कमजोर बन्दै अमेरिकी डलर, बाह्य क्षेत्रको दबाब झेलिरहेको नेपाललाई राहत

डिसी नेपाल
१६ मंसिर २०७९ ९:५०

काठमाडौँ। एक सातामा अमेरिकी डलर कमजोर हुँदै गइरहँदा नेपाली मुद्रा बलियो बन्दै गइरहेको छ। अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा बलियो बनेपछि नेपाली मुद्रा समेत प्रभावित भएको हो।

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार एक अमेरिकी डलरको नेपाली खरिद मूल्य  १२९.६५ रुपैयाँ पुगेको छ भने बिक्री दर १३०.२५ रुपैयाँ कायम छ । गत बुधबार खरिद दर १२९.९८ रुपैयाँ र बिक्री दर १३०.५८ रुपैयाँ थियो।

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्ष जेरोम पवेलले ब्याजदरमा वृद्धिदरको गति घटाउने संकेत गरेपछि डलर कमजोर हुँदै गइरहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विदेशी पुँजी प्रवाह बढ्ने र घरेलु सेयर बजारमा वृद्धि भएपछि डलरको भाउ कमजोर भएको छ । फेडले ब्याजदरलाई डिसेम्बरभित्रै कम गर्ने अनुमान समेत गरिएको छ।

यस्तो छ डलर र नेरुको एक साताको ट्रेन्ड
शुक्रबार – खरिद दर : १२९.६५, बिक्री दर : १३०.२५
बिहीबार – खरिद दर : १२९.९८ बिक्री दर : १३०.५८
बुधबार – खरिद दर : १३०.४६ बिक्री दर : १३१.०६
मंगलबार – खरिद दर : १३०.३८ बिक्री दर : १३०.९८
सोमबार – खरिद दर : १३०.४० बिक्री दर : १३१
आइतबार – खरिद दर : १३०.४० बिक्री दर : १३१

बाह्य क्षेत्रमा राहत
नेपालको अर्थतन्त्रमा पछिल्लो डेढ वर्षदेखि बाह्य क्षेत्रमा परेको चापलाई राहत पुग्ने देखिन्छ। विश्व बजारमा रुस/युक्रेन युद्धका कारण आपूर्ति प्रणाली खलबलिएसँगै महँगी चुलिएपछि आयातमुखी अर्थतन्त्र भएका नेपाल जस्ता देशलाई विदेशी मुद्राको संकट परिरहेको छ। शोधनान्तर घाटामा पुगेपछि बैंकिङ प्रणालीमा तरलता असहजता बढ्दै गएर ब्याजदर वृद्धि तिव्र भएको छ । यसले उत्पादन र लगानीको क्षेत्रमा मन्दीको अवस्था निम्त्याएको छ।

डलर कमजोर बन्दा नेपालले आयात गरेबापत बाहिर पठाउने मुद्रा सस्तो पर्न जान्छ। जसले आयातमार्फत शोधनान्तरमा परेको चापलाई समेत कम गर्ने देखिन्छ। डलर सस्तो हुनु भनेको एक किसिमले महँगी दरमा समेत कमी आउनु हो।

त्यस्तै डलर सस्तो हुँदा विदेशमा पढ्न जाने नेपाली विद्यार्थीले तिर्ने शुल्क पनि घट्ने छ। त्यस्तै नेपालले वैदेशिक विकास साझेदारहरूसँग लिएको ऋणको साँवाब्याजको दायित्व समेत कम पर्ने हुन्छ। डलरको भाउ घटेसँगै भुक्तानीमा पनि सहजता आउने भएकाले बाह्य क्षेत्रमा चाप घट्ने अर्थशास्त्रीहरूको अनुमान छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *