उदाउँदो सूर्यलाई अर्घ्य दिएर आज छठ पर्व सम्पन्न गरिँदै

डिसी नेपाल
१४ कार्तिक २०७९ ६:२०
40
Shares

काठमाडाैं। छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिंदै सम्पन्न गरिँदैछ। छठ पर्वअन्तर्गत हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी रातभर पूजाअर्चना गरेर नदी तथा पोखरी किनारमा बसेका बर्तालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठपर्व सम्पन्न हुनेछ।

सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ। छठका बर्तालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन्।

बर्तालुहरूले अर्घ्य सामग्री लिई सूर्यलाई पूजा अर्चना गर्दछन्। अर्घ्य सामग्रीमा ठेकुवा, कसार, केरा, उखु, मेवा–मिष्ठान, गेडागुडी, कन्दमूल र विभिन्न वनस्पति राख्ने परम्परा छ।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएमा यसको किरणको प्रभावले चर्मरोग नहुने र पुत्र लाभ हुने विश्वास समेत रहेको छ। सूर्य उपासनाबाट लाभ र आरोग्य प्राप्त हुने पनि विश्वास गरिन्छ।

छठ पर्वमा सूर्यलाई ‘छठी माई’ का रूपमा पूजा गर्ने चलन छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ।

छठ पर्वका लागि जनकपुरका पोखरी, वीरगञ्जको घडीअर्वा पोखरी, विभिन्न नदी तलाउ तथा राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत बाग्मती, शंखमुल, बल्खु, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *