यहाँभन्दा कति खानु हो ‘आमाको रगत’ ?

डिसी नेपाल
११ माघ २०७९ ६:३७

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री एवं उर्जा मन्त्री राजेन्द्र लिङ्देन र उनको पार्टीका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा संविधानले व्यबस्था गरेकोभन्दा बढी एक लाइन थपेर शपथ लिए।

जनतालाई सुनाएर ईश्वरका नाममा लिएको सो शपथमा भ्रष्टाचार गरे आमाको रगत खाए बराबर हुन्छ भनिएको थियो। शपथ खाएकै भोलिपल्ट यसरी शपथ खानेमध्येका एक सहरी विकास मन्त्री विक्रम पाण्डेका बारेमा धेरै समाचारहरु प्रकाशित भए।

उनले अर्बौं रकमका ठेक्काहरु लिएर अधिकांशलाई पूरा नगरी अलपत्र पारेका र पूरा भएकाहरु पनि धेरैजसो गुणस्तरीयता कायम नगरिएका विवरणहरु सार्वजानिक भएका छन्।

यसअघि दुईपटक मन्त्री भइसकेका बिक्रम पाण्डेले ती बेलामा आमाको रगतको शपथ खाएका थिएनन्। यसपटक अध्यक्ष लिङ्देन नले ल्याएको यो नारामा विक्रम पाण्डेको पनि साथ थियो।

आमाको रगतको शपथ नलिनेचाहिँ भ्रष्टाचार गर्नुपर्छ भनेको होइन तर शपथ कडा गरेर देश बर्वादीको पनि उत्तिकै जिम्मेबार बन्नुचाहिँ झन् घातक र मुलुकविरुद्ध अपराधपूर्ण काम हो।

यसले केही गम्भीर प्रश्नहरु उठाएको छ। यहाँभन्दा कति खाने हो मुलुकको राजश्व,जनताको कर? कतिसम्म मुलुकको रकममा राइँदाइँ गर्दाचाहिँ आमाको रगत खाए सरह हुने हो? के रगतको आहालमा चुर्लुम्मै डुबुल्की मार्दामात्रै त्यो चरणमा पुगिने हो कि? अध्यक्ष लिङ्देनले पाण्डेलाई मन्त्री पदमा छनौट गर्नुअघि आमाको रगत खाएको मानिने भ्रष्टाचारको सिलिङ पनि तोकिदिएका भए उनले सोचेको पारदर्सिता प्रकट हुने थियो कि?

सार्वजानिक भएका तथ्यहरुका अनुसार, मुलुकका विकास निर्माणका ५७ अर्व रुपैयाँ बराबरका ठेक्का मन्त्री पाण्डेका हातमा छन्। उनको कालिका कन्स्ट्रक्सन र सोसँग ज्वाइन्ट भेन्चर गरेर आधा खर्ब भन्दा बढी मुलुकको बजेट पाण्डेको निजी कम्पनीले चलाइरहेको छ।

र, यीमध्ये केहीमा भ्रष्टाचार भयो भनेर विगतमा मुद्दा पनि चलिसकेको छ भने केही अनुसन्धान र अनुगमनको तहमा छन्। उनले जिम्मा लिएका काठमाडौंको गोकर्णदेखि भत्केको पुलसम्मको सडक निर्माणको काम सबैका अगाडि छर्लङ्ग छ।

भएको काममा गुणस्तर छैन। सडक धुलाम्य, हिलाम्य छ। यो दुई अर्ब हाराहारीको प्रोजेक्ट हो भने सवाअर्वको नख्खुखोला करिडर सडक निर्माणको हालत जनताका आँखामा झल्झल्ती नै छ।

यिनकै जिम्मामा रहेको सर्बोच्च अदालत भवनबारे यसअघि नै धेरै इस्यूहरु आइसकेका छन्। तत्कालीन कामु प्रधानन्यायाधीश दीपक कार्कीले यो निर्माण सम्झौता भएदेखि नै भ्रष्टाचार भएकाले छानविन गर्नु भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार नै गरेका थिए।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले पाण्डेको कम्पनीसँग मिलेर भ्रष्टाचार गरेको आरोपसहित कार्कीले छानविनको लागि पत्र लेखेका थिए। तर, प्रधानन्यायाधीशको हैसियतमा लेखिएको पत्र पनि त्यत्तिकै ढिसमिस भयो पारियो।

आमाको रगतको शपथ नलिनेचाहिँ भ्रष्टाचार गर्नुपर्छ भनेको होइन तर शपथ कडा गरेर देश बर्वादीको पनि उत्तिकै जिम्मेबार बन्नुचाहिँ झन् घातक र मुलुकविरुद्ध अपराधपूर्ण काम हो।

यो प्रकरणले पाण्डेले खाएको मुलुकको राजश्व र उनले बाँडेको घुस कति शक्तिशाली रहेछ भन्ने प्रमाणित गरिदियो। पृथ्वीनारायण शाहलाई आदर्श पात्र मानेर उनको जन्मदिनमा राष्टिय विदा घोषणा गराउन सफल पाण्डे र उनको दलले घुस दिन्या र घुस खान्या दुबै मुलुकका शत्रु हुन् भन्ने उनै राजाको महावाणीलाई चाहिँ धुजाधुजा पारेर च्यातेको पाण्डेका ठेकेदारी र उनका गतिविधिले देखाउँदैन र?

आधा खर्व रकमका ठेक्का पट्टामा बाँडिएका घुसले आमाको रगत घुसका रुपमा बाँडेको देखिँदैन र? अरुलाई घुस बाँड्नेले आफू चोखो छ बाँडेको मात्र हो भनेर जनताले चित्त बुझाइदिनु पर्ने हो? उनीमाथि भएका अनुसन्धानले उनले घुस बाँडेको आरोप लागेर मुद्दा खेप्नु परिसकेको जगजाहेर नै छ।

त्यसैले अव लिङ्देन वा उनी स्वयंले तोकिदिनु पर्ने हो कि त कति खाए वा खुवाए आमाको रगत खाए सरह हुन्छ भनेर। उनका परियोजनाहरु विवादमुक्त छैनन्, अधिकांशमा समयसीमाको बेवास्ता गरिएको छ, कमसल निर्माणसामग्री प्रयोग भएको र मापदण्ड पालना नगरेकोमा पटक पटक चर्चामा छन्।

र सबैभन्दा महत्पपूर्ण कुरा यी सबै परियोजनाहरु नेपाली जनताले तिरेको करबाट चल्दै गरेका हुन्, नेपाल आमाको रगतबाट भाग लगाएर दिइएका हुन्। विकास निर्माणको काम ठेक्का पट्टा विना सम्पन्न हुँदैनन तर ठेक्कामा मुलुकप्रति गरिएका घात प्रतिघात,अनियमितता,मिलिभगत र जालझेलले नेपाल आमाको रगत पिएसरहकै ठहर भएको छैन र? यी सबै गतिविधि भ्रष्टाचारकै हुन्, भ्रष्टाचार नै हो।

माघ पाँच गते प्रकाशित पत्रकार विमल खतिवडाको बाइलाइनमा प्रकाशित कान्तिपुरको एक रिपोर्टका अनुसार, पाण्डेका नियन्त्रणमा रहेका मध्यपहाडी राजमार्ग, तुलसीपुर पुरनधारा सडक, कर्णाली अत्तरिया सडक मर्मत, लम्की खकौला सडकको स्तरनोन्नति, तनहुँ जलविद्यूत आयोजना, नख्खु खोला करिडोर, चारआली केचना सडक स्तरोन्नति, रतुवा केशन्या सडक स्तारोन्नति, गल्छी बेत्रावती मैलुंग स्याबु्रवेंसी सडकमा पुल निर्माण, रामेछापको मुनिटारमा तामाकोशी पुल,बागमती मधेपुर बैरिया पुल रौतहट, वीरगञ्ज ठोरी सडक, जनकपुर ढल्केबर सिंचाइ योजना,चन्द्रौटा कृष्णनगर सडक स्तरोन्नति, भोटेचौर धुनिया सडक स्तरोन्नति, बेलबारी फँडानी सम्माडाँडा सडक, आमतोला सप्तरी हुँदै रंगेली झापा जोड्ने सडक, गछिया लोचनी शेषनारायण दिब्यधाम सडक, बयरवन, कोशलचोक हसनदह बक्राहा खोला सडक, सिद्धपुर डकानी हुँदै झुम्का बजार जोड्ने सडक, कटहरी मेतिपुर कसेनी बेलबारी सडक, मदन भण्डारी राजमार्गको सिन्धुली बजार हुँदै हेटौडा सडक, राघुघाट पुल, बेनी जोमसोम कोरला सडक, बाहुनेपाटी दालालघाट चौरीखोला सडक सुधार, मदन भण्डारी राजमार्गको इलाम खण्डमा पुल निर्माणजस्ता अरबौं र करोडौं रुपैयाँका परियोजनाहरु सन्चालित छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *