संसदमा उठ्यो सरकारी वेबसाइट सुरक्षित बनाउनेदेखि राहदानी लिन सहज बनाइनुपर्ने माग
काठमाडौं। नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले सरकारी वेबसाइट तथा डोमेनको भरपर्दो सुरक्षाको व्यवस्था गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले लामो समयदेखि समस्याका रूपमा रहेको वेबसाइट र डोमेन ह्याकको भरपर्दो सुरक्षा प्रबन्ध मिलाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।
उनले सर्भर डाउन हुँदा कतिपय गोप्य र संवेदनशील कुरा पनि बाहिर आएको भन्दै यसले साइबर सुरक्षामाथि प्रश्न खडा गरेको उल्लेख गरे।
“गत माघ १४ गते नेपाल सरकारको केन्द्रीय डाटा बैंकमा आक्रमण भएको थियो, www.Gov.np सर्भर करिब पाँच घण्टा अवरुद्ध हुँदा झण्डै एक हजार पाँच सय साइट ह्याक भएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको पटकपटक सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई यात्रु अलपत्र पर्ने गरेका छन्। धेरै लामो समयदेखि यस्तो समस्या आइरहेकाले समाधानको विकल्प खोजिनुपर्छ”, उनले भने।
सांसद राणाका अनुसार त्यसअघि नेपाल प्रहरीको वेबसाइट ह्याक भएको थियो। यसअघि विसं २०७४ असार ३ गते राहदानी विभागमा ह्याकरको समस्या आएको थियो। सोही वर्षको साउन २० गते ६० वटा सरकारी साइट अवरुद्ध भएको थियो।
सरकारी वेबसाइट र डोमेन मात्र नभई निजी क्षेत्रका साइट पनि अवरुद्ध भएको बाहिर आएको भन्दै सांसद राणाले हाल प्रचलनमा रहेको १५ वर्ष पुरानो विद्युतीय कारोबार ऐनको समयसापेक्ष संशोधन जरुरी रहेको उल्लेख गरे।
उनले सूचना प्रविधिको द्रुतगतिको विकास भइरहेका सन्दर्भमा सरकारले यो ऐनलाई समयसापेक्ष बनाई साइबर सुरक्षालाई मजबुद तुल्याउन पनि ध्यानाकर्षण गराए।
‘राहदानी लिन सहज बनाइयोस्’
सर्वसाधारणका लागि राहदानी लिन अझै समस्या रहेको विषय संसद्मा उठेको छ। सांसद रामहरि खतिवडाले प्रतिनिधिसभाको आजको बैठकमा सर्वसाधारणका लागि राहदानी लिन सहज बनाउन सरकारले पहल गर्न नसकेको बताए।
“पासपोर्ट (राहदानी) लिनका लागि एक महिना पर्खनुपरेको छ। यो सरकार गठन भए लगत्तै प्रधानमन्त्री, मन्त्रीहरूले राहदानी विभागमै गएर त्यसबारे चासो देखाउनुभएको थियो। आज पनि लाइन त्यत्तिकै लामो छ। पासपोर्ट लिनका लागि रातभरि लाइन बस्नुपर्ने स्थिति कहिलेसम्म हो?”, उनले भने।
पासपोर्ट लिनका लागि महँगो शुल्क रहेको पनि उनले बताए। “करिब रू १४ सय लागतमा बनेको पासपोर्ट लिनका लागि २० हजारसम्म तिर्नुपर्ने अवस्था छ। एउटा गरिबका लागि राज्यले नै यस्तो महँगो शुल्क लिन कति जायज हो?” उनले भने।
दूरदराजका मानिसले अहिले पासपोर्ट लिनका लागि रु एक लाखसम्म खर्च गर्नुपर्ने अवस्था रहेकाले त्यसमा सहजीकरण गरिनुपर्ने सांसद खतिवडाको भनाइ छ। रातो पासपोर्ट लिनेका लागि पनि शुल्क तिराउनुपर्ने उनले संसद्मा धारणा राखे।
यस्तै, नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षेत्रीले बालाजु गोङ्गबु क्षेत्रमा भएको लुटपाटको घटनाबारे सदनलाई जानकारी गराउन माग गरे।
उनले बहालवाला प्रतिनिधिसभाका सदस्य डा चन्द्रकान्त भण्डारीको दुर्घटनाका बारेमा सदनलाई जानकारी गराउन तथा स्वास्थ्योपचारका सन्दर्भमा भइरहेका प्रयासबारे अवगत गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।
सांसद थापाले बैंक तथा लघुवित्तको ब्याज आतङ्क, लघुवित्तको ठगीलगायतका घटना बढिरहेको भन्दै यस्ता विषयमा सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराए।
नेपाली कांग्रेसका सांसदहरू मञ्जु खाण, सुनील शर्मा र सीता मिजारलगायतले मुुलुकको समसामयिक जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।







डिसी नेपाल







Facebook Comment