स्वास्थ्य केन्द्रलाई मतदान केन्द्र तोकिँदा स्थानीयवासीको विरोध

डिसी नेपाल
१८ कार्तिक २०७९ १७:२९

झापा । मेचीनगर नगरपालिका–१० मा रहेको प्राथमिक धुलाबारी स्वास्थ्य केन्द्रमा मतदान केन्द्र तोकिएकामा स्थानीयवासीले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन् ।

स्वास्थ्यचौकीजस्तो अति संवेदनशील स्थानमा मतदान केन्द्र तोकिँदा बिरामीलाई असर पर्ने जनाउँदै स्थानीयवासीले विरोध जनाएका हुन् । मेचीनगर¬–१० खयरडाँगीका महेश खड्काले विगतमा स्वास्थ्य केन्द्रमा मतदान हुँदै गर्दा एम्बुलेन्समा आएकी एक गर्भवती महिलाले सुविधा नपाउँदा मन खिन्न भएको कुुरा सामाजिक सञ्जालमा उल्लेख गर्दै आगामी निर्वाचनमा मतदान केन्द्र नबनाइ दिनका लागि आग्रह गरेका छन्।

उनले भनेका छन्, “आँखै अगाडि देखेको यो घटनाले जीवनभर घोचिरहनेछ । अब आउने दिनमा हेल्थ पोस्टलाई निर्वाचन केन्द्र बनाउँदै गर्दा स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुन नपरोस् ।” झापा क्षेत्र नं १ मा रहेको यस केन्द्रमा मतदान केन्द्र तोकिएकामा स्थानीय समाजसेवी देवीमाया गौतमले पनि विरोध जनाएकी छन् ।

उनले निर्वाचन कार्यालयले विगतमा पटकपटक गरेको गल्ती यसपालि पनि दोहो¥याएको भन्दै आपत्ति जनाएका हुन् । उनले हरेक नागरिकको २४ घण्टै पाउनुपर्ने स्वास्थ्योपचारको अधिकारमाथि निर्वाचन कार्यालयले हनन गरेको आरोप लगाए ।

क्षेत्र नं १ का निर्वाचन अधिकृत टङ्कबहादुर महतले स्वास्थ्य केन्द्रलाई मतदान केन्द्र बनाउनु उचित नभए पनि तत्काल विकल्प नभएको बताए । उनले भने, “पहिलादेखि नै कसरी रह्यो, पहिल्यै सुधार गर्नुपथ्र्यो । अब ठाउँ तोकिएको स्थानबाट ठाउँ सार्न पाइँदैन, अर्को उपाय छैन ।”

उनले स्वास्थ्य केन्द्रमा मतदान केन्द्र बनाउँदा बिरामीलाई असर पर्नेमा आफू चिन्तित भए पनि तत्काल केही गर्न नसकिने बताए । झापामा दुई सय ८५ मतदानस्थल र सात सय ५५ मतदान केन्द्र रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *