न देउसी न भैलो, अलैँची घर भित्र्याउनै चटारो

अलैँचीबाट ताप्लेजुङले भित्र्याउँछ बर्षिक एक अर्ब ३५ करोड

डिसी नेपाल
११ कार्तिक २०७९ १३:१९

फुङ्लिङ । नेपालीको महान चाड तिहारले गाउँघर झिलिमिली छ । घर, आँगनमा सयपत्री र मखमली फूलले ढकमक सझिएको छ । फक्ताङलुङ गाउँपालिका अलैँची किसानलाई देउसी भैलोमा नाचगान गरेर बस्ने समय छैन । चोकचोकमा देउसी र भैलो घन्किए पनि अलैँची किसानलाई भने पाकेको अलैँची घर भित्र्याउने चटाराले छोपेको छ ।

बुधबार फुङ्लिङ बजारमा दैउसी, भैलोको रौनक थियो । बजारदेखि पाँच किलोमिटर पर बिहीबारे क्षेत्रमा अलैँची बगानमा ७० वर्षीय खाङ्डु शेर्पा अलैँची भट्टी लगाउनमा व्यस्त थिए । कोही महिला, पुरुष र केटाकेटी अलैँची टिपेर जम्मा गरिएको अलैँचीको थुप्रो वरिपरि बसेर अलैँची छडाउनमा व्यस्त थिए ।

खाङडु शेर्पाको दसैँ पनि अलैँची बगानमै बितेको थियो । अलैँची छराउँदै र सुकाउँदै तिहार पनि अलैँची बगानमै मनाउने शेर्पाले सुनाए । शेर्पाले ६० रोपनी जग्गामा अलैँची खेती गरेका छन् । फक्ताङलुङ गाउँपालिका–२ खेजेनेममा पनि ४० रोपनी जग्गामा अलैँची बगान छ । अलैँची बगानमै आफ्नो अझै एक महिना समय बित्ने उनको भनाइ छ ।

सोही क्षेत्र नजिकै रहेको अलैँची भट्टीमा केदार पताङ्वा पनि निधारमा तपतप पसिना चुहाउँदै अलैँची भट्टीमा सुकेको अलैँची उठाउन व्यस्त थिए । भट्टीको आँगनमा जम्मा गरिएको अलैँचीको थुङ्गाको हसमा बसेर आठ÷नौ जना अलैँची छडाउनमा व्यस्त थिए । पताङ्वालाई एकैछिन बस्न फुर्सद छैन । दसैँदेखि नै पताङ्वाले भट्टीमा सुकेको अलैँची उठाएर घरमा जम्मा गर्ने र छडाएको अलैँची सुकाउनका लागि भट्टी लगाउनमै व्यस्त भएको हो । खेतीयोग्य ४० रोपनी जमिनमा अलैँची बगान विस्तार गर्नुभएको पताङ्वाले बताए ।

उनले परम्परागत प्रविधिका भट्टीबाट अलैँची सुकाउँदै आएका छन्। केही किसानलाई ‘अलैँची जोन’ कार्यालय ताप्लेजुङले आधुनिक प्रविधिको भट्टी उपलब्ध गराएको छ । किसानहरुको रोजाइमा परेको देखिंदैन । प्रायःजसो सबै किसानले परम्परागत प्रविधिका भट्टीबाट नै अलैँची सुकाउँदै आएको पताङ्वाले बताए ।

भट्टीको आगनमा जम्मा गरिएको अलैँचीको थुङ्गाको ह्रासमा बसेका आइतहाङ राई यसपालिको तिहारमा देउसी, भैलो खेल्न गएनन् । राईसँग कुनै अलैँची बगान भएर देउसी भैलो खेल्न नगरएको भने होइन । छरछिमेक दसैँ तिहारमा भ्याइनभ्याइ हुँदा आफू भने देउसी खेल्न जान मन नमानेर केदार पताङ्वाको अलैँची बगानमा छिमेकीलाई सघाउन आएका हुन् । उनको मोबाइलमा भने देउसी, भैलोको गीत घन्किरहेको थियो । समस्यामा पर्दा छिमेकीलाई सहयोग पनि हुने र आफूलाई रोजगारी पनि हुने भएकाले दसैँ तिहारमा अलैँची बगानमा बसेको अनिता फुरुम्बुले बताए ।

फक्ताङ्लुङ गाउँपालिका–६ का विर्ख लिम्बूले अलैँची बगानमा बस्नु थालेको एक महिना भयो । बेंसीदेखि लेकसम्ममा उनीसँग विभिन्न ठाउँमा पाँच वटा अलैँची बगान रहेको छ । बेंसीमा साउन महिनाको पहिलो सातादेखि टिपाइ सुरु हुन्छ । बेंसी रहेको बगानदेखि टिप्दै लेकतिरको बगानमा पुग्दा मङ्सिर महिना लाग्छ । बगानमा काम गर्ने खेतला पाँनै समस्या छ । धेरैजसो पर्म गर्नु पर्दछ । छिमेकीका बगानमा टिपी सकाएर आफ्नो बगानमा टिप्नु पर्दछ । लेक क्षेत्रमा अलैँची बगान हुनेले बेंसी क्षेत्रमा टिपाइ हुँदा पर्म सघाइराख्नुपर्ने हुन्छ ।

अलैँची बगानमा रोजगारी

नगरपालिका–७ बिहीबारे क्षेत्रको एक अलैँची बगानमा पूर्ण राई अलैँची टिपाइमा व्यस्त छन् । उनी पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङखल्याङदेखि अलैँची टिप्न रोजगारी गर्न फुङ्लिङसम्म आएका हुन् । दसैँ सकेलगत्तै राई यहाँ आएका हुन् ।

तिहारमा अलैँची बगानमै व्यस्त भए । बिहान उठेपछि अलैँची टिप्न बगानमा पसेका राई साँझ परेपछि मात्रै बाहिर निस्किन्छन्। उनी साँझ बिहानको खाना खाजा पनि अलैँची बगानमै खान्छन् । बिहान र दिनभरि टिपिएको अलैँचीको ढुङ्गा बगान नजिकै रहेको अलैँची सुकाउने भट्टीमा जम्मा गर्ने काम हुन्छ । दिनभरि टिपिएको अलैँची बेलुका १० बजे रातसम्म छडाउनु राईको अहिले दैनिकी बनेको छ ।

पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङखल्याङ गाउँका पूर्ण राईसँगै सात जनाले घर छोडेर अलैँची टिप्न फुङ्लिङ पुगेका छन् । गाउँमा रोजगारी नभएपछि रोजगारी खोज्दै फुङ्लिङ—६ अवस्थित अलैँची बगानमा आइपुगेको नरप्रसाद राईले बताए । उनी तिहारमा पनि अलैँची बगानमै बसेर अलैँची टिप्ने, ओसार्ने, भट्टी लगाउने काममा व्यस्त भए ।

कमल राई पनि अलैँची टिप्ने बगानमै व्यस्त छन् । तिहार खर्च घरमा पठाएर आफू चाहिँ अलैँची बगान नै रोजगारी गर्दै बसेको उनले बताए । उनीहरु रोजगारीका लागि पाथीभरा याङ्वरक गाउँपालिकादेखि फुङ्लिङ आएका हुन् । दिनभरि टिपिएको अलैँची बेलुका १० बजेसम्म छोडाउने गर्छन् । अलैँची बगानमै बसेर बिहान बेलुका काम गर्दा दैनिक ६०० रुपैयाँ ज्याला पाउने राईले बताए।

अहिले फुङ्लिङलगायतका क्षेत्रमा अलैँची टिप्ने चटारो लागेको छ । मेरिङदेन गाउँपालिका–६ नाल्बुकी विमना लिम्बूलाई पनि एकैछिन पनि फुर्सद छैन् । उहाँ दैनिक अलैँची बगानमा काम गर्नेहरुको लागि बिहान चिया, खाजा बनाइदिने अनि खाना खाजा बनाउने गर्छन् । अलैँची बगानमा रोजगारी गर्नका लागि धेरै टाढादेखि युवा यहाँका अलैँची बगानमा आएका छन् । सिरिजङ्घा गाउँपालिका–६ मामाङ्का रनकुमार लिम्बू आप्mनो गाउँमा खेताला नपाएर अन्य गाउँबाट अलैँची टिप्ने कामदार ल्याउनुपरेको बताउँछन् । यहाँका प्रायः सबैको आफ्नै अलैँची बगान छ । पाकेको अलैँची समयमै टिप्न नसके खेर जाने, मुसा तथा जङ्गली जनावरले खाने भएकाले दसैँ–तिहारमा पनि अलैँची बगानमै व्यस्त हुनुपरेको उनको भनाइ छ ।

ताप्लेजुङमा खेती र अलैँची उत्पादन

गत वर्ष अलैँची जोन क्षेत्रमा दुई हजार छ मेट्रिकटन उत्पादन भएकामा दुई हजार मेट्रिकटन बिक्री भएको र त्यसबाट किसानले रु एक अर्ब ३५ करोडभन्दा बढी आम्दानी लिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन कार्यालय ताप्लेजुङले जनाएको छ । करिब छ मेट्रिकटन अलैँची मात्र जिल्लामा खपत भएको तथ्याङ्कले जनाएको छ । अलैँची जोनले ताप्लेजुङमा तीन हजार सात सय हेक्टर क्षेत्रफल ओगटे पनि तीन हजार चार सय हेक्टर क्षेत्रफल मात्र उत्पादनशील क्षेत्र रहेको अलैँची जोनका कृषि विकास अधिकृत शम्भुप्रसाद देवले बताए ।

फुङ्लिङ नगरपालिकाका–११ मध्ये सबै वडामा किसानले अलैँचीखेती गर्दै आएका छन् । मैवाखोला गाउँपालिकामा छमध्ये सबै वडामा अलैँची उत्पादन हुँदै आएको कार्यालयले जनाएको छ । मिक्वाखोला गाउँपालिकाका पाँच वडा र फक्ताङलुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाबाहेक छ वटा वडामा अलैँचीखेती हुँदै आएको छ । आठराइ त्रिवेणी गाउँपालिकाका वडा नं ३, ४ र ५ र पाथीभरा याङ्वरक गाउँपालिकाको वडा नं १ र ३ मा किसानले अलैँची खेती गर्दै आएका छन् ।

त्यस्तै मेरिङ्देन गाउँपालिका–३ खाम्लुङबाहेक बाँकी पाँच वडा र सिरिजङ्गा गाउँपालिका–६ मामाङ्खेमा अलैँची खेती गरिन्छ । जिल्लामा रहेका कूल ६१ वडामध्ये प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोनले ३९ वटा वडामा कार्यक्षेत्र बनाएर कार्यक्रम गर्दै कार्यालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *