प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन आरजुको चलखेल

आइजीपी सिंहसँग गाेप्य छलफल

डिसी नेपाल
१४ मंसिर २०७९ २१:३५

काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिलाई हटाउने अन्तिम तयारी गरिएको छ । नयाँ सरकार नबन्दै नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहलाई नै निरन्तरता दिने गरी ३० वर्षे सेवा अवधि हटाउन लागिएको हो ।

‘नेपाल प्रहरीमा रहेको ३० वर्षे सेवा अवधि हटाउन गृहमन्त्रालका अधिकारीहरुले कानुन संशोधनको तयारी गरेका छन्, माथिको आदेश भन्दै गृहसचिव विनोद प्रकाश सिंहले कानुन शाखालाई आवश्यक तयारी गर्न निर्देशन दिएका छन्’, गृहमन्त्रालयका उच्च अधिकारीले भने ।

नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि हटाउन तत्काल अध्यादेश ल्याउने बिषयमा बुधबार अपरान्ह ललितपुरस्थित एक घरमा छलफल भएको थियो । स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाले आफ्नै भाइ भूषण राणाको घरमा नेपाल प्रहरीका आइजीपी सिंहलाई बोलाएर सो विषयमा छलफल गरेकी थिइन ।

सोही छलफल पछि आरजु राणाले त्यहीबाट गृहसचिवलाई फोन गरेर प्रधानमन्त्रीको आदेश भन्दै नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि हटाउनका लागि कानुन संशोधन गर्ने तयारी गर्नु भनेको स्रोतले जनाएको छ।

प्रहरीमा ३० वर्षे सेवा अवधि लागू भएदेखि नै सरकारले ठूलो नोक्सानी बेहोर्दै आएको जनाउँदै यसअघिका प्रहरी आइजीपीहरुले सेवा अवधि हटाउने कोसिस गरेका थिए। तर सकेका थिएनन्। अहिले सिंह भने यो मामिलामा सफल हुने देखिएको छ।

५८ वर्षसम्म सहजै काम गर्न सक्ने प्रहरी अधिकारीलाई ३० वर्षे सेवा अवधिका आधारमा ४८ वर्षमै अवकाश दिँदा पेन्सनका नाममा राज्यलाई ठूलो आर्थिक भार पर्दै आएको प्रहरी अधिकारीहरुको दावी थियो। सोही कारण देखाएर नेपाल प्रहरीका केही अधिकारीहरुले ३० वर्षे प्राब्धान हटाउने कोसिस गरिरहेका थिए।

प्रधानमन्त्री पत्नी आरजु राणाले गत असोजमा पनि ३० वर्षे सेवा अवधि हटाउन गृहमन्त्री बालकृष्ण खाँण र गृहसचिवलाई निर्देशन दिएकी थिइन्। तर त्यतिबेला रविन्द्र धानुकलाई देखाएर रोकिएको थियो।

माओवादी कोटामा एआइजी भएका धानुकको अवकाशपछि मात्रै हटाउने भन्दै रोकिएको थियो। ‘सिंह आइजीपीमा नियुक्ति भएपछि बाटै ३० वर्षे सेवा अवधि हटाउने कोसिस भएको हो, केही प्राविधिक कारणले मात्रै रोकिएको थियो , नयाँ सरकार पनि गठबन्धनकै बन्ने भएकाले आरजु राणाको दबाब आएको छ, नयाँ सरकारलाई दोष दिनुभन्दा अघि नै नियमावली संशोधन गरेर नेपाल प्रहरीको सेवा अवधि हटाउन लागिएको हो’, स्रोतले भन्यो।

स्रोतका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीमा आरजु देउवा र प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले हस्तक्षेप गर्दै आएका छन्। प्रहरीको सेवा अवधि हटाउने विषय पनि राणाले दबाब दिएकी हुन्। अहिले सेवा अवधि हटाएपछि आरजु राणाले डिआइजी अशोक सिंहलाई पहिलो नम्बरमा एआइजी बढुवा गर्नपनि दबाब दिएकी छिन्।

‘बुधबार दिउसो आइजीपी जावलाखेल पुगेका थिए, आरजु राणासँगको करिब एक घण्टाको बसाईमा ३० वर्षे सेवा अवधि कसरी हटाउने भन्ने बारेमा छलफल गरेर निस्केका हुन् गृहमन्त्रालयले त्यसको तयारी थालिसक्यो’, स्रोतले भन्यो। बुधबार अपरान्हको सो बैठकमा सशस्त्र प्रहरीका आइजीपी राजु अर्याल पनि सहभागी थिए।

प्रहरीमा ३० वर्षे सेवा अवधि हटेमा वर्तमान आइजीपी सिंहको अनिवार्य अवकाश हुनेछैन। उनले अरु दुई वर्ष सेवामा रहन पाउनेछन्। उनीसँगै अवकाशमा जाने एआइजीहरुको पनि सेवा अवधि थपिनेछ । नयाँ सरकार बन्नुअधि नै अध्यादेशको यो चलखेलले प्रहरीहरु फेरि के भॉडभैलो हुने हो भनेर सशंकित छन्।

लोहनीलाई उपत्यकाको जिम्मेवारी

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिवेश लोहनी काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको छ। एआइजी रविन्द्र धानुक अनिवार्य अवकाश पाएपछि रिक्त रहेको उपत्यका प्रहरी कार्यालय प्रमुखमा सरकारले काज सरुवा गरेको हो।

कात्तिक २५ गते रबिन्द्रबहादुर धानुक अनिवार्य अवकास भएपछि उपत्यका प्रहरी प्रमुख रिक्त भएको थियो। लोहनी आईजीपी धीरजप्रताप सिंहकै ब्याची हुन्। उनी चैतमा आईजीपीसँगै अवकाश हुनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *