सत्ता गठबन्धन

मतदातासँग डर, प्रधानमन्त्रीका लागि भने हानाथाप

डिसी नेपाल
२२ कार्तिक २०७९ ११:१२

काठमाडौं। प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतदानको दिन आउन २ साताभन्दा कम समय बाँकी रहँदा दलहरु अन्तिम कसरतमा लागेका छन्। पछिल्लो समय दलहरु कुल दलको कति सिट आउने र आगामी सरकार कसरी बन्ने भन्ने जोडघटाउमा व्यस्त छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन्। बाबुराम भट्टराईको पार्टी समेत माओवादीकै चुनाब चिन्ह लिएर गठबन्धनमा छ।

उता एमालेले केही क्षेत्रमा जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गरेको छ। एमालेले ‘५ वर्ष एमालेले गर्छ’ भन्ने नारासहित चुनाबी मैदानमा जाँदा उसका सहयात्री दलहरु सबैले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सारेका छन्।

तर, गठबन्धनले भने प्रधानमन्त्रीको रुपमा कसैलाई अघि सारेको छैन। र, गठबन्धनमा प्रधानमन्त्रीको यो विषय भोलि किचलो बन्न सक्ने देखिएको छ। पछिल्लो अवस्था हेर्दा गठबन्धन निर्वाचनपछि पनि सत्ता गठबन्धनमा परिणत भयो भने उसकै सरकार बन्न सक्ने सम्भावना देखिएको छ।

पछिल्ला प्रक्षेपणले नेपाली कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो बन्ने र कुनै पनि पार्टीको बहुमत नहुँदा गठबन्धन सरकार बन्ने देखाएका छन्। एमालेले निर्वाचनमा आफूले जित्ने दावी गरिरहेको भए पनि भित्री रुपमा भने आफू दोस्रो दल बन्ने कुरालाई लगभग स्वीकार गरेको देखिन्छ।

गठबन्धनभित्र प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म अर्को पटक प्रधानमन्त्री बन्नेबारे केही बोलेका छैनन्। तर, कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले भने आफ्नो दल पहिलो हुने र प्रधानमन्त्रीमा आफ्नो दलको दावी रहने संकेत गरिसकेका छन्। उता माओवादीले पनि आफू निर्णायक तेस्रो शक्ति बन्ने र प्रधानमन्त्रीमा दावी रहने जनाउ दिइसकेको छ।

किनकि केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाबपछि गठबन्धनभित्र प्रधानमन्त्री को बन्ने भन्ने विषयमा विवाद हुने र गठबन्धन फुट्ने दावी गरेका थिए। ६ महिनाअघि भएको स्थानीय निर्वाचनको परिणाम हेर्दा पनि गठबन्धन नफुटेको अवस्थामा गठबन्धनको बहुमत आउन सक्ने देखिन्छ।

तर, पछिल्लो ६ महिनामा मतदाताको राजनैतिक सोचमा आएको परिवर्तन र स्वतन्त्र चुनाब लडेर केही प्रभावशाली व्यक्तिहरु स्थानीय तह प्रमुख बनेको दृष्टान्तले मतदाताको मुड ‘स्विङ्ग’ हुन सक्ने सम्भावना पनि बलियो छ।

गठबन्धनभित्र प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म अर्को पटक प्रधानमन्त्री बन्नेबारे केही बोलेका छैनन्। तर, कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले भने आफ्नो दल पहिलो हुने र प्रधानमन्त्रीमा आफ्नो दलको दावी रहने संकेत गरिसकेका छन्।

उता माओवादीले पनि आफू निर्णायक तेस्रो शक्ति बन्ने र प्रधानमन्त्रीमा दावी रहने जनाउ दिइसकेको छ। ५ वर्षअघिको निर्वाचनमा जितेका सांसदहरुको संख्या हेर्दा गठबन्धन बहुमतमा भए पनि अहिले पनि त्यही अवस्था रहनको लागि गठबन्धनका कैयौं उम्मेदवारहरुलाई अर्को दलको मतको भर पर्नुपर्ने अवस्था छ।

यो समस्या सबैभन्दा धेरै नेकपा एकीकृत समाजवादीमा छ। पूर्व एमाले सांसदहरु अहिले नेकपा एसका उम्मेदवार छन् तर उनीहरुको संगठन नै नभएकोले उनीहरु पूर्ण रुपमा कांग्रेस र माओवादीका मतदाताको भर परेका छन्।

तुलनात्मक रुपमा माओवादीको संगठन नेकपा एसको भन्दा बलियो छ तर यो माओवादीलाई ‘निर्णायक’ तेस्रो शक्ति बनाउन पर्याप्त छैन। आफ्नै मतले माओवादीलाई तेस्रो दल त बनाउला तर यसले उसको हैसियत ‘निर्णायक’ हुने छैन।

यस अर्थमा माओवादी पनि धेरै हदसम्म कांग्रेसमा निर्भर छ। अर्को दलमाथिको निर्भरता गठबन्धनका लागि सबैभन्दा ठूलो त्रासको विषय बनेको छ। यो डर गठबन्धनले पटक पटक आफ्ना कार्यकर्ता र मतदाताका लागि जारी गरेका अपिलमा पनि झल्किन्छ।

यी अपिलमा गठबन्धनमा रहेका जुनसुकै दलमा आस्था राख्ने मतदाता भए पनि गठबन्धनको साझा उम्मेदवारलाई मतदान गर्न आग्रह गरिएको छ।

चुनाव अघि नै प्रधानमन्त्रीको उम्मेदवार तोक्ने चलन लोकतान्त्रिक मुलुकहरुमा हुन्छ। तर सत्ता गठबन्धनले अहिलेसम्म चुनावपछि प्रधानमन्त्री को भन्ने अहिलेसम्म तोक्न नसक्नुले गठबन्धनभित्र प्रधानमन्त्रीलाई लिएर विवाद हुने सक्ने कारणका रुपमा बुझ्न सकिन्छ।

स्वाभाविक रुपमा गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेस चुनावपछि पनि ठूलो दल बन्न सक्छ। तर अहिलेसम्म कांग्रेसले औपचारिक रुपमा चुनावपछिको प्रधानमन्त्री कांग्रेसबाटै हो भन्न सकेको छैन। बरु चुनावमा निर्णायक तेस्रो शक्ति बन्ने लक्ष्य लिएको माओवादी केन्द्रले सरकारको नेतृत्व आफूले पाउनु पर्ने दाबी गर्न थालेको छ।

उता निर्वाचन पछि पुन शक्तिमा फर्किने दाबी गर्दै आएको एमालेले भने आफ्नो सम्पूर्ण ध्यान चुनावमा एमालेलाई बहुमत दिलाउनेमा केन्द्रित गर्दै चनावपछि अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन गर्ने घोषणा गरेपनि सत्ता गठबन्धन भने अलमलमा परेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *