नौ वर्ष वैदेशिक रोजगारीमा बिताएका आचार्य गाउँ फर्किएर कृषिमा लागे
सिन्धुपाल्चोक । बिहानदेखि बेलुकीसम्म गाई–भैँसीको स्याहारसुसार गर्नु सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका- ५ का कुमार आचार्यको दैनिकी हो । बिहान ५ बजेदेखि साँझ नपरुञ्जेलसम्म उनी गाई–भैँसीको गोबर, भकारो, सोत्तर र खोलेपानी घाँसको बन्दोबस्तमै व्यस्त हुन्छन् । नौ वर्षमा चारभन्दा बढी देश चहारेर वैदेशिक रोजगारमा हण्डर र गोता खाएपछि उनी अहिले कृषि पशुपालनमा आकर्षित भएका हुन् । मिश्रित कृषि पशुपालन तथा एग्रिकल्चर फार्मबाट आधुनिक कृषि प्रणालीलाई अवलम्बन गरेका आचार्यको गोठमा चारवटा भैँसी र सातवटा गाई छन् ।
पशुपालन अलावा उनले झण्डै ४० रोपनी जग्गामा गोलभेँडा खेती गरिरहेका छन् । पाँचवटा टनेलमा गोलभेँडा खेती गरिरहनुभएका आचार्यले १० रोपनी जग्गामा अदुवा र बेसार खेतीसमेत गरिरहेका छन् । मलेसिया, कतार, साउदी, भारतको तातो घाममा आचार्यको पसिना बगे । मेहेनत र परिश्रम खेर गयो । दुःख बिते । समय बित्यो । तर, आस, हुटहुटी र हिम्मत भने जीवितै रह्यो । त्यहीँ हुटहुटी, हिम्मत र आसले उहाँको जीवनले नयाँ मोड लियो । त्यहीँ नयाँ जीवनको सारथि बनेर आचार्य अहिले स्वदेशमै पसिना बगाइरहेका छन्। विदेशमा कमाएको केही पैसाले कृषि क्रान्तिमा लाग्नुभएका आचार्यले झण्डै ३० रोपनी जग्गामा फूल, कागती, आँप, लिचीखेती गरिरहेका छन् ।
कृषिका विभिन्न आयामहरूसँग जुधिरहेका आचार्य अब बाँकी जीवन सुखसाथ कृषि पेसामै बिताउने बताउँछन् । ‘‘अब बाँकी जीवन स्वदेशमै बिताउँछु । आफ्नै गाउँको माटोमा पसिना बगाउँछु’’,उनले भने । उनी कृषि सुकिलो मुकिलो नभए पनि आत्मनिर्भर पेसा रहेको बताउँछन् ।
मान्छेले झट्ट कृषि पेसा नरोज्ने आचार्यको बुझाई छ । “मान्छेले झट्ट कृषि पेसा रोज्दैनन् । प्राय धेरै सुकिलो मुकिलो भएरै हिँड्न मन पराउँछन् । तर,कृषिमा सधैँभरि सुकिलो मुकिलो भएर हिँड्ने छुट छैन । कृषिमा त गोबर,भकारो,माटोसँग रमाउन सक्नुपर्छ’’,उनले भने । उनी आफ्नै गाउँको चिसो हावा र माटोसँग खेल्दा जति आनन्द विदेशमा काम गर्दा नआएको बताउँछन्।
सङ्घर्ष गर्ने उमेरको आधाआधी जीवन विदेशमा बिताउनुभएका आचार्य नेपाली युवालाई खाडी मुलुक नजान सुझाउछन् । ‘‘नेपालमै आयस्रोतका धेरै आयाम छन् । नेपाली युवा काम गर्ने वातावरण छैन भन्दै विदेश हाँकिन्छन् । त्यहाँ पनि कामै गर्ने हो, पसिनै बगाउने हो । त्यो पसिना नेपालमै बगाए राम्रो हुन्थ्यो”, उनले भने ।
आचार्य ११ वटा गाई र भैँसीको झण्डै सय लिटर दूध मोटरसाइकलमै हालेर बजारसम्म पु¥याउँछन् । गाईवस्तुको खानपान र औषधिबाहेक पनि आचार्यको हातमा मासिक रु ९० हजार पर्छ । “गरे जे पनि हुने रहेछ । विदेशमा ३० हजार कमाउन रात दिन नभनी काम गर्नुपथ्र्यो । तर म अहिले घरै बसी–बसी रु ९० हजार कमाउँछु”, उनले भने । रु ३० हजार कमाउन खाडीमा १८ घण्टासमेत काम गरेको तितो अनुभव आचार्यसँग छ ।
उनी भन्छन्, “विदेशमा रु ३० हजार कमाउन अठार–अठार घण्टासमेत काम गरियो । आज ती दिन सम्झँदा आङै सिरिङ्ग सिरिङ्ग हुन्छ”, उनी युवालाई कृषिमा प्रोत्साहन गर्ने हो भने नेपाल कृषिमा आत्मनिर्भर बन्ने बताउँछन् । ‘‘नेपालबाट दैनिकरूपमा सयौँ नेपाली विदेश जान्छन् । त्यसलाई रोकेर कृषिमा युवालाई प्रोत्साहन गर्ने हो भने नेपाल कृषिमा आत्मनिर्भर हुन्छ”, उनले भने ।
आचार्यले नेपालमै नयाँ र नौला प्रयोगमा रहेको सिताके च्याउको समेत व्यावसायिक खेती गरिहेका छन्। विसं २०७५ मा पाँच सय मुढाबाट व्यावसायिक च्याउखेतीको सुरुआत गरेका उनले अहिले १५ सय मुढामा च्याउखेती गरिररहेका छन् । उनी च्याउखेतीको बजार राम्रो रहेको तर उत्पादन ढिला भएको बताउँछन् । “बजारमा सिताके च्याउको माग अत्यधिक छ । तर उत्पादन ढिला भइरहेको छ । यसले पनि हामीले बजार मागलाई सम्बोधन गर्न सकिरहेका छैनौँ”, उनले भने ।रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment