चौरजहारीका मेयर वादीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार वादीसँगै चौरजहारीका असिस्टेन्ट सबइन्जिनियर मोहन शाहलाई सजायको माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो।
मेयर वादीविरुद्ध नगरपालिकाको असिस्टेन्ट सबइन्जिनियर पदमा कार्यरत शाहको करार अवधि थप्न घुस लिएको आरोप छ। सबइन्जिनियर शाह आफैँले मेयर वादीलाई एक लाख रुपैयाँ घुस खुवाएको भन्दै अख्तियारमा उजुरी दिएका थिए।
आर्थिक वर्ष २०८१/८२ मा एक लाख घुस दिएर करार थपिएको अनुसन्धानबाट खुलेको छ। आर्थिक वर्ष २०८२/८३ मा पुनः एक लाख घुस दिन नसक्दा करार अवधि नथपी बर्खास्त गरेको भनाइ सबइन्जिनियर शाहको थियो।
अख्तियारले घुस लिने र दिने कार्यमा दुवैजना दोषी रहेको दाबीसहित सजायको माग राखेर भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। अख्तियारले घुसबापतको एक लाख रुपैयाँ जफत, विगोबमोजिम जरिबाना र विगोको अनुपातमा अदालतसमक्ष सजायको माग गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment