली फूलले तिहारमा धेरै महत्व बोकेको छ, यो फूल कहिले न ओइलिने भएकाले यसलाई दिर्घायु र स्वस्थ जीवनको प्रतीकका रुपमा लिइन्छ तर गाउँमा हिजोआज यो कतै देख्न पनि पाइँदैन ।”

दिदीबहिनी र दाजुभाइको प्रेमलाई पवित्र गाँठोमा बाँध्न सफल मखमलीको माला नेपालीलाई तिहारको अभिन्न अङ्ग बनिसकेको छ । फूल जोगाउनतिर कसैको ध्यान छैन, बजारमा गएर प्लाष्टिकका माला किनेर ल्याउने बढेका छन् । तिहारमा कुन फूलको माला लगाउने हो अबका पुस्ताले महत्व चिन्नै छाडेका छन् ।

मखमली फूल हराउँदै जाँदा यसको संरक्षणमा ध्यान भने कसैको गएको पाइँदैन । अहिले सस्ता र कृत्रिम फूलका मालाले बजारका पसल भरिएका छन् । सुपारी जस्तो गोलाकार मखमली फूल पनि सयपत्री झैँ सयौँ फूलको पुष्पपुञ्ज हो । नामले मखमली भनिए तापनि यो फूल नरम, कोमल र कलिलो नभई खस्रो हुन्छ । वैजनी र प्याजी रङमा मखमली विशेष लोकप्रिय छ ।

नझर्ने, नओइलाउने र वर्षौं पनि टिक्ने हुनाले यसको अजम्बरी प्रकृतिलाई आत्मसात् गरेर दिदीबहिनीले आफ्ना दाजुभाइलाई मखमली फूलको माला लगाइदिएर दीर्घायुको कामना गर्छन् । संस्कृतमा रक्त मल्लिका भनिने यो फूल देख्नमा पनि सुन्दर मानिन्छ । मखमली फूल नोपालीको लागि सांस्कृतिक महत्व बोकेको प्रसिद्ध फूल हो । सेता, गाढा कलेजी तथा हल्का रातो रङमा फूल्ने मखमली फूल भाइटीकामा विशेष प्रयोगमा आउँछ ।

छुँदा घोच्ने, मखमलको कपडाजस्तो सेता, गाढा कलेजी, हल्का रातो रंगमा फूल्ने गर्दछ । यस फूललाई नरम मखमली नाम दिइन्छ । अर्कोतर्फ मखमली फूल सँगै गाउँघरमा फुल्ने सयपत्री र गुरधौली फूल पनि देखिन छोडेको छ । प्लाष्टिकको माला प्रयोग बढेपछि सयपत्री, मखमली र गुरधौली फूल लोपोन्मुख अवस्थामा पुग्न थालेको छ । पहिलाको तुलनामा सयपत्री फूल पनि कम पाइन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *