गण्डकीका मुख्यमन्त्रीलाई आफ्नै कार्यकर्ताले कालोपट्टी देखाएपछि…

डिसी नेपाल
२७ पुष २०७९ ११:०३
144
Shares

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई आफ्नै कार्यकर्ताले कालोपट्टी देखाएपछि नगरसभामा तरंग ल्याएको छ। उनलाई पहिलो कार्यक्रममै आफ्नै कार्यकर्ताले कालो पट्टी देखाएका हुन्।

मुख्यमन्त्रीको शपथ लिएको भोलिपल्ट मंगलबार पोखरा महानगरको नगरसभामा सहभागी हुन पुगेका अधिकारीलाई एमाले तर्फकै दलित समुदायका जनप्रतिनिधिहरुले कालोपट्टी देखाएका हुन्। जसले नगरसभाभित्र तरंग ल्याएको हो।

महागरका एकजना वडाध्यक्षले आफ्नै वडा सदस्यलाई जातीय रुपमा विभेद गरेको आरोप छ। पोखरा २४ का अध्यक्ष भरत अधिकारीलाई जातीय विभेदको आरोपमा प्रहरीले पक्राउ गरिसकेको छ। सोही मुद्दालाई लिएर दलित जनप्रतिनिधिहरुले नगर सभामा विरोध गरेका हुन्।

त्यसको मारमा परे, मुख्यमन्त्री अधिकारी। मुख्यमन्त्रीले बोल्ने समयमा दलित समुदायका जनप्रतिनिधिले कालोपट्टी बाँधेर सम्बोधन गरेका हुन्। विरोध स्वरुप उठेका उनीहरुको नेतृत्व गरिरहेका दीपक घिमिरे विश्वकर्मालाई उपमेयर मन्जुदेवी गुरुङले बोल्न समय दिइन्। उनी सीधै रोष्ट्रममा पुगे र ध्यानाकर्षण पत्र बुझाए।

एक्कासि विरोध प्रदर्शन गरेपछि सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री अधिकारीले सम्वादबाट समस्या समाधान गर्न सकिने भन्दै विरोधलाई खासै वास्ता गरेनन्। उनले आफु पनि न्यायको पक्षमा रहेको प्रतिक्रिया दिए। उद्घाटन समारोह सकिएपछि अदालती प्रक्रियामा प्रवेश भइसकेको विषयमा बखेडा झिकेर प्रमुख अतिथि माथि नै अपमान गरेको भन्दै कांग्रेसका जनप्रतिनिधिहरुले भने उक्त कार्यको विरोध गरेको छ।

कार्यसूचीमै नभएको विषय एमालेले झिकेको भन्दै उनीहरु बहिष्कार गरेर सभाबाट बाहिरिएपछि नगर सभा नै अनिश्चित कालका लागि स्थगित भएको छ।

कांग्रेसका नेता दिवसमान प्रधानांगले कार्यसूचीमा नभएका कुरा निकालेर अनुशासनहिन काम गरेको आरोप लगाए। ‘यसको आफ्नै गरिमा र मर्यादा छ। साथीहरुले सबै बिर्सिनुभयो,’ उनले भने, ‘घटनाबारे मेयर र उपमेयरले जवाफ दिनुपर्छ। जवाफ नदिँदासम्म हामी बहिष्कार गर्छौं।’ त्यसपछि मेयर धनराज आचार्यले अर्को महिना मात्रै सभा बस्ने भन्दै सभा स्थगित गरिदिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.