निक्षेपको ब्याजदर घटाउने निर्णयको स्वागत

डिसी नेपाल
२९ पुष २०७९ ७:२४

काठमाडौं। नेपाल उद्योग परिसंघ (सिएनआई)ले अर्थतन्त्रमा लगानीयोग्य पुँजी अभाव, निष्क्रिय कर्जामा भइरहेको तीव्र वृद्धि, उच्च ब्याजदरलगायतका कारण निजी क्षेत्रको मनोबल खस्किएका बेलामा निक्षेपको ब्याजदर घटाउने नेपाल बैंकर्स एसोसिएसनको सहमतिको स्वागत गरेको छ।

मागमा आएको संकुचन, उच्च ब्याजदरका कारण लगानी महँगो हुँदा नयाँ लगानीका योजना स्थगन भइरहेका जसले अर्थतन्त्र नै संकुचित बनाइरहेको सिएनआईको भनाइ छ।

निजी क्षेत्रको खस्किएको मनोबल उकास्न, अर्थतन्त्रलाई गति प्रदान गर्न ब्याजदर घटाउनुपर्नेमा जोड दिँदै आएको सिएनआईले बैंकर्सको पछिल्लो निर्णय चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनः लयमा फर्काउन सहयोगी हुने विश्वास व्यक्त गरेको छ।

निक्षेपको ब्याजदर घटेसँगै लागत घट्ने, जसले आधार दर(बेसरेट) र कर्जाको ब्याजदर पनि घटाउने सिएनआईको आंकलन छ। कर्जाको ब्याजदर घट्दा उद्योग व्यवसायमा लगानी विस्तार हुने र उद्योगी व्यवसायीको खस्किएको मनोबल उकास्न सहयोगी हुने बताइएको छ।

सिएनआईले हालै गरेको एक सर्वेक्षणमा करिब ७० प्रतिशत व्यवसायीले लगानी विस्तारको योजना स्थगन गरेको बताएका थिए। ब्याजदर घटेपछि लगानीकर्ताले आफ्नो लगानी विस्तार योजनालाई अघि बढाउने र समग्र मागमा वृद्धि आउने हुँदा अर्थतन्त्र चलायमान हुने सिएनआईको भनाइ छ।

नेपाल राष्ट्र बैंकले गत साता चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ मा लचकता देखाउँदै गरेको संशोधनले निजी क्षेत्रको खस्केको मनोबल उकास्न केहीमात्रामा भए पनि सकारात्मक सञ्चार प्रवाह गरेको बताइएको छ।

साथै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् थप तरलता प्रवाह बढाउने, उद्योग क्षेत्रमा जाने कर्जामा आधार दरमा दुई प्रतिशतभन्दा अधिक प्रिमियम जोड्न नपाउने गरी नीतिगत सुधार गर्न पनि सिएनआईले आग्रह गरेको छ।

नेपाल बैंकर्स संघले बैंकको ब्याजदर घटाएको छ। वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको बैठकले पुस महिनामा लागू ब्याजदर घटाएर माघ महिनामा ११ प्रतिशत कायम गर्ने निर्णय गरेका हुन् ।

राष्ट्र बैंकले हरेक महिनाको मसान्तमा अर्को महिनामा लागू हुने ब्याजदर सार्वजनिक गर्नुपर्ने प्रावधान राखेको छ। जसमा बैंकहरूले अघिल्लो महिनामा लागू ब्याजदरको औसतले १० प्रतिशतले थपघट गरेर ब्याजदर तोक्न पाउँछन् ।

बैंकहरूले माघमा पुसमा लागू निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको बैंकर्स संघले जनाएको छ। हाल वाणिज्य बैंकहरूले मुद्दतीमा १२.१३३ प्रतिशत ब्याज दिइरहेका छन् भने साधारण बचतको ब्याजदर ७.१३३ प्रतिशत रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *