रुपन्देही पननी गाडी दुर्घटनाः कारको सूचना दिनेलाई २५ हजार पुरस्कार घोषणा

डिसी नेपाल
१४ कार्तिक २०७९ २१:१६
224
Shares

भैरहवा । आज बिहान तीनजनाको ज्यान जाने गरी भएको दुर्घटनामा संलग्न कारको पहिचान अहिलेसम्म हुन सकेको छैन । कारको पहिचान नभएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सूचना जारी गर्दै कारको खोजीमा सहयोग पुर्‍याउन अपिल गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले प्रकाशित गरेको सूचनामा कारका बारेमा जानकारी दिनेलाई रु २५ हजार नगद पुरस्कारको घोषणा पनि गरेको छ । आज बिहान पौने ६ बजे ओमसतिया गाउँपालिका–४ पननीमा तीनजनाको मृत्यु भएको घटनामा हालसम्म ठक्कर दिने सवारीसाधनको पहिचान हुन सकेको छैन । ठक्कर दिने सवारीसाधन आकासे रङ्गको रहेको, अगाडि बम्परको भागमा रातो रङ्गको स्टिकरको गोलाकारभित्र ताराको चित्र रहेको, सानो सवारीसाधन भएको घटनास्थलमा फेला परेको गाडीको केही पार्टपुर्जाबाट देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

ठक्कर दिने कार भैरहवाबाट परासीतर्फ गइरहेको थियो । दुर्घटनापश्चात् सो कार फेरि भैरहवातर्फ नै फर्केका प्रत्यक्षदर्शीहरूले जानकारी दिए ।

भैरहवा परासी हुलाकी सडक खण्डमा भैरहवा तर्फबाट परासीतर्फ जाँदै गरेको नम्बर नखुलेको सवारीसाधनले पाँचजना पैदल यात्रीलाई ठक्कर दिएको थियो । त्यसमध्ये ३५ दिने शिशुसहित दुईजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा २८ वर्षीया प्रमिला कुर्मी, १४ वर्षीया सीमा कुर्मी र ३५ दिनको नाम नखुलेको शिशु रहेका थिए । सोही दुर्घटनामा परी २४ वर्षीया बन्दना कुर्मी र २६ वर्षीया मञ्जु कुर्मी घाइते भएका छन् । उनीहरूको उपचार भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयले सवारीसाधनको पहिचान खुल्ने सूचना दिन सर्वसाधारणमा अपिल गरेको छ । सूचना दिनेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट नगद २५ हजारको व्यवस्था गरिएको अर्यालले बताए । सूचना दिने व्यक्तिको विवरण गोप्य राखिने उनले जानकारी दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *